२०८१ माघ ६ गते आइतवार / Jan 19 , 2025 , Sunday
२०८१ माघ ६ गते आइतवार
Ads

नौमुरे बहुउद्देश्यीय आयोजनालाई बजेट र जनशक्तिको पिरलो

hardik ivf
सुर्य प्रसाद भुसाल
२०८१ माघ ५ गते २१:१७
नौमुरे बहुउद्देश्यीय आयोजनालाई बजेट र जनशक्तिको पिरलो

अर्घाखाँची : अर्घाखाँचीमा सञ्चालित नौमुरे बहुउद्देश्यीय आयोजनालाई प्रयाप्त बजेट नसक्दा कामले गति लिन सकेको छैन् । चुनावका बेला सबै पार्टीको घोषणापत्रको १ नम्बर बुँदामा नौमुरे जलविद्युत् आयोजना सञ्चालन गर्ने भनि निकै चर्चामा रहने गर्दछ । यो परियोजना अहिले बजेट र जनशक्ति अभावले चपेटामा परेको छ ।

शीतगंगा नगरपालिका ८ सातमारामा रहेको कायार्लयले परिणाम देखिने गरी काम गर्न बजेट नपुगेपछि आयोजनाले द्रूत रुपमा गति लिन नसकेको प्राविधिकहरुले गुनासो गरेका छन् ।

बहुप्रतिक्षित मानिएको र सँधै चुनावी नारा बन्ने गरेको नौमुरे बहुउद्देश्यीय आयोजनाको चर्चा अनुरुपको काम अघि बढ्न नसक्दा कुरामै सिमित रहने हो कि ? भन्ने आम अर्घाखाँचीबासीको चिन्ता र  चासोको विषय बनेको छ । 

अर्घाखाँची र प्यूठानको सीमानामा पर्ने मादी र झिमरुक नदीको संगम नौमुरे क्षेत्रमा निर्माण हुन लागेको यो बहुचर्चित आयोजना अगाडि बढाउने चर्चा चलेको लामो समय भएपनि काम उल्लेख्य रुपमा अघि बढ्न बजेटको समस्या देखिएको छ ।

कार्यालय स्थापना भएपछि कार्य अघि बढ्छ भन्ने सोच बनाएका शीतगंगाका स्थानीयबासिन्दाहरु सरकारले पठाउने न्यून बजेट र सरकारको कार्यसम्पादनबाट त्यति खुसी भने हुन सकेका छैनन् । 

आयोजनाले गत आर्थिक वर्ष २०८०/०८१ भौतिक प्रगति ८३.२४  प्रतिशत  र वित्तीय प्रगति ६६.५० प्रतिशत रकम यस वर्ष खर्च भएको योजना प्रमुख  वीरबहादुर बोहराको भनाइ छ । 

आयोजनाको काम दूत गतिमा अघि बढ्न नसक्दा  आफु नआउँदै केही वर्षदेखि बजेट फ्रिज हुने गरेको भएपनि अहिले आफुले काम सुरु गरेपछि बजेट अभाव भएको  आयोजनाका प्रमुख  बोहोराको दावी छ । 

आयोजना प्रमुख  बोहराका अनुसार आयोजनाको कार्यालय तथा क्याम्पको लागि जग्गा प्राप्तिको मूल्याकंनको निर्णय भइ मुवाब्जा वितरणको सम्पूर्ण तयारी समेत भइसक्दा मुवाब्जा शिर्षकमा प्रयाप्त बजेट नहुँदा तथा अन्य खर्च हुन नसक्ने शिर्षकबाट रकमान्तरको लागि पठाउँदा अर्थ मन्त्रालयबाट रकमान्तर नहुँदा वित्तीय  प्रगति न्यून हुन पुगेको हो ।

यस चालु आव २०८१/०८२ मा समेत अहिले भइरहेको कार्यहरु पहँुच मार्ग निर्माण तथा कार्यालय  क्याम्प निर्माणमा अति न्यून बजेट विनियोजन  भएको  आयोजना अन्तर्गत पहुँचमार्गमा पर्ने शितखोलामा पुल निर्माण गर्न ४ करोड विनियोजन भएकोमा आवश्यक लागत रकम करिब १४ करोडको अर्थ मन्त्रालयले  स्रोत सहमती नदिएपछि कार्यालयले ४ करोडको टेन्डर आह्वान गरी कामको प्रक्रिया अगाडि बढाएको छ  । सरकारले आयोजनालाई राष्ट्रिय गौरब तथा प्राथमिकताको आयोजनाको रुपमा घोषणा गरी निर्माण तथा लगानीको मोडालिटी एकिन गर्न अत्यावश्यक देखिएको बिज्ञहरुको भनाइ छ ।

आयोजनाको सम्भाव्यता अध्ययन अनुसार सात वर्षभित्र आयोजना सम्पन्न हुने लक्ष्य लिएपनि अपेक्षित काम हुन नसकेको कारण अब योजनाको काम समयमा सम्पन्न हुने सम्भावना कम छ । कार्यालयका प्रमुखदेखि अन्य कर्मचारीले केही वर्षदेखि तलब भत्ता खानु बाहेक अन्य प्रगती  शुन्य जस्तै छ । बजेट हुँदाहुँदै काम गर्न नसक्नु कार्यालयको कमजोरी रहेको स्थानीयले आरोप लगाउँदै  यस अघिका कार्यालय प्रमुखलाई  पटक–पटक ध्यानाकर्षण गराएका थिए ।

आयोजनाको मुख्य कामहरू बाँकी नै रहेपनि अन्य कार्यहरू अगाडि बढेको कार्यालय कर्मचारी बताउँछन् । रिभर ट्रेनिङ्ग वर्कको डिजाइन तयार पार्ने कार्य, आयोजना क्षेत्रको जग्गा अधिग्रहण सम्बन्धी कार्य, जलाधार, जलाशयको परिधि छुट्टाउने कार्य, लगायतका  केही कामहरू भइरहेको भएपनि भौतिक रुपमै देखिनेगरी काम गर्न र देखाउन समय लाग्ने योजना प्रमुख बोहरा बताउँछन् । आयोजना सम्पन्न हुदा पाँच जिल्लालाई प्रत्यक्ष फाइदा पुग्नेछ । 

केही वर्षदेखि कार्यालय स्थापना भएर आयोजनाको काम अघि बढेपनि आयोजनामा कर्मचारीको निकै अभाव छ । कार्यलयमा अहिले आयोजना प्रमुख बोहरा बाहेक दुईजना इन्जिनियर र लेखापाल  कर्मचारी  हाजिर भएका छन् । इन्जिनियर सूचना अधिकारी कृष्ण गौतम समेत अध्ययन विदामा हिँडेपछि कार्यालय कर्मचारी विहीन अवस्थामा पुगेपछि कार्यालय प्रमुख बोहोरा कर्मचारी ल्याउन उर्जा मन्त्रालयमा धर्ना दिन पुगेका थिए ।

लामो समय खर्चेर वि.सं. २०४३ सालमै सर्भे भएको नौमुरे जलविद्युत् परियोजना विभिन्न सरकारले चर्चा र तयारी गरेको लामै समय भएपनि निर्माण प्रक्रियामा चाँसो नदिँदा आयोजनाले गति लिन सकेको छैन। तत्कालीन पञ्चायत सरकारले सस्तो लगानीमा आयोजना निर्माण गर्ने भन्दै वि.सं. २०४३ सालमै भैगोलिक परीक्षण, पानीको बहाव परीक्षण तथा सर्वेक्षण समेत गरेको थियो । २०४६ सालमा बहुदल आएपछि पटक–पटक चर्चा भएपनि आयोजनाको कामले गती लिएन जति लगानी छ त्यो खर्च राज्यलाई भार मात्रै थपिएको छ ।

‘संघीयता आउनु अघिदेखि आयोजनाको काम अघि बढ्छ भन्ने सुन्दै आएको छु’, शीतगंगा ८ का वीरबहादुर  आलेले भने, ‘कार्यालय स्थापना भएको पनि वर्षौ भयो, काम भइरहेको छ भन्ने  सुनेको छु ।’ आयोजनाका नाममा धेरैपटक छलकपट भइसकेकाले आयोजनाको काम अघि बढ्छ भन्ने कुरामा विश्वस्त नभएको उनको भनाइ छ ।

नौमुरे बहुउद्देश्यीय आयोजना स्टोरेजसहितको जलविद्युत् तथा सिँचाइ आयोजना हो । नौमुरे बहुउद्देश्यीय आयोजना अन्तर्गत नौमुरे जलविद्युत योजना २१८.३४ मेगावाट, लमाताल जलविद्युत योजना ८ मेगावाट र सुरैनाका जलविद्युत योजना ५४.७ मेगावाट गरी तीनवटा जलविद्युत आयोजना  तैयारी हुनुपर्छ । 

नौमुरे मुख्य बाँधस्थल माडी र झिमरुक खोलाको संगमबाट करिब ३ किलोमिटर तल प्यूठान जिल्ला र अर्घाखाँची जिल्लाको भूभागमा  लामाताल रिरेगुलेटिङ बाँधस्थल प्युठान र अर्घाखाँची जिल्लाको भू–भागमा  नौमुरे मुख्य बाँधको करिब ६ किलोमिटर तलतिर अवस्थित छ । 

१५४ क्युविक मिटर/सेकेन्ड डिस्चार्जसहितको नौमुरे जलविद्युत योजना माथिल्लो भागमा पर्छ । यसको डाउनस्ट्रीममा लामाताल जलविद्युत योजना छ । लामाताल जलविद्युत योजनाको ब्यारेजले बाँके र देउखुरीका विद्यमान सिँचाइ आयोजनाहरूका लागि राप्ती नदीमा छोड्ने पानीको प्रवाहलाई पुनः नियमन गर्ने गरि काम अगाडि बढाउने गरि यसको मोडालिटि बनेको छ । सुरैनाका जलविद्युत योजना र प्रस्तावित कपिलवस्तु सिँचाइ आयोजनाको २९,७३६ हेक्टर सिँचाइका लागि ४१.६ क्युविक मिटर÷सेकेन्डको डिस्चार्ज डाइभर्ट गरिएको योजना प्रमुख बोहोराले बताए  । 

ADVADV

सम्बन्धित खबर

Advertise