सर्खेत : नेपाल निजामती कर्मचारी संगठन सुर्खेतले संघ, प्रदेश र स्थानीय तहमा जारी निजामती ऐन र नियमावलीमा भएका व्यवस्थाहरु तत्काल संशोधन हुनुपर्ने माग गरेकाे छ । आइतबार नवनिर्वाचित जिल्ला कार्यसमितिकाे पूर्ण बैठकले कर्णाली प्रदेश निजामती सेवा ऐन र नियमावली तथा कर्णाली प्रदेश स्थानीय सेवा ऐन र नियमावली कार्यान्वयनमा देखिएका जटिलता तत्काल संशोधन गर्न जोडदार माग गर्ने निर्णय गरेकाे हाे ।
सुर्खेत जिल्ला अध्यक्ष सीता कँडेलको अध्यक्षतामा बसेकाे बैठकले कर्णाली प्रदेश सरकारले हालै जारी गरेकाे स्थानीय सेवा ऐनमा भएका विभेदकारी व्यवस्थाहरु हटाउनु पर्ने माग गरेकाे हाे । आफ्ना मागहरु पूरा नभए आन्दोलन गर्ने चेतावनीसमेत दिइएकाे छ । बैठकले तीनवटै तहका कर्मचारीहरुको मर्म र भावना समेटिने गरी संघीय निजामती सेवा ऐन जारी गर्नसमेत माग गरेकाे छ ।
यस्तै, निवर्तमान कार्य समितिका कामहरुको समिक्षा गर्दै संगठनका भावी कार्यदिशाका सम्बन्धमा १२ औ जिल्ला अधिवेशनबाट पारित विभिन्न प्रस्तावहरु कार्यान्वयनका लागि वार्षिक योजना तर्जुमा गरी जिल्ला कार्य समिति सुर्खेतका कामहरुलाई सु-व्यवस्थित र प्रभावकारी ढंगले संचालन गर्ने निर्णय भएकाे अध्यक्ष कँडेलले बताइन् ।
बाह्रौं जिल्ला अधिवेशन सभ्य, भव्य र ऐतिहासिक रुपमा सर्वसहमत नेतृत्व चयन गरी सम्पन्न गर्ने सहयोग गर्ने प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरु, अध्यक्ष मण्डल, निर्वाचन मण्डल र उपस्थित सम्पूर्ण संगठक एवं सुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय बैठकले गरेकाे छ । बैठकका अवसरमा नेपाल पत्रकार महासंघ सुर्खेतकाे नवनिर्वाचित कार्यसमितिलाई सम्मानसमेत गरिएकाे थियाे ।