–चन्द्रबहादुर बस्याल
नेपालको अर्थतन्त्र विकासशील अवस्थामा छ । कृषि, पर्यटन र रेमिट्यान्समा आधारित अर्थतन्त्रले देशको समग्र आर्थिक वृद्धिमा योगदान गरिरहेको भए पनि यसमा धेरै जटिलता र समस्याहरू छन् ।
राजनीतिक अस्थिरता, पुँजी अभाव, उत्पादनशीलता घट्दै जानु, वैदेशिक व्यापार घाटा र रोजगारीको सीमित अवसर जस्ता समस्याले नेपालको आर्थिक विकासमा अवरोध पुर्याइरहेका छन् । यी समस्याहरूको विश्लेषण र समाधानका उपायहरूमा ध्यान दिनु जरुरी छ ।
समस्याहरू
वैदेशिक व्यापार घाटा
नेपालको अर्थतन्त्रले ठूलो व्यापार घाटा सामना गरिरहेको छ । देशको आयात अत्यधिक छ भने निर्यात निकै न्यून छ । नेपाल मुख्यतः भारत, चीन र अन्य देशहरूबाट उपभोग्य वस्तु र कच्चा पदार्थ आयात गर्छ तर घरेलु उत्पादनको अभावका कारण प्रतिस्पर्धात्मक निर्यात गर्न सकिरहेको छैन ।
नेपालीको अत्यावश्यक आवश्यकता पनि आयातमा निर्भर रहेको अवस्था छ । हाम्रो अर्थतन्त्र संकुचनमा रहिरहनुको कारण पनि आयातमा निर्भरता रहनु हो । यस्तो अवस्थामा विदेशी मुद्राको अभावले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्छ ।
रेमिट्यान्समा निर्भरता
नेपालको अर्थतन्त्रको प्रमुख आधारशिला भनेकै रेमिट्यान्स बनेको छ । झण्डै लाखको संख्यामा प्रत्येक महिना नेपाली युवाहरू रोजगारीका लागि विदेश जाने गरेका छन् । उनीहरूले पठाउने रेमिट्यान्सले नै अर्थतन्त्रको मुख्य हिस्सा धानेको छ ।
यसले घरेलु उपभोगमा योगदान पुर्याए पनि उत्पादनशील क्षेत्रमा प्रभावकारी परिवर्तन गर्न सकेको छैन । रेमिट्यान्समा अत्यधिक निर्भरता दीर्घकालीन आर्थिक स्थायित्वका लागि पनि जोखिमपूर्ण छ ।
सबैभन्दा विडम्बनाको विषय, रेमिट्यान्सको उपयोग उत्पादनशील क्षेत्रमा नभई घरेलु खर्च र शौखिन कुरामा भइरहेको छ, जसले एकातिर वैदेशिक रोजगारीलाई बाध्यकारी बनाइरहेको छ भने अर्कातिर रेमिट्यान्सको घटबढ हुँदा के होला भन्ने अनिश्चय उब्जाएको छ ।
कृषि व्यावसायिक नहुनु
नेपालको ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषि क्षेत्रमा संलग्न छ तर यो क्षेत्र परम्परागत प्रविधिमा आधारित छ । कृषिमा निकै चिन्ताको विषय, ६० प्रतिशत जनसंख्या आबद्ध हुँदा पनि सोही जनसंख्यालाई पुग्ने अवस्था छैन, जसलाई सरकारले पनि प्राथमिकता दिएर काम गर्न सकेको छैन ।
अहिले कृषि क्षेत्रमा सिंचाइको अभाव, उन्नत बिउ बीजन र प्राविधिक ज्ञानको कमी तथा सहकारी संस्थाको कमजोर संरचनाले कृषिलाई उत्पादनशील बनाउन असफल बनाएको छ । आयातीत खाद्यान्नमा निर्भरता बढ्दै जानु कृषिमा रहेको समस्याको स्पष्ट संकेत हो ।
औद्योगीकरण हुन नसक्नु
नेपालमा उद्योगको विकास निकै सुस्त गतिमा छ । ऊर्जा संकट, कच्चा पदार्थको अभाव, बजारको पहुँचको कमी र श्रम विवादले औद्योगिक विकासलाई अवरुद्ध गरिरहेको छ ।
ठूला उद्योगहरूको स्थापना नगर्नु र साना उद्योगहरूले पर्याप्त सरकारी सहयोग नपाउनु पनि प्रमुख समस्या बनेको छ । स्वतः सिद्ध कुरा हो, औद्योगिक विकासबिना आत्मनिर्भर अर्थतन्त्रको विकास सम्भव छैन ।
राजनीतिक र नीतिगत अस्थिरता
अर्थतन्त्र निरन्तर लयमा हिँड्न राजनीति सही हुनुपर्छ । तर, नेपालको सन्दर्भमा राजनीति सही ढंगबाट अगाडि जान सकेको छैन । राजनीतिक अस्थिरता नै नेपालको आर्थिक विकासका लागि ठूलो चुनौती बनिरहेको छ ।
सरकार परिवर्तनको निरन्तर खेल, अस्थिर नीति र दीर्घकालीन विकास योजनाको अभावले लगानीकर्ताहरूलाई हतोत्साहित गरिरहेको छ । नीति निर्माणमा अनियमितता र भ्रष्टाचारको प्रभावले पनि अर्थतन्त्रमा नकारात्मक असर पार्छ ।
वैदेशिक लगानीको अभाव
नेपाल जस्ता सानो अर्थतन्त्र भएका मुलुकका लागि वैदेशिक लगानी भित्र्याउनु अनिवार्य छ । वैदेशिक सहायताबिना ठूला परियोजनाहरू अगाडि बढाउन सम्भव छैन । तर, नेपालले सामान्य रूपमा पनि वैैदेशिक लगानी भित्र्याउन सकेको छैन ।
नेपालमा विदेशी लगानी आकर्षणका लागि सम्भावना धेरै भए पनि कानुनी र प्रशासनिक झन्झट, कमजोर पूर्वाधार र ऊर्जा आपूर्तिको समस्या जस्ता कारणले वैदेशिक लगानीको मात्रा न्यून छ । लगानीमैत्री वातावरणको अभावले नेपाललाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट पछाडि पारेको छ ।
विकासे पूर्वाधारको कमजोरी
नेपालमा यातायात, ऊर्जा र संचार जस्ता विकासे पूर्वाधारहरू कमजोर छन् । खासगरी ग्रामीण क्षेत्रमा सडक संजालको अभावले आर्थिक क्रियाकलापहरू प्रभावित भएका छन् । ऊर्जा आपूर्तिमा सुधार भए पनि उद्योग र अन्य उत्पादन क्षेत्रलाई पर्याप्त सहयोग पुर्याउन सकिएको छैन ।
सरकारले प्राथमिकतामा राखेको र जनसंख्याको ठूलो हिस्सा आबद्ध भएको क्षेत्रमा पनि पूर्वाधार अभावले ठूलो सकस बनाइरहेको छ ।
शिक्षा र मानव संशाधनको कमी
आज वैदेशिक रोजगारी बाध्यतापूर्ण बन्नुका पछाडि हाम्रो शिक्षा नीति पनि जिम्मेवार छ । हाम्रो शिक्षा नीति घोकन्तेमा आधारित मात्र छैन, व्यावहारिकताको पाटोबाट निकै नै टाढा छ । चाहे जुनसुकै तहको अध्ययन गरे पनि विद्यार्थी स्वरोजगार बन्ने अवस्था छैन ।
आज हाम्रा विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने कारखाना बनिरहेका छन् भन्दा अन्यथा हुँदैन । आधुनिक प्रविधिमा प्रशिक्षित जनशक्ति अभाव नभई अबको युग सुहाउँदो विकास निर्माण सम्भव छैन ।
गरिबी र असमानता
नेपालमा अझै पनि ठूलो जनसंख्या गरिबीको रेखामुनि छ । आर्थिक स्रोतको असमान वितरण, क्षेत्रीय असमानता र सामाजिक विभाजनले गरिबी घटाउन बाधा पुर्याएको छ । ग्रामीण र शहरी क्षेत्रबीचको आयस्तरमा ठूलो खाडल छ, जुन हाम्रो आर्थिक विकासको बाधाको रूपमा पनि रहिआएको छ ।
समस्या समाधानका उपायहरू
हामीले चाहेजस्तो आर्थिक समृद्धि प्राप्त गर्न सम्भव छ तर यसका निम्ति नीतिगतदेखि व्यावहारिक पाटोलाई व्यवस्थित बनाउन आवश्यक छ । आज हाम्रो अर्थनीति नै उद्देश्यविहीन र भुत्ते प्रकृतिको छ भन्दा अन्यथा हुँदैन, जसको उचित सम्बोधन नगरी हामी अगाडि बढ्न सक्दैनौं ।
मुख्यतः अहिले हाम्रो प्राथमिकतामा घरेलु उत्पादन र निर्यातलाई प्रवद्र्धन गर्न उद्योग स्थापना, कृषि उत्पादन वृद्धि र हस्तकलामा आधारित वस्तुहरूलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने व्यवस्था गर्नुपर्छ ।
यसैगरी कृषिलाई आधुनिकीकरण गर्न सिँचाइ व्यवस्थामा सुधार, उन्नत बिउ बीजनको प्रयोग र सहकारी संस्थालाई सशक्त बन(ाउनुपर्छ । सरकारको विशेष अनुदान र ऋणको पहुँच विस्तार गर्न आवश्यक छ ।
उद्योगहरूको स्थापनाका लागि ऊर्जा आपूर्ति सुधार, कच्चा पदार्थको पहुँच सुनिश्चित र श्रम विवादको समाधान गर्नुपर्ने हुन्छ । साना र मझौला उद्योगहरूलाई प्रोत्साहन गर्न सहुलियत ऋणको व्यवस्था गर्नुपर्छ । वैदेशिक लगानीका लागि लगानीमैत्री नीति ल्याउनुपर्छ । कानुनी प्रक्रिया सजिलो बनाउनुका साथै लगानीकर्ताको सुरक्षाको प्रत्याभूति गर्नुपर्छ ।
हामीसँग आज खोजेजस्तो जनशक्ति छैन, जसको उपलब्धता अनिवार्य शर्त हो । मानव संसाधनलाई कुशल बनाउन प्राविधिक शिक्षामा जोड दिनुपर्छ । व्यावसायिक र प्राविधिक शिक्षाको पहुँच बढाएर दक्ष जनशक्ति तयार गर्नु आवश्यक छ ।
नेपाल प्राकृतिक र सांस्कृतिक रूपमा पर्यटनमैत्री मुलुक हो । यहाँ पर्यटनबाट ठूलो लाभ लिन सकिन्छ । पर्यटन क्षेत्रलाई सशक्त बनाउन पूर्वाधार विकास, प्रचारप्रसार र नयाँ गन्तव्यहरूको पहिचान गर्नुपर्छ ।
सँगै, राजनीतिक स्थायित्वका लागि सरकार र राजनीतिक दलहरूले दीर्घकालीन सोच राख्नुपर्छ । भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र विकास योजनामा जनताको सहभागिता सुनिश्चित गर्नुपर्ने छ ।
निष्कर्षमा, नेपालको अर्थतन्त्रमा धेरै समस्याहरू भए पनि सुधारका लागि प्रशस्त सम्भावनाहरू छन् । उत्पादनशील क्षेत्रहरूको विकास, वैदेशिक लगानीको प्रोत्साहन, कृषि आधुनिकीकरण र पर्यटन प्रवद्र्धन जस्ता कदमले नेपालको आर्थिक आधार सुदृढ बनाउन सक्छ ।
सरकार, निजी क्षेत्र र जनताबीचको सहकार्यले मात्र यी समस्याहरूको समाधान सम्भव छ । दीर्घकालीन र सन्तुलित नीति अवलम्बन गरी दिगो आर्थिक विकासको मार्गमा अघि बढ्नुपर्ने आवश्यकता छ ।