–ठानेश्वर के.सी.
धेरैलाई जिज्ञासा छ, कम्युनिस्ट कस्तो हुनुपर्छ ? के अहिलेका भनिएका सबै कम्युनिस्ट हुन् त ? वर्गीय दृष्टिकोणसहितको क्रान्तिकारी विचार बोक्ने व्यक्ति नै असल कम्युनिस्ट हो । विचार यस्तो हतियार हो, जसलाई कुनै पनि प्रतिक्रियावादी शासकले हराउन सक्दैन । वैचारिक हतियारलाई सधैँ धारिलो राख्नु जरुरी हुन्छ । निरन्तर प्रशिक्षण, स्कुलिङ र अध्ययनबाट विचारलाई धारिलो बनाउन सकिन्छ । सैद्धान्तिक रूपमा असल कम्युनिस्टले विश्व दृष्टिकोण र मार्गदर्शक सिद्धान्तबारे अध्ययन गर्नुपर्दछ ।
वर्गको उत्पत्ति, वर्ग संघर्ष, राज्य, राज्यको उत्पत्ति, मानव समाजको विकासक्रम, राज्यव्यवस्था, वर्ग युद्ध, राष्ट्रिय मुक्ति युद्ध, विश्वयुद्ध, विश्व कम्युनिस्ट आन्दोलन, नेपाली कम्युनिस्ट आन्दोलन बारेमा एउटा असल कम्युनिस्टले आधारभूत सैद्धान्तिक ज्ञान हासिल गर्नै पर्दछ । खोक्रो भाषण र झुटो आश्वासनले मात्र श्रमजीवी तथा उत्पीडित जनतालाई संगठित र आन्दोलित गर्न सकिँदैन । सिद्धान्त र विचारलाई भौतिक शक्तिमा बदल्न वा व्यावहारिक रूप दिन गहिरो ज्ञान र अध्ययनको खाँचो पर्दछ । सिद्धान्तलाई व्यवहारमा लागू गरिएन भने त्यो कोरा बकवास मात्र बन्दछ । त्यसले सामाजिक जीवनमा कुनै परिवर्तन गर्न सक्दैन ।
असल कम्युनिस्टमा त्याग र बलिदान, इमानदारी, अनुशासन र नैतिकता, वर्गीय दृष्टिकोण, क्रान्तिकारी विचार जस्ता गुण हुन्छन् । कम्युनिस्ट व्यक्तिमा सामूहिकताको सोच मात्रै हुँदैन पारदर्शिता पनि हुन्छ । द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणका आधारमा प्रकृति, इतिहास र मानव समाजलाई अध्ययन गर्नु यसलाई निरन्तर गतिशीलतामा बुझ्नु र गतिका कारणलाई वस्तुभित्रै खोज्नु माक्र्सवादको दर्शन हो । विश्वको व्याख्या मात्र नगरी त्यसलाई बदल्नु, प्रतिगामी उत्पादन सम्बन्ध र त्यसमाथि आधारित पुँजीवादी राज्यसत्ताको अन्त्य गरी समाजवादी राज्यसत्ताको स्थापनाको लक्ष्य लिनु, त्यसको लागि वर्ग संघर्षको स्पष्ट बाटो अवलम्बन गर्नु र श्रमजीवी वर्गलाई त्यसको नेतृत्व गर्न सक्षम तुल्याउने गरी वैचारिक र संगठनात्मक कार्य गर्नुलाई असल कम्युनिस्टको कर्तव्य मानिन्छ । समाजवाद माक्र्सवादको सार हो भने साम्यवाद लक्ष्यको रूपमा रहेको एउटा परिकल्पना हो र श्रमजीवी वर्गीय आन्दोलन यसको माध्यम हो ।
एउटा असल कम्युनिस्टको जीवनशैली सरल, पारदर्शी र व्यवहारवादी हुनुपर्छ । आफ्नो जिम्मेवारी महसुस गर्ने खालको हुनुपर्छ । ऊ लचिलो, सृजनशील र कलात्मक हुनुपर्छ । व्यापक रूपमा छलफल गरी निष्कर्षमा पुग्ने हुनुपर्छ । विरोधीसँग पनि विचार र सुझावको लेनदेन गर्ने हुनुपर्छ । सम्मान, प्रोत्साहन र सामूहिक प्रतिबद्धता गर्ने खालको हुनुपर्छ । समुदायप्रति विश्वास राख्ने र जनवादी केन्द्रीयतालाई सही ढंगबाट कार्यान्वयन गर्ने हुनुपर्छ । एउटा असल कम्युनिस्टको जीवनस्तर कहिल्यै पनि सर्वसाधारणको जीवनस्तरभन्दा माथि हुनुहुँदैन । एउटा असल कम्युनिस्टले अरूको कुरालाई ध्यान दिनुपर्छ । प्राप्त सूचना एवम् सामाग्री साझेदारी गर्नुपर्छ । आदेश वा निर्देशनको पालना गर्नुपर्छ ।
सामूहिक निर्णय प्रक्रिया अपनाउनुपर्छ । उसको कार्यशैली जनस्तरमा स्वाभाविक र सहज खालको हुनुपर्छ । उसको व्यक्तित्व प्रशंसायोग्य हुनुपर्छ । उसको प्रस्तुति आकर्षक एवम् सन्तुलित हुनुपर्छ । दुस्मनप्रति आक्रामक शैली अपनाउने हुनुपर्छ । परिस्थितिअनुसार आफूलाई हिँडाउने हुनुपर्छ । समुदाय र जनताप्रति उत्तरदायी हुनुपर्छ । सधैँ उदाहरणीय र अनुकरणीय बन्नुपर्छ । प्रस्ट र सरल मिजासको हुनुपर्छ ।
आफ्ना हरेक काम कारबाहीमा जनदिशालाई प्राथमिकता दिने र जनतालाई भविष्यप्रति बढी ध्यान दिन लगाउने हुनुपर्छ । आफ्ना अनुभवहरू जनताबीचमा साटासाट गर्ने, कमी कमजोरी स्वीकार गर्ने, आफूमा भएको क्षमता र खुबीको उपयोग गर्ने, अरूको भावनाको कदर गर्ने, अरूलाई काम गर्न उत्साहित र प्रोत्साहित गर्ने, निष्पक्ष व्यवहार गर्ने, सकारात्मक सोच र धारणा राख्ने, सिद्धान्तमा अडिग रहने, लक्ष्य र उद्देश्यप्रति सधैँ दृढ रहने जस्ता शैलीहरू जनशैलीअन्तर्गत पर्दछन् ।