काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले संसद्को कृषि समितिले पोखरा भ्रमण गर्दा होटलमा बस्दाको सीसी टिभी फुटेज र खर्च विवरण उपलब्ध गराउन माग गरेकी छन् । सांसद कठायतले आइतबार त्यसबारे सूचना उपलब्ध गराउन माग गर्दै समितिमा निवेदन पेस गरेकी हुन् ।
प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसद कठायतले पोखरास्थित होटल ओपन हाउसबाट राति ८ देखि १० बजेसम्मको सीसीटीभी फुटेज झिकाउन माग गरेकी हुन् । उनले सो दिन भएको खर्चको विवरणसहितको बिल भरपाइ झिकाउन समेत माग गरेकी छन् ।
२४ पुसदेखि कृषि समितिले नेपालगञ्जबाट अनुगमन सुरु गरेको थियो । ६ दिने अनुगमनको क्रममा कृषि समितिका सदस्यहरू २९ पुसमा पोखराको उक्त होटलमा बसेका थिए ।
सांसद कठायतले अनुगमनका दौरान समिति सदस्यहरूको आचरण ठिक नभएको र सांसदहरूले अर्काको व्यक्तिगत जीवनबारे अनावश्यक टिकाटिप्पणी गरेको कुरा समिति बैठकमा उठाएकी थिइन् । सो विषयमा प्रमाण लिएर आउनू भनेपछि आइतबार सांसद कठायतले समितिमा सीसीटीभी फुटेज झिकाएर छानबिन गर्न माग गरेकी हुन् ।