–रसुवाली कवि
माघे संक्रान्ति सकिएको केही दिन मात्रै भएको थियो । त्यो दिन कायामा पातला लाग्ने लेखकीय ऊर्जाले भरिएका अनि सकारात्मक चिन्तनमा विश्वास गर्ने शन्तराम बिडारीसँग चिनजान भएको थियो । त्यति बेला उनीसँग एबीसी टेलिभिजनमा काम गरिसकेको अनुभव थियो । अक्सर उनी एउटा सानो झोला बोक्थे । झोलामा दृष्टि, बुधवार, नवयुग, नेपाल समाचारपत्र, कान्तिपुर, नेपाल साप्ताहिक पनि हुन्थे । प्रेस चौतारीको जुझारु कमरेड थिए, शन्तराम । उनमा दामन, पालुङ–टिस्टुङ्को भाका मिसिएको गाउँलेपन उस्तै थियो, हार्दिकता त्यस्तै । थाहा अभियानको कुनै अभियन्ता जस्ता लाग्थे । कायासमेत रूपचन्द्रसँग मिलेपछि सहरले उनलाई एक थाहा नै ठान्दो हो । यो अलि पहिलाकै कुरा हो ।
केही दिन अगाडि शन्तरामसँग आरआर क्याम्पस, प्रदर्शनी मार्गमा भेट भयो । उनले त्यो थाहाकालीन लाग्ने झोला फटाइसकेका थिए । अहिले उनीसँग ल्यापटप राख्न मिल्ने झोला थियो । उनले झोलाबाट ‘आमसञ्चारको परिचय’ नामक पुस्तक झिके । पहिलो पृष्ठमा हस्ताक्षर गर्दै उनले भने– केही लेख्दिनुस् न !
हिजो–आज म खासै उपहार स्वरूप आएका पुस्तक कम लिन्छु । एक त यस्ता पुस्तक पढिने सम्भावना एकदम कम हुन्छ । अर्को, समीक्षा वा फेसबुक टिप्पणीको अपेक्षा राख्छन् लेखकहरू, जुन सबै पूरा गर्न सकिँदैन । लेखकहरू रिसाउँछन् । तर, बिडारीको आग्रहलाई टार्न सकिनँ किनकि बिडारी श्रमजीवी पत्रकारितामा लामो समयदेखि क्रियाशील व्यक्तित्व हुन् । उनको लेखाइ सटिक हुने गर्छ । पत्रकारितालाई अनुज पुस्तालाई प्रोत्साहित गर्नु, प्रेस स्वतन्त्रताको आन्दोलनमा सधैँ फ्रन्ट लाइनमा उभिनु, पत्रकारितालाई निष्ठाको पेसा बनाउन लागिरहनु शन्तराम बिडारीका विशेषता हुन् । उनी नेपाल पत्रकार महासंघका निष्ठावान् र सक्रिय सिपाही पनि हुन् । पत्रकारितालाई भजाएर अहिलेसम्म उनले पेसागत मर्यादालाई लत्त्याएका छैनन् । यसैले केही लेख्दै छु ।
साहित्य र पत्रकारितामा सक्रिय उपेन्द्र खड्का र शन्तराम बिडारीले सहकार्य गरेर लेखेको यस पुस्तक पत्रकारिताका विद्यार्थीहरू र पत्रकारितामा रुचि राख्ने जो–कोहीलाई महत्वपूर्ण छ भन्ने लाग्छ । सहलेखक उपेन्द्र पनि उस्तै उम्दा पत्रकार हुन् । ‘आमसञ्चारको परिचय’ नामक यस पुस्तक त्रिभुवन विश्वविद्यालय स्नातक तह (बीए) तेस्रो वर्ष पत्रकारिताअन्तर्गतको पाठ्यक्रममा आधारित छ । यस सानो पुस्तकले आमसञ्चारका विविध आयामलाई समेट्ने कोसिस गरेको छ ।
मूलतः यस पुस्तकका चार अध्यायमा आमसञ्चारका विविध आयामका बारेमा चर्चा गरिएको छ । अध्याय एकमा पत्रकारिता र आमसञ्चारको विशेषताको चर्चा गरिएको छ । दोस्रो अध्यायमा पत्रकारिताका सिद्धान्त र अभ्यासको व्याख्या छ । अध्याय तीनमा विशिष्ट मुद्दामा समाचार लेखन तथा अध्याय चारमा मिडियाका लागि कानुनी तथा नैतिक दृष्टिकोणबारे संक्षिप्त चर्चा गरिएको छ । आमसञ्चारमा रुचि राख्ने जो–कोहीलाई पनि यी सामग्री रोचक र पठनीय रहेको छ ।
लेखकद्वयले पत्रकारिताको आठ वटा तत्वको चर्चा गरेका छन् । ती तत्वहरू पत्रकारिताको गर्नेहरूका लागि निकै महत्वपूर्ण मानिन्छ । समाचार असामान्य विषयले बन्छ । समाचारमा प्रायः समसामयिक घटना समेटिन्छ । कतिपय समाचारमा सर्वकालिकताको गुणका पनि हुन्छन् । निकटताको सवाल पनि समाचारमा महत्वपूर्ण मानिन्छ । हरेक समाचारमा मानवीय अभिरुचिलाई ध्यान दिनुपर्ने हुन्छ । मानिसले आर्जन गरेको ख्याति पनि समाचारमा लागि महत्वपूर्ण मानिन्छ । घटनाको परिणाम र घटनासँग जोडिएको द्वन्द्व पनि समाचारका तत्व हुन् । यी आठ तत्वहरूलाई बुझ्दा समाचारलाई बुझ्न सकिन्छ ।
खासगरी समाचार बन्नका लागि छ वटा ‘क’ को भूमिका निकै महत्वपूर्ण मानिन्छ । अंग्रेजीमा ‘फाइभ एच’लाई महत्व दिइए जस्तै नेपालीमा ‘पाँच क’को भूमिका महत्वपूर्ण हुन्छ । कुनै घटना घट्दा ती तत्वहरू प्रयोगमा आउँछन् । ती हुन्– को, के, कहाँ, किन, कस्तो ! यी तत्वहरू साहित्य सिर्जना र सिनेमाको बनोटमा समेत प्रयोग गरिन्छ । लेखकद्वयले यी तत्वहरूको संक्षिप्त चर्चा गरेका छन् । पत्रकारितामा विद्यार्थीहरूले यी तत्वबारे अवश्य बुझ्नुपर्ने हुन्छ । त्यहीअनुरूप पत्रकारिता गर्नुपर्ने हुन्छ ।
अहिले युगलाई डिजिटल युग भनिन्छ । युटुवकारिताले पत्रकारितालाई छपक्कै छोपेको छ । पत्रकारिताको मूल्य हराउँदै गएको छ । पत्रकारिताको सतही अध्ययनले गर्दा यो स्थिति सिर्जना भएको हो । लेखकद्वय बिडारी र खड्काले सम्पादनको सिद्धान्तसँग जोडिने १० बुँदाहरूको चर्चा यस पुस्तकमा गरेका छन् । सम्पादन र रिपोर्टिङका लागि निम्न कुरा हुन जरुरी छ– (१) सत्य र तथ्यपरक (२) स्वतन्त्र, तटस्थ र तथ्यपरक (३) पूर्वाग्रहरहित (४) मानवीय (५) जवाफदेही (६) गोप्यताको सम्मान (७) स्रोतको सुरक्षा (८) पारदर्शिता (९) स्वार्थको टकराब (१०) समाचारमा केन्द्रित, (आमसञ्चारको परिचय, पृ. ६२) ।
अहिले यी १० तत्वको समायोजन पत्रकारितामा बिरलै गरिन्छ, जसका कारण पत्रकार र समग्र पत्रकारिताप्रति जनविश्वासमा कमी आएको छ । एक्काइसौँ शताब्दीमा समाचारीय मूल्य (न्युज भ्यालु) कति छ भनेर चर्चा गर्न जरुरी छ । समाचारको मूल्य निर्धारण गर्ने तत्वहरू जानकारी नहुँदा समाचारले मूल्यमा ह्रास आउँछ । यस सन्दर्भमा लेखकद्वय लेख्छन्– बिसौँ शताब्दीको सुरुवातका वर्षसम्म पनि मिडियाको विकासका दृष्टिले अग्रपंक्तिमै रहेका देशमा समेत खराब घटना वा खबर नै राम्रो समाचार बन्छ भन्ने धारणा व्याप्त थियो । समाचार बन्ने गुणका लागि नयाँ–नौलोका अतिरिक्त निकटता, मानव अभिरुचि अनि विशिष्ट र महत्वपूर्ण जस्ता गुणहरू पनि आवश्यक हुन्छ भनेर भनिएको साथै, प्रयोग गरिएका छन् । तर, व्यवहारमा आजसम्म पनि यो विषयमा त्यति सजिलै एकरूपता हुने गरेको छैन, (आमसञ्चारको सिद्धान्त, पृ. ४२/४२) ।
आजकाल पत्रकारितालाई राम्रोसँग पर्गेल्न सक्ने पत्रकारहरूको कमी छ । विश्वविद्यालयमा पत्रकारिता पढ्ने विद्यार्थीहरू कम छन् । लेखकद्वयले चर्चा गरे जस्तै खराब घटना वा खराब नै समाचार हो भन्ने मान्यता एक्काइसौँ शताब्दीमा पनि व्याप्त छ । तर, स्थिति त्यति मात्र सीमित छैन । पत्रकारितामार्फत दुनियाँका एकदम लुकाइएका÷छोपिएका राज्य समाज अनेकौँ मान्यताद्वारा प्रताडितहरूका पीडा र दर्द पनि बाहिर आएका छन् ।
उमा नारुलाले भनेकी छिन्– सञ्चार भनेको शाब्दिक, दृश्यात्मक र लिखित सन्देशहरूको प्रयोगबाट विचारको आदान–प्रदान गर्ने काम हो । लेखकद्वयले यो महत्वपूर्ण भनाइलाई पनि उल्लेख गरेका छन् । साँच्चै विचारको आदान–प्रदान गर्ने सिलसिलामा नेपाली प्रेस पनि अगाडि बढ्दै छ । आमसञ्चारसम्बन्धी पुस्तकका लागि लेखकद्वयलाई बधाई छ । यस्ता पुस्तक प्रकाशन आउनु र बहस हुनु निश्चय नै सकारात्मक कुरा हो । यी बहसले नेपाली पत्रकारिता क्षेत्रलाई गुणस्तरीय र विश्वसनीय बनाउन अवश्य पनि भूमिका खेल्नेछ ।