२०८३ कार्तिक १८ गते बुधवार / Nov 04 , 2026 , Wednesday
२०८३ कार्तिक १८ गते बुधवार

इरान युद्ध चुनावी हारको कारण : ट्रम्प

Nada
२०८३ कार्तिक १८ गते १३:२८
Shares
इरान युद्ध चुनावी हारको कारण : ट्रम्प

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयमा इरान युद्धले भूमिका खेलेको स्वीकार गरेका छन् । उनले विपक्षी डेमोक्रेटिक पार्टीलाई चुनावी सफलताका लागि बधाई दिँदै हारको व्यक्तिगत जिम्मेवारी भने लिन अस्वीकार गरेका छन् ।

फक्स न्युजसँगको अन्तर्वार्तामा ८० वर्षीय ट्रम्पले डेमोक्रेटहरूले राम्रो प्रदर्शन गरेको बताए । यद्यपि, उनले निर्वाचन परिणामलाई आफ्नो व्यक्तिगत पराजयका रूपमा नलिएको उल्लेख गर्दै रिपब्लिकन उम्मेदवारहरूको कमजोरीलाई हारको प्रमुख कारणका रूपमा प्रस्तुत गरे ।

इरान युद्ध र त्यसका कारण बढेको तेलको मूल्य मतदातामाझ अलोकप्रिय बनेको स्वीकार गर्दै ट्रम्पले युद्ध पनि निर्वाचन परिणाम प्रभावित पार्ने एउटा कारण भएको बताए । तर इरानप्रति आफूले अपनाएको नीतिको महत्त्व मतदाताले बुझेको उनको दाबी थियो ।

ट्रम्पले डेमोक्रेटहरूसँग विभिन्न विषयमा सहकार्य गर्न आफू तयार रहेको बताएका छन् । यद्यपि, आफूलाई स्वीकार्य नहुने विधेयक पारित भए राष्ट्रपतीय भिटो प्रयोग गर्ने चेतावनीसमेत दिए ।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा उनले आफू उम्मेदवार भएको भए रिपब्लिकनहरूले ठूलो मतान्तरले जित्ने दाबी गरे । त्यस्तै, टेक्सासका गभर्नर ग्रेग एबटको आलोचना गर्दै उनी नाम मात्रका रिपब्लिकन भएकाले पराजित भएको टिप्पणी गरेका छन् ।

ह्वाइट हाउसका एक अधिकारीले पनि रिपब्लिकन उम्मेदवारहरूको गुणस्तर निर्वाचन परिणाम प्रभावित पार्ने महत्त्वपूर्ण पक्ष भएको बताएका छन् ।

कङ्ग्रेसका प्रतिनिधिसभा र सिनेट दुवैमा डेमोक्रेटहरूको नियन्त्रण कायम भएपछि ट्रम्पको कार्यकालका अन्तिम दुई वर्ष चुनौतीपूर्ण हुने देखिएको छ । डेमोक्रेटहरूले प्रशासनका नीति तथा गतिविधिमाथि छानबिन र संसदीय निगरानी बढाउन सक्नेछन् ।

यसैबीच, ह्वाइट हाउसले इरानविरुद्धको सैन्य कारबाही पुनः विस्तार हुन सक्ने सम्भावनालाई अस्वीकार गरेको छैन ।

निर्वाचन परिणामपछि राजनीतिक विरोधीहरूविरुद्ध आफ्नो अडान थप कडा बनाउने ट्रम्पको सङ्केतले आगामी दिनमा अमेरिकी राजनीतिमा थप टकराव हुन सक्ने देखिएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर