काठमाडौं : कोरोना भाइरस संक्रमण लम्बिँदै जाँदा वैदेशिक रोजगारीका लागि खाडीका विभिन्न मुलुकमा रहेका नेपाली कामदारहरुले एकैसाथ विभिन्न समस्या झेल्न बाध्य भएका छन् । कतारका लागि नेपाली राजदूत नारद भारद्वाजका अनुसार कतारमा नेपाली कामदारहरुका लागि खाद्यान्न, औषधि र सुरक्षित आवासको समस्या देखिएको छ भने घर फर्किन नपाउँदा नेपाली कामदारको मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पर्न थालेको बताइएको छ ।
शुक्रवार साँझ गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिले गरेको भिडियो कन्फरेन्समा राजदूत भारद्वाजले शुरुमा कामदारहरुलाई कम्पनीबाट ननिकाल्ने र तलव पनि नरोक्ने आश्वासन दिएका कम्पनीहरुले कोरोना भाइरस संक्रमण बढ्दै जाँदा तलव नै नदिने, दिएपनि आधा दिने, केही प्नि नदिने र जे गर्न सक्छौ गर, जहाँ जान सक्छौ जाऊ जस्ता भन्ने जवाफ दिन थालको भन्दै रोजगारदाता कम्पनीहरुले देखाउन थालेको गैर जिम्मेवार व्यवहारले नेपाली कामदारहरु शुरुमा खाद्यान्न र आवासको समस्यामा पर्नसक्ने र यो क्रम नरोकिएमा समस्याले नयाँ आयाम लिने बताए । उनले गैर आवासीय नेपाली संघ कतारसँग मिलेर केही प्रभावितहरुलाई राहतको प्रबन्ध गरिएको भएपनि त्यसले लामो समय नथेग्ने बताए ।
कोरोना भाइरसको बढ्दो संक्रमणको कारण अन्य विरामीहरुले औषधि नपाउँदा उनीहरु हृदयघात, मधुमेह, थाईराईडको शिकार हुन थालेको भन्दै टेलिमेडिसिन र रिमोट प्रेसक्रिप्सनको आधारमा औषधि सेवन गर्न पाउने प्रबन्ध गर्न आवश्यक रहेको राजदूत भारद्वाजको भनाइ छ ।
त्यसैगरी उनले कतार सरकारले शुरुमा स्वदेश फर्किने कामदाहरुको स्वाब परीक्षण गरिदिने प्रतिवद्धता जनाएको भएपनि पछिल्ला दिनमा स्वदेश फर्किने कामदारहरुको स्वाब परीक्षण विना नै घर फर्काइदिने नीति लिएका कारण अन्तर्राष्ट्रिय उडान खुला भएपछि नेपालीहरु स्वाब परीक्षण विना नै स्वदेश फर्किने अवस्था रहको बताए ।
गैरआवासीय नेपाली संघका प्रवक्ता डि.बि क्षेत्रीले नेपालमा संक्रमणको दर निरन्तर रुपमा बढीरहेको र नेपाल सरकारले अन्त्यन्तै थोरै नागरिकहरुलाई मात्र स्वदेश फर्काउने योजना बनाएको भन्दै अब खाडी मुलुकमा रहेका कामदारहरुको आत्मबल बढाउने अभियान नै चलाउनुपर्ने बाध्यता आएको बताए । प्रवक्ता क्षेत्रीले अधिकांश कामदारहरुले एण्ड्रोइड मोबाइल फोन चलाउने र उनीहरुसँग फेसबुकको पहुँच भएकाले त्यसको प्रयोग गरेर स्वास्थ्यकर्मीहरुले मनोवल उकास्ने कार्यक्रम चलाउन आवश्यक भएको बताए । कामदारहरुमा घर फर्किएर मात्र सुरक्षित होइन्छ भन्ने मानसिकता रहेको र त्यसलाई परिवर्तन गर्न आवश्यक रहेको भन्दै प्रवक्ता क्षेत्रीले भिसा र करारअवधि सकिएकालाई मात्र घर फर्कने वातावरण बनाउन जरुरी रहेको बताए ।
विश्वभर संक्रमण एकसाथ फैलिएकोले अन्य पक्षको मुख ताकेर पर्खिनु भन्दा खाडीका देशमा समितिहरु बनाएर खाद्यान्न र औषधि लगायतको प्रबन्धमा ध्यान दिनुपर्ने प्रवक्ता क्षेत्रीको भनाइ छ । गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष सुजन केसीले नेपाल सरकारले जो जहाँ छ, त्यहीँ बस भनेर मात्र नपुग्ने भन्दै मानसिक तनाव झेल्न नसकेर कामदारहरु आत्महत्यातर्फ प्रवृत भएको भन्दै पछिल्ला दिनमा आममाफीमा सहभागी भएका सबै भन्दाबढी पीडामा रहेको बताए ।
करिब २६ सय नेपाली आममाफीमा सहभागी रहेकामध्ये एक दर्जनबढी महिलाहरुसँग बालबच्चा पनि रहेकाले नेपालमा सोचेभन्दा जटिल अवस्था रहेको उनले बताए । घर फर्किने टिकट लिएकाहरु बढी समस्यामा रहेको भन्दै उनले शुरुमा नेपालीका संघसस्थाहरुले संक्रमितहरुप्रति उदार भावना राखी सहयोग गरेपनि पछिल्ला दिनमा आफ्नो सुरक्षा पहिले भन्दै पछि हट्ने गरेको र विरामी बोक्ने एम्बुलेन्सहरु समेत पटक–पटक अनुरोध गर्दासमेत नआउने अवस्था सिर्जना भएको बताए ।
त्यस्तै ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले विदेशमा अलपत्र नेपाली कामदार स्वदेश फर्काउन शुरु गर्ने नेपाल सरकारको पछिल्लो निर्णयले उकुसमुकुस अवस्थामा रहेका नेपालीहरुलाई केही राहत महशुस भएको भन्दै ओमानबाट ४ सय ५० जना नेपाली तत्काल स्वदेश फर्किने अवस्थामा रहेको जानकारी दिइन् । ओमानले शनिबारदेखि लकडाउन पूर्ण रुपमा हटाएको छ ।
गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका तर्फबाट नेपाल सरकारसमक्ष समन्वयको भूमिकामा रहेका पूर्व मन्त्री एवं सांसद गंगालाल तुलाधरले नेपालमा क्वारेन्टाइनको अवस्था अत्यन्तै भद्रगोल र दयनीय अवस्था रहेको भन्दै विदेशमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्किन पाए बचिन्छ भन्ने मान्यता राखेर स्वदेश फर्किन हतार नगर्न सुझाव दिए ।
उनले भने, ‘तपाईंहरुले थाहा पाइरहनुभएको छ ,नेपालका क्वारेन्टाइनहरको अवस्था कति खराव बनिरहेको छ, मारपीट भएर सुरक्षाकर्मी परिचालन गर्नु परेको छ । सरकारले विदेशमा अलपत्रहरुलाई स्वदेश फर्काउने निर्णय गरिसकेको छ, तर यस्तो अवस्थामा सकेसम्म जो जहाँ छ, त्यहीँ बस्नु नै बुद्धिमानी हुन्छ ।’उनले हालसम्म ५ लाख ५० हजार नेपाली स्वदेश फर्काउनुपर्ने अवस्थामा रहेको जानकारी नेपाल सरकारसंग रहेको जानकारी पनि दिए ।
खाडीका विभिन्न देशबाट संक्रमितहरुको संख्या पटक–पटक सार्वजनिक हुने गरेको भएपनि ती मुलुकहरुले संक्रमितहरुको राष्ट्रियता नखुलाउने भएका कारण संक्रमित नेपालीहरुको संख्या औपचारिक रुपमा एकिन गर्न समस्या रहेको उनले बताए ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकले कोरोना भाइरस संक्रमणका कारण रोजगारी गुमाई वा अन्य विभिन्न कारणले भारतबाहेक विदेशमा अलपत्र परेकामध्ये कम्तीमा २५ हजार नेपालीलाई नेपाल ल्याउने निर्णय गरेको छ । उनीहरुलाई प्राथमिकताको आधारमा एक हप्तादेखि १० दिनभित्र नेपाल ल्याउने निर्णय गरेको बताइए पनि विवरण संकलन गरी पेश गर्न परराष्ट्र मन्त्रालयलाई नै १० दिनको समय दिइएको छ । सरकारले जेठ मसान्तसम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies