२०८३ मंसिर ११ गते शुक्रवार / Nov 27 , 2026 , Friday
२०८३ मंसिर ११ गते शुक्रवार

बालेनले बिर्सिए ग्रेटर नेपाल, ओझेलमा इपिजी

Nada
जीवन शर्मा
२०८३ मंसिर ११ गते ०६:२०
Shares
बालेनले बिर्सिए ग्रेटर नेपाल, ओझेलमा इपिजी

काठमाडौं : भारतले २०८० मा आफ्नो नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को भित्तेचित्रमा नेपालको भूभाग समेत समेटेर नयाँ नक्सा राख्यो । त्यसबेला काठमाडौं महानगरको मेयर रहेका वालेन्द्र शाह (बालेन)ले आफ्नै कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा झुन्ड्याएर त्यसको प्रतिकार गरे । 

नेपालले पछिल्लोपटक अध्यावधिक गरेको ‘चुच्चे नक्सा’लाई विद्यालय तहका पाठ्यपुस्तकमा समावेश गरी अध्यापन गराउनुपर्ने बालेनको अडान थियो । राष्ट्रियताको सन्देश दिन खोजेका उनले सोही समयमा भारतीय चलचित्र ‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद समावेश भएको हिन्दी चलचित्र प्रदर्शनमै रोक लगाइदिए । 

यो कदमले नागरिकस्तरमा उनको चर्चा चुलियो । तर अहिले देशकै कार्यकारी प्रधानमन्त्री बनेका उनै वालेन्द्र शाहले भारत भ्रमणका क्रममा सीमा समस्यालाई कुनै एजेन्डा बनाएनन् ।  मंसिर ६ र ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उच्चस्तरीय भारत भ्रमणमा उनले आठ वर्ष अघि दुवै देशका सरकारले गठन गरेको नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले तयार पारेको प्रतिवेदनको विषय उठाएको सार्वजनिक भएको छैन । 

यही बेला भारतीय पक्षले त्यसको औचित्य नै समाप्त भएको बताएको छ । यो सँगै लामो समयदेखि कायम नेपाल–भारतबीचको सीमा विवाद थप पेचिलो बनेको छ । तर, सरोकारवालाहरू इपिजी प्रतिवेदनका आधारमा सीमा विवाद समाधान खोज्नुपर्नेमै जोड दिन्छन् । 

नेपाल र भारतबीच कालापानी, लिपुलेक, लिम्पियाधुरा तथा सुस्तालगायत क्षेत्रमा मुख्य सीमा विवाद कायमै छ । यी विषयमा प्रधामन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच छलफलको कुनै एजेन्डै नबनेपछि राष्ट्रियताका सवालमा बालेन सरकारप्रति कतिपयले आशंका गरेका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको नयाँ सरकार गठनभएयता नेपाल–भारत सीमा समस्या ओझेलमा परेको कतिपयको टिप्पणी छ । रास्वपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री बालेनले प्रधानमन्त्री भएको दुई महिनामै संसद्को रोस्ट्रमबाट सीमासम्बनधी विवादास्पद अभिव्यक्ति दिएका थिए । 

जेठ १७ मा उनले संसद्बाट भनेका थिए, ‘भारतले मात्रै होइन, नेपालले पनि भारतको धेरै ठाउँको जमिन मिचेको रहेछ ।’ यस्तो अभिव्यक्तिपछि उनी विवादमा आए । यसको जवाफ संसद्बाटै भने दिएनन् । यो पृष्ठभूमिसमेतका भएको प्रधानमन्त्री शाहको भारत भ्रमणमा सीमा विवादको विषय नउठेको हो । 

लामो समयदेखिको सीमा समस्या समाधानमा प्रधामन्त्रीस्तरीय भ्रमणमा कूटनीतिक संवाद नहुँदा थप संवेदनशील अवस्थामा पुगेको पूर्वराजदूत नीलाम्बर आचार्यले बताए । उनी भन्छन्, ‘प्रधामन्त्रीस्तरीय भ्रमणका क्रममा दुई देशबीच नियमित प्रकृतिका समझदारी र सम्झौता भए पनि राजनीतिक मुद्दाका रूपमा रहेका, सन् १९५० को सन्धि र सीमा विवाद समाधानमा पहल नहुनुलाई भ्रमणको कमजोरीका रूपमा लिनुपर्छ ।’ 

कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रको सीमा विवादमा प्रधामन्त्रीस्तरीय भेटमा संवाद हुनैपर्नेमा उनको दाबी छ । प्रधानमन्त्री शाहको भ्रमणबाट दुई देशबीच लामो समयदेखि थाँती रहेका सीमा विवादलगायत अन्य असमझदारी समाधान हुने गरी कुनै चर्चै नहुनु दुःखद रहेको आचार्यले बताए ।  

परराष्ट्रमन्त्री शिशिर खनालले पनि भारत भ्रमणबाट पर्केलगत्तै सीमा समस्याका सम्बन्धमा अध्ययन गर्न दुईदेशीय विदेश सचिवहरूलाई निर्देशन दिइसकिएको बताएका थिए । प्रधानमन्त्री शाहको भ्रमणका क्रममा सीमासम्बन्धी आवश्यक कार्य अगाडि बढाउन नेपाल र भारतका परराष्ट्र तथा विदेश सचिवहरूलाई निर्देशन दिने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै पक्षको अनुकूल समयमा नेपाल र भारतका परराष्ट्र तथा विदेश सचिवहरूको बैठक आयोजना हुने परराष्ट्र मन्त्रालयकाका सचिव अमृतबहादुर राईले बताए । 

तर दुई देशको सीमा विवादको विषय कर्मचारी तहबाट नभई राजनीतिक नेतृत्वबीच संवाद र कूटनीतिक पहलबाट बाहेक हुन नसक्ने विज्ञहरूले बताएका छन् । पूर्वराजदूत दीपकुमार उपाध्यायले भूगोलको समस्या राजनीतिक र कूटनीतिक तवरबाट मात्रै समाधान हुने बताए । ‘कर्मचारी तहबाट हुने अध्ययन एउटा प्राविधिक कुरा मात्रै हो,’ उनले मध्यान्हसँग भने, ‘सीमासम्बन्धी समस्या समाधानमा दुई देशबीच उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक संवादको विकल्प नै छैन ।’ प्रधानमन्त्रीको भारत भ्रमणमा यो विषयले स्थान नपाउनुको पछाडि रास्वपा र उसको सरकारले विगतका विवादास्पद विषयलाई तत्काल नबोक्ने नीति लिएको हुन सक्ने उनको टिप्पणी छ ।  

गत जेठको तेस्रो हप्ता भारत भ्रमणमा गएका रास्वपाका सभापति रवि लामिछानेले पुराना दलसँग भएको सहमति सम्झौताको ‘पुरानो ब्यागेज’ नबोक्ने बताएका थिए । उनले हिन्दुस्थान टाइम्स पत्रिकामा लेख लेख्दै यस्तो बताएपछि सभापति लामिछानेसमेत विवादमा आएका थिए । भारत भ्रमणको पहिलो निम्तालाई अस्वीकार गरेका प्रधामन्त्री शाह सात महिनापछि भारत गए । 

तर भ्रमणले भारतसँगको सम्बन्ध सुधारको दृष्टिकोणले सफल रहेको भनिए पनि भारतीय पक्षले मिचेको नेपाली भूमि फिर्ताको विषय छलफलको एजेन्डा नबन्नुले शक्तिशाली दुईतिहाइको सरकारले कुनै जोखिम मोल्न नचाहेको देखिएको पूर्वमन्त्रीसमेत रहेका उपाध्यायाले बताए । 

प्रधानमन्त्री शाह नेतृत्वमा सरकार गठन भएयता भारतसँग सीमासम्बन्धी मुख्य दुईवटा संयुक्त बैठकहरू सम्पन्न भइसकेका छन् । नेपाल–भारत नापी अधिकारीहरूको समितिको बैठक साउन २९ गते भारतको लखनउमा बसेको थियो भने सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको बैठक भदौ ४ गते भारतको देहरादुनमा आयोजना गरिएको थियो । यी दुवै बैठकले लिपुलेक, लिम्पियाधुरा र कालापानीका विषयमा औपचारिक रुपमा कुनै निर्णय लिन सकेको छैन ।

विगतमा बोल्ड थिए बालेन 

२०८० मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जान लाग्दा तत्कालीन मेयर बालेनले सामाजिक सञ्जाल एक्समार्फत लेखेका थिए, ‘लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनुहोला ।’ 

भारत र चीनले नेपालको सहमतिबिना लिपुलेक नाका हुँदै व्यापार सञ्चालन गर्ने सहमति गरेकाले त्यसको विरोधमा उनले ओलीलाई सो कुरा स्मरण गराएका थिए । भारतले आफ्नो नेपालको भूभाग समेटेर नयाँ नक्सा राखेपछि ‘ग्रेटर नेपाल’को नक्सा महानगरमा झुन्ड्याएका उनले काठमाडौंमा हिन्दी चलचित्र प्रदर्शनमै रोक लगाए ।  

त्यस्तै, चीनले नेपालको पुरानै नक्सालाई निरन्तरता दिँदै आफ्नो नक्सा सार्वजनिक गरेपछि बालेनले आपत्ति जनाउँदै आफ्नो पूर्वनिर्धारित चीन भ्रमण नै रद्द गरेका थिए । त्यतिबेला पनि उनले फेसबुकमार्फत लेखेका थिए, ‘हामीले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं । केही दिनपहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरी नेपालको नक्सा सार्वजनिक गरेको छ ।’ 

उनले भनेका थिए, ‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालिएको गलत कदम मानेका छौं । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमणमा नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’

गत प्रतिनिधिसभा निर्वाचन अभियानमा समेत बालेनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र सीमा सुरक्षामा कुनै पनि सम्झौता नहुने बताएका थिए । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेपछि भने उनको जिकीर नै फेरिएको छ ।  गत जेठ १७ गते संसद्मा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले भनेका थिए, ‘म प्रधानमन्त्री भएपछि थाहा पाएको, भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ, यो विषयमा दुई पक्ष बसेर हेर्नुपर्ने हुन्छ ।’

लिपुलेक र लिम्पियाधुरा अतिक्रमणबारे नेपालले पठाएको पत्रको भारतले जवाफ दिएको जानकारी दिँदै उनले थपेका थिए, ‘भूमिसम्बन्धी टेबलटक गर्ने कुरा भएको छ, यो बारेमा बेलायत सरकारसँग पनि कुरा गरेका छौं । यसबारेमा टेबलटक गर्नुपर्छ ।’ लिपुलेक विवादको पृष्ठभूमि सन् १८१६को सुगौली सन्धिसँग जोडिन्छ । आधुनिक कालापानी विवाद सन् १९६२ को भारत–चीन युद्धपछि गम्भीर बन्दै गएको हो ।

सन् २०१५ देखि लिपुलेकलाई लिएर नेपाल र भारतबीच प्रत्यक्ष कूटनीतिक विवाद सतहमा आयो । जब भारतले सन् २०२० मा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै नेपालले यसलाई गम्भीर राष्ट्रिय मुद्दाका रूपमा अघि बढाउदै आएको छ । प्रधानमन्त्री शाहले संसद्मा बोलेपछि साउन २९ गते नापी अधिकारीहरूको समितिको बैठक बसेको थियो । 

उक्त बैठकले दुवै देशले एक–अर्काको मिचेको भनिएको भूमिबारे नापजाँच गर्ने समझदारी भएको थियो । दुई देशले ती जग्गाको अध्ययन गरी विवाद समाधान गर्ने सहमति गरे पनि सबैभन्दा जटिल मानिएको लिपुलेकबारे बैठक मौन रहेको थियो । बैठकमा सहभागी नापीका एक अधिकारीले समितिलाई लिपुलेकको विषयमा अध्ययन वा छलफल गर्ने अख्तियारी नै नभएको बताए । भदौ ५ गते देहरादुनमा सम्पन्न संयुक्त कार्यदलको बैठकमा अनौपचारिक रूपमा लिपुलेकको कुरा उठे पनि त्यसलाई औपचारिक कार्यसूची बनाएर छलफल नगरी कार्यदलले सीमाक्षेत्रमा निगरानी कडा बनाउने निर्णय गरेको थियो । 

laxmi recruitement

सम्बन्धित खबर