काठमाडौं : नेपालको बीमा क्षेत्र नियामक नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाले आवेदन दिएका छन् । सरकारले गठन गरेको सिफारिस समितिमा कमलप्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरञ्जीवी चापागाईं, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, बिक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठको आवेदन परेको हो ।
यस अघिका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई कीर्ते नागरिकता प्रकरणमा भ्रष्टाचार मुद्दा लागेसँगै हाल प्राधिकरण अध्यक्षविहीन छ । आउँदो माघ १९ गते कार्यकाल पूरा गर्न लागेका सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २४ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भ्रष्टाचार मुद्दा लागेपछि सिलवाल स्वतः निलम्बित भएका थिए । लगत्तै अर्थ मन्त्रालयले पुस ११ गते अध्यक्ष छनोट सिफारिस समिति गठन गरेको थियो । अर्थ मन्त्रालयले हाल प्राधिकरण अध्यक्षको जिम्मेवारीमा सहसचिव मदन दाहाललाई खटाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहसचिव दाहाललाई अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरण अध्यक्षको कामकाज गर्नेगरी जिम्मेवारी दिएका हुन् ।
आवेदन दिएकामध्ये ५ जनालाई छनोट गरेर उनीहरुको कार्य योजना सहितको प्रस्तुती पछि तीन जनाको सर्ट लिस्ट अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउने छ । मन्त्रिपरिषद्ले ३ जनाबाट १ जनालाई आगामी ४ वर्षका लागि अध्यक्षमा चयन गर्ने छ ।