२०८१ माघ ७ गते सोमवार / Jan 20 , 2025 , Monday
२०८१ माघ ७ गते सोमवार
Ads

कर प्रोत्साहन नीति : आवश्यकता र औचित्य

hardik ivf
२०८१ माघ ७ गते ०६:०५
कर प्रोत्साहन नीति : आवश्यकता र औचित्य

–शिव विक 'मिलन'

कर प्रोत्साहन नीति एउटा यस्तो नीति हो, जसले आर्थिक विकासलाई टेवा दिन, लगानीको वातावरण निर्माण गर्न, रोजगारी सिर्जना गर्न र समग्र अर्थतन्त्रलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।

कुनै पनि देशको समृद्धि र दिगो विकासका लागि कर नीति मात्र होइन, कर प्रोत्साहनको सटीक व्यवस्थापन पनि अपरिहार्य हुन्छ । सरकारले लगानीकर्ताहरूलाई आकर्षित गर्न तथा व्यावसायिक गतिविधिहरूलाई प्रोत्साहन दिनका लागि दिने विभिन्न कर छुट, राहत, सहुलियत वा सुविधा नै कर प्रोत्साहन हो । यसले उद्यमशीलता बढाउन, उत्पादनशीलता अभिवृद्धि गर्न र विदेशी लगानी आकर्षित गर्न सहयोग पुर्‍याउँछ ।

कर प्रोत्साहनको उद्देश्य

कर प्रोत्साहनको मुख्य उद्देश्य आर्थिक गतिविधिहरूलाई तीव्रता दिनु हो । यसका प्रमुख उद्देश्यबारे यहाँ चर्चा गरिएको छ ।

–विदेशी लगानीकर्ता आकर्षित गरी उनीहरूको पुँजी र प्रविधि प्रयोग गरेर राष्ट्रिय विकास गर्ने । 
–नयाँ उद्योग र व्यवसाय स्थापना गरी रोजगारीका अवसर सिर्जना गर्ने ।
–विकट तथा पछाडि परेका क्षेत्रहरूमा लगानी गरी क्षेत्रीय असमानता घटाउने ।
–कर छुटका माध्यमबाट प्रविधिको उपयोग र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने ।

नेपालमा कर प्रोत्साहनको स्थिति

नेपालमा कर प्रोत्साहन नीति राजस्व संकलनसँगै लगानी आकर्षणको एउटा प्रभावकारी माध्यमका रूपमा अपनाइएको छ । सरकारको प्राथमिकतामा रहेका क्षेत्र, जस्तै : कृषि, जलविद्युत्, पर्यटन, साना तथा मझौला उद्योगहरूलाई कर छुट उपलब्ध गराइएको छ ।

अहिले विशेषगरी कृषि, ऊर्जा, पर्यटन र औद्योगिक विकासका क्षेत्रमा कर प्रोत्साहनको नीति लिन आवश्यक छ । कृषि औजार, मलखाद र बिउ–बीजनमा भन्सार तथा मूल्य अभिवृद्धि करमा छुट दिनुपर्छ ।

यसैगरी जलविद्युत् तथा नवीकरणीय ऊर्जा परियोजनामा आयकर छुट दिनुपर्छ । पर्यटन व्यवसायमा सहुलियतपूर्ण कर नीतिको आवश्यकता छ । विशेष आर्थिक क्षेत्रभित्र स्थापना भएका उद्योगहरूलाई करमा व्यापक छुट आवश्यक छ ।

कार्यान्वयनका चुनौतीहरू

नेपालमा कर प्रोत्साहन नीति कार्यान्वयन गर्न विभिन्न चुनौतीहरू छन्, जसमा मुखयगरी नीतिगत रूपमै समस्या छ । नीतिगत अस्पष्टता हुँदा कार्यान्वयनको पाटोमा निकै समस्या भइरहेको पाइन्छ । सँगै, कर प्रोत्साहनको नाममा अनियमितता र राजस्व चुहावटको अवस्था छ । 

राजस्वसँग सम्बन्धित निकायहरू नै कमजोर छन्, जहाँ चरम ढिलासुस्ती र अपारदर्शिताको अवस्था छ । यसले पनि कार्यान्वयको पाटोमा समस्या बनाइरहेको छ । सँगै, सरकारले लिने प्रोत्साहनको नीतिबाट सीमित क्षेत्रले मात्र फाइदा लिइरहेका छन् । 

कर प्रोत्साहन नीतिका लाभहरू

कर प्रोत्साहन नीतिको सही कार्यान्वयन हुन जाँदा धेरै लाभहरू छन् । विशेषगरी यस्ता नीतिका कारण विदेशी लगानीकर्ताहरू आकर्षित गरी व्यापार घाटा कम गर्न सकिन्छ । पछाडि परेका समुदायहरूलाई आर्थिक गतिविधिमा सहभागी गराउन सकिन्छ । नवप्रवर्तन र साना व्यवसायलाई प्रोत्साहन दिन सकिन्छ ।

आज स्वदेशकै उत्पादक प्रोत्साहन नहुनुका पछाडिको कारण कर नीति हो, जुन अनुकूलित हुने हो भने आयात प्रतिस्थापन गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन सकिन्छ । 

सुधारका उपायहरू

नेपालको कर प्रोत्साहन नीति प्रभावकारी बनाउन केही उपायहरू अवलम्बन गर्न सकिन्छ । मुख्यगरी दीर्घकालीन कर प्रोत्साहन नीति तयार गरी कार्यान्वयनमा पारदर्शिता कायम गर्न सकिन्छ, जसमा कर प्रणालीलाई डिजिटल बनाएर प्रभावकारी कार्यान्वयन गर्न सकिन्छ । सबै क्षेत्रलाई समान रूपमा समेट्ने नीति निर्माण गर्नु पनि अहिलेको आवश्यकता हो । 

निष्कर्ष

कर प्रोत्साहन नीति विकासशील मुलुकका लागि आवश्यक औजार हो । नेपाल जस्तो देशका लागि यो नीति आर्थिक विकासको इन्धन हो । उचित योजना, दिगो नीति र पारदर्शी कार्यान्वयनले यस नीतिलाई प्रभावकारी बनाउन सकिन्छ । यसले देशको समृद्धि मात्र होइन, जनताको जीवनस्तर उकास्नसमेत सहयोग पुर्‍याउने छ ।

ADVADV

सम्बन्धित खबर

Advertise