काठमाडौं : दक्षिण कोरियाली कम्पनी सामसङले ग्यालेक्सी एस २५ अल्ट्रा सिरिज सार्वजनिक गरेको छ । बुधबार आयोजित ग्यालेक्सी अनप्याक्ड इभेन्ट २०२५ मा कम्पनीले बहुप्रतिक्षित एस २५ सिरिजअन्तर्गतको एस २५ अल्ट्रा सार्वजनिक गरेको हो ।
उपभोक्ताले यो फोन ग्यालेक्सी एस–२५, एस–२५ प्लस र एस–२५ अल्ट्रा सिरिजमा पाउने छन् । एआई फिचर्स समावेश गरेको यी फोनमा डायनामिक एमोलोइड २ एक्स स्क्रिन हुने छ । त्यस्तै, क्वालकोम स्न्यापड्रयागन ८ इलाइट प्रोसेसर र १२ जिबी र्याममा उपलब्ध हुने कम्पनीले बताएको छ ।
सामसङ ग्यालेक्सी एस–२५ ग्राहकले १२ जिबी/२५६ जिबी र १२ जिबी/५१२ जिबी क्षमतामा पाउनेछन् । फोनको मूल्य क्रमशः ८४ हजार ९ सय ९९ भारू र ९४ हजार ९ सय ९९ भारू तोकिएको छ । एस–२५ प्लस उपभोक्ताले १२ जिबी/५६ जिबी र १२ जिबी/५१२ जिबी क्षमतामा पाउनेछन् । यसको मूल्य क्रमशः एक लाख ४ हजार ९ सय ९९ भारू र एक लाख १४ हजार ९ सय ९९ भारू तोकिएको छ ।
एस–२५ अल्ट्राको मूल्य भारतीय बजारमा एक लाख ५१ हजार ९ सय ९९ भारु पर्नेछ । यो फोन उपभोक्ताले १२ जिबी र्याम/५१२ जिबी स्टोरेजमा पाउनेछन् । यो फोन ग्यालेक्सी एस २४ अल्ट्राभन्दा पातलो (८.२ एमएम) र हल्का (२१८ ग्राम) छ । यसमा टाइटेनियम फ्रेम प्रयोग गरिएको छ भने नयाँ कोर्निङ गोरिल्ला आर्मर टु ग्लास प्रयोग गरिएको छ, जुन अघिल्लो पुस्ताको भन्दा टिकाउ र चम्किलो छ ।
फोनमा ६.८ इन्चको क्यूएचडी प्लस डाइनामिक एमोलेड टु एक्स डिस्प्ले रहेको छ । यसले १ देखि १२० हर्जको रिफ्रेश रेट, भिजन बुस्टर र एडाप्टिभ कलर टोन प्रदान गर्दछ । ग्यालेक्सी एस २५ अल्ट्रामा स्न्यापड्र्यागन ८ एलिट मोबाइल प्लेटफर्म प्रयोग गरिएको छ, जसले १२ जीबी र्याम र ४० प्रतिशत ठूलो भेपर च्याम्बरको साथमा उत्कृष्ट प्रदर्शन दिने कम्पनीले उल्लेख गरेको छ ।