२०८१ माघ १४ गते सोमवार / Jan 27 , 2025 , Monday
२०८१ माघ १४ गते सोमवार
Ads

पाथीभरा समस्याको समाधान गर्न प्रदेश सांसदहरूको माग

hardik ivf
मध्यान्ह
२०८१ माघ १३ गते १६:५१
पाथीभरा समस्याको समाधान गर्न प्रदेश सांसदहरूको माग

विराटनगर : ताप्लेजुङको पाथीभराको समस्या तत्काल समाधान गर्न प्रदेश सभामा सांसदहरूले सरकारसँग माग गरेका छन् ।

कोसी प्रदेश सभाको आइतबार शून्य समयमा बोल्दै सांसदहरूले शनिबार ताप्लेजुङमा भएको घटनाको बारेमा सरकारसँग जवाफ माग गर्दै वार्ताबाट समस्याको समाधान निकाल्न आग्रह गरे ।

सङ्खुवासभाका सांसद विदुरकुमार लिङ्थेपले पाथीभरा क्षेत्रमा देखिएको समस्या समाधान गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकार तीनै तह लाग्न आग्रह गरे ।  

इलामका प्रदेश सभा सदस्य शमशेर राईले पाथीभरा क्षेत्रमा भएको घटनामा राज्य पक्षबाट दमन भएको भन्दै सरकारको भत्र्सना गरे । उनले घाइतेहरूका लागि निः शुल्क र व्यवस्थित उपचार गर्न प्रदेश र सङ्घीय सरकारसँग माग गरे ।

पहिचानसँग जोडिएका विषय नामकरण र पाथीभराको विषयलाई लिएर गोली नै हान्नु पर्छ भन्ने सोच सरकारले हटाउनु पर्ने उनले बताए ।

राप्रपाकी सांसद सविना बजगाईँले ताप्लेजुङमा प्रहरी दमन भएको भन्दै सरकारको आलोचना गरिन् । जनतामाथि दमन गरिएको बताउँदै घटनालाई तत्काल समाधान गर्नुपर्ने उनको माग छ ।

कांग्रेस प्रदेश सभा सदस्य प्रदीपकुमार सुनुवारले पाथीभरा क्षेत्रमा घटेको घटनाको भत्र्सना गरे ।

घाइतेहरूको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन पनि उनले आग्रह गरे । पाथीभरा क्षेत्रको निर्माण कार्यले सांस्कृतिक पहिचानको रूपमा द्वन्द्व सिर्जना गरेको भन्दै केबुलकार निर्माण समूह र स्थानीय बिचको द्वन्द्वलाई वार्ताद्वारा समाधान गरेर मात्र निर्माणको काम थाल्न आग्रह गरे ।

पाथीभराको घटनामा प्रदेश सरकारले आफ्नो धारणा स्पष्ट पार्न आग्रह गरे । कांग्रेसकै अर्का सांसद गोविन्द गिरीले ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको द्वन्द्व समाधान गर्न सरकारसँग माग गरे। केबुलकार बनाउने र नबनाउनेको बिचमा भएको द्वन्द्वका कारण त्यो क्षेत्र अशान्त रहेको भन्दै सरकारको स्पष्ट धारणा आउनु पर्ने बताए । अहिले देखिएको समस्याको तत्काल वार्ता र छलफलबाट नै समाधान खोज्न आग्रह गरे ।

विशेष समय लिएर बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद कमल प्रसाद जबेगुले साँझ खाना खाने बेलामा प्रहरीले गोली चलाएको दाबी गरे ।  

पाथीभरा क्षेत्रमा खाना खान लागेको बेलामा स्थानीय र प्रहरीको बिचमा झडप भएको भन्दै प्रहरीको गोली लागेर दुई जना असाध्यै गम्भीर अवस्थामा रहेको जानकारी गराए ।  

शान्ति सुरक्षाको नाममा निहत्था जनतामाथि गोली चलाइएको र २ जनालाई पक्राउ गरी नियन्त्रणमा लिएकोले तत्काल रिहाइ गर्न उनको माग छ ।

‘सशस्त्र द्वन्द्वको समाधान वार्ताबाट नै भएको छ’, उनले भने, ‘पाथीभरामा अहिले भइरहेको प्राकृतिक रूपमा नै राख्ने की केबुलकार चलाउने भन्ने विषयलाई वार्ताको विषय बनाइनुपर्छ ।’

ADVenergy

सम्बन्धित खबर

Advertise