२०८३ असोज २५ गते आइतवार / Oct 11 , 2026 , Sunday
२०८३ असोज २५ गते आइतवार

हलगोरु पाल्ने किसानलाई प्रोत्साहन

Nada
सूर्यप्रसाद भुसाल
२०८१ माघ ८ गते २०:३६
Shares
हलगोरु पाल्ने किसानलाई प्रोत्साहन

अर्घाखाँची : सन्धिखर्क नगरपालिका वडा नम्बर १ भित्र हल गोरु पाल्ने १८ जना किसानले प्रोत्साहन रकम पाएका छन् । वडा कार्यालयले गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम अन्तर्गत पाँच हजार रुपैयाँका दरले रकम वितरण गरेको हो । 

ncell

आर्थिक वर्ष २०८१/८२ बाट गोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप बजेट विनियोजन गरेको थियो । बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएकाले ‘हल गोरु पाल्न प्रोत्साहन एवम् प्रवद्र्धनात्मक’ कार्यक्रम अन्तर्गत अनुदान दिइएको सन्धिखर्क नगरपालिका वडा  नम्बर १  का वडाध्यक्ष माधव श्रेष्ठले बताए । उनका  अनुसार वडा कार्यालय भित्रका हल गोरु पाल्ने किसानबाट निवेदन संकलन भएको थियो । 

निवेदनका आधारमा अनुगमन गर्दा १८ किसानले हलगोरु पालेको पाइएपछि उक्त रकम प्रोत्साहन प्रदान गरिएको हो । 

‘एक हल गोरु पाल्ने किसानलाई पहिलो पटक वडा कार्यालयले प्रोत्साहन गरेको हो, हल गोरु लोप हुन थालेपछि वडा कार्यालयले संरक्षण गर्ने अभियान सुरु गरेपछि वडाका गोरु पालक किसानहरु उत्साहित छन्’ नगरपालिकाकी उपप्रमुख मिश्रा आचार्यले भनिन् । 

उनले यो कार्यक्रम निरन्तर सञ्चालन गर्नेगरी सन्धिखर्क नगरपालिकाले योजना बनाएको बताइन् । कम्तिमा एक किसानले १० हजारका दरले अनुदान दिने कार्यविधि बनाउने उनको भनाइ छ । 

वडा कार्यालयले पहिलो पटक गोरु पाल्ने किसानलाई अनुदान दिन थालेपछि  किसान उत्साहित बनेका सन्धिखर्क  नगरपालिका वडा नम्बर १ का बालकृष्ण आचार्यले बताए । आगामी वर्ष प्रोत्साहनको रकम अझै बढ्न सके हलगोरु पाल्नेको संख्यामा वृद्धि हुने अपेक्षा छ । हाते ट्याक्टर तथा प्रविधिको बढ्दो प्रयोगका कारण गोरुले जोत्ने परम्परा पनि हराउँदै गएकाले त्यसको संरक्षणका लागि वडा कार्यालयले अभियानका रुपमा किसानलाई प्रोत्साहन गरेको वडा सचिव पुष्पा भुसालले बताइन् ।

पालिकाहरुले मिनी टेलर हलो वितरण गर्ने कार्यक्रम तीव्र पारेका बेला वडाले गोरु पाल्ने किसानलाई उत्साहित बनाएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए । 

गोरु नपाल्दा गाई संरक्षणमा समेत चुनौती देखिएकाले गोरुसँगै गाई संरक्षण गर्ने वडा कार्यालयको योजना रहेको वडा सदस्य बाबुराम पन्थीले बताए ।

ताजा खबर

सम्बन्धित खबर