रुकुम पश्चिम : रुकुम पश्चिमका धेरैजसो ठाउँमा झोलुङ्गे पुल छन् । सरकारले झोलुङ्गे पुल विस्थापित गरेर मोटरेबल पुलको अवधारणा ल्याएको थियो । तर अहिलेसम्म यहाँका धेरै खोला र नदी तर्न स्थानीयले झोलुङ्गे पुल प्रयोग गर्ने गरेका छन् भने झोलुङ्गे पुलबाट नै मोटरसाइकल पनि वारपार गर्ने गरिएको छ ।
बाँफिकोट गाउँपालिका वडा नम्बर ४ र ९ को बीचमा रहेको बडगाई खोलामा मोटरेबल पुल निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरे पनि अहिलेसम्म अख्तियारी नआउँदा पुल बन्न ढिलाइ भएको छ ।
पुल नहुँदा गाडीहरु हिउँदमा खोलाबाटै वारपार गर्ने गरिएपनि र वर्षायाममा त्यो सम्भव नहुने र वैकल्पिक मार्ग हिँड्नुपर्ने बाध्यता रहेको गाडी चालकहरु बताउँछन् ।
मोटरसाइकल भने झोलुङ्गे पुलबाट वारपार गर्ने गरिएको छ । तर साँघुरो र चिप्लो बाटोका कारण कयौं मोटरसाइकल दुर्घटनामा परेका छन् । खोलामा कल्भर्टको व्यवस्थापनमा कसैले ध्यान नदिएको गाडी चालकहरुको गुनासो छ ।
बाँफिकोट गाउँपालिका वडा नम्बर ६ र ८ को बीचमा रहेको मैछु खोलाको पुल भने ठेकेदारको लापरबाहीले बन्न सकेको छैन । स्थानीयका अनुसार पटक-पटक ठेकेदार कम्पनीले म्याद थपेता पनि काम राम्रोसँग गर्न सकेको छैन ।