कालीकोट : कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बडुवालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पार्वती संज्याल, सामाजिक विकास कार्यालय कालिकोट प्रमुख रमेश लोहार र अजयबहादुर बम लगायतको विशेष आतिथ्यता रहेको थियो ।
गाउँपालिकाले साक्षर पालिका घोषण गर्नुपर्ने मापदण्ड अनुसार सूचकहरु पूरा गरेसँगै प्लान इन्टनेशनल नेपाल, सादा नेपाल, हुरुन्डेक नेपाल र किर्डाक नेपाल लगायतका विभिन्न साझेदार संघसंस्थाको सहयोग र सान्नी त्रिवेणी गाउँपालिकाको आयोजनामा गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष केसीले शिक्षाको महत्व र यसको प्रभावका विषयमा प्रकाश पार्दै गाउँपालिकाले साक्षरताको लक्ष्य पूरा गरेकोमा खुसी व्यक्त गरे ।
उपाध्यक्ष संज्यालले सम्पूर्ण गाउँपालिका बासिन्दा, शिक्षक र सामाजिक अभियन्तालाई साक्षरता अभियान सफल बनाउन गरेको योगदानप्रति धन्यवाद प्रकट गरिन् । राष्ट्रिय साक्षरता मापदण्डअनुसार १५ देखि ६० वर्ष उमेर समूहका जनसंख्यामध्ये ७८ प्रतिशतमाथि साक्षर भएमा साक्षर पालिका घोषणा गर्न सकिने प्रावधान रहेको छ । जसमा सान्नीत्रिवेणी गाउँपालिकाले ९५ प्रतिशत नागरिक साक्षर भएको तथ्यांकमा उल्लेख गरिएको छ ।
गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले पालिकाको समग्र विकास शिक्षामा जोडिएको र शिक्षामा पहिलो सफलता प्राप्त गर्न सफल भएको बताए । गाउँपालिकाको विकास र समृद्धिका लागि शिक्षामा सुधार गरेर अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए ।
सान्नी त्रिवेणी गाउँपालिकाको कूल जनसंख्या १३ हजार ४ सय ९१ रहेकोमा ९५ दशमलब १० प्रतिशत नागरिक साक्षर भएका छन् । जसमा वडा नं. १ मा ९५.९९ प्रतिशत, वडा नं. २ मा ९५.१५ प्रतिशत, वडा नं. ३ मा ९५.५५ प्रतिशत, वडा नं. ४ मा ९५.३१ प्रतिशत, वडा नं. ५ मा ९५.७४ प्रतिशत, वडा नं. ६ मा ९५.३३ प्रतिशत, वडा नं. ७ मा ९५.२१ प्रतिशत, वडा नं. ८ मा ९५.६६ प्रतिशत र वडा नं. ९ मा ९५.६५ प्रतिशत नागरिक साक्षर रहेको गाउँपालिकाले जनाएको छ ।