२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

बैतडीमा भूकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि कालिगढलाई तालिम

Nada
ललित बोहरा
२०८१ माघ १३ गते ०८:१५
Shares
बैतडीमा भूकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि कालिगढलाई तालिम

बैतडी : बैतडीमा भूकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि कालिगढलाई ७ दिने तालिम दिइएको छ । जिल्लाको १०औं नयाँ शहर पाटनका १० वडाका ३० जना कालिगढ अर्थात घर निमार्ण गर्ने मिस्त्रीलाई तालिम दिएको हो । 

ncell

नयाँ शहर आयोजनाको कार्यालय पाटन बैतडीले भूकम्प प्रतिरोधात्मक विधिबाट भवन निर्माणका लागि कालिगढीलाई प्रयोगात्मक ७ दिने तालिम दिएको आयोजना उपप्रमुख सौरभ कलौनीले बताए ।

माघ ६ गतेदेखि १२ गतेसम्म कार्यालय परिसरमै आयोजित तालिमको शनिबार एक औपचारिक कार्यक्रमका बीच समापन गरिएको छ ।

तालिममा भूकम्प प्रतिरोधात्मक संरचना निर्माण गर्दा सामग्रीको गुणस्तर, जग र जगका प्रकार, कस्तो स्थानमा कस्तो जग राख्ने, पिलर निर्माण, रिङ्ग बाँध्ने तरिका, रिङ्ग र छडको संख्या, पिलर र बिमको जोर्नी, गाह्रो बन्धन, भूकम्पले पुर्‍याउने क्षति तथा विभिन्न डिजाइनका घर निर्माणसम्बन्धी तालिम प्रदान गरिएको आयोजकले जनाएको छ ।

तालिमबाट केही नयाँ कुराहरु सिकिएको २५ वर्षबाट घर निमार्णको काममा संलग्न पाटन नगरपालिका १ डंसिलीका नैन सिह बोहराको भनाइ छ । उनले भने, 'तामिलमा इजिनियरहरुले नयाँ कुरा सिकाउनुभएको छ त्यो अब हामी फिल्डमा भोलिबाटै लागु गछौँ ।'

समापन समारोहमा पाटन नगरपालिका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि गौरीसिंह रावलले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । तालिमको समापनमा बोल्दै नगर प्रमुख रावलले दक्ष कालिगढले बनाएका घर तथा कार्यालयहरु भूकम्प प्रतिरोधात्मक विधिबाट बन्ने विश्वास व्यक्त गरे । उनले अब पाटनमा बन्ने घरहरु नक्सा पास गरेर मात्र बनाउन सबैमा आग्रह गरेका थिए ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि कमलसिंह बोहराले घर निर्माण गर्न कालिगढको महत्पूर्ण भूमिका हुने बताए । 'घर बनाउँदा घर धनीले जस्तो भनेको छ त्यही गर्ने होइन प्राविधिक रुपमा के राम्रो हो त्यही गर्नुस् भनेर सुझाव दिनुस् होइन भने बनाउन छोड्नुस,' नगर उपप्रमुखले भने, ‘गाडीका सबै उपकरणा ठिक नभए चालकले गाडी अगाडि बढाउँदिन्रँ भन्न पाउँछ ।’

कार्यक्रममा सहभागी प्रशिक्षार्थीको परिक्षा समेत लिइएको छ । जसमा पाटन नगरपालिका १ का नन्दराज भट्टराई प्रथम भए भने मानसिंह ठगुन्ना, भरतराम विक, लालीराम लुहार र नारायण सिह बिष्ट द्वित्तीय भए । यस्तै तृतीय धर्मानन्द पन्त र हरिष बिष्ट भए ।

समापनमा नगर प्रमुख रावल, उपप्रमुख बोहरा, वडा नम्बर ६ का वडा अध्यक्ष राजेन्द्र बिष्टलगायको उपस्थिति रहेको थियो ।

नयाँ शहरले हरेक वर्ष कालिगढलाई तालिम दिइरहेको जनाएको छ । पाटन नयाँ शहर घोषणा भएको एक दशक बढी भइसक्दा समेत जग्गा एकीकरणको काम अघि बढाउन विभिन्न समयमा यहाँका स्थानीय नागरिकसँग छलफल भएको छ । 

करिब २ लाख मानिसको बसोबास गराउने, आधुनिक शहरका सुविधासहित व्यवस्थित शहर बनाउने योजना रहेको भएपनि नयाँ शहरको काम सन्तोषजनकरुपमा अगाडि बढ्न सकेको छैन ।

सम्बन्धित खबर