२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

अध्यक्ष दाहालद्वारा सहिद धनरुपा स्मृति पार्क उद्घाटन

himalayanlife
२०८१ माघ १४ गते १६:२६
Shares
अध्यक्ष दाहालद्वारा सहिद धनरुपा स्मृति पार्क उद्घाटन

तेह्रथुम : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहाँ निर्मित सहिद धनरुपा स्मृति पार्कको आज एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । 

लालिगुराँस नगरपालिका–७ र ९ को सङ्गमस्थलमा रहेको लसुने बजारमा निर्माण गरिएको पार्कको उद्घाटन गर्दै प्रचण्डले भने, ‘मुलुकको प्रगति र परिवर्तनका लागि आफ्नो जीवन अर्पण गर्ने सहिदहरु अमर हुन्छन्, समाजको उत्थानको निम्ति, जनताको हकअधिकारको निम्ति बलिदान दिने सहिदहरु कुनै पार्टी विशेषको मात्र नभइ आम जनताका सम्मानका पात्र हुुनुहुन्छ ।’

दस वर्षसम्म नेपाली आमाबाबुका सन्तानले युद्ध लडेको र बलिदान दिएको स्मरण गर्दै अध्यक्ष दाहालले  त्यसको नेतृत्व गर्ने आफूले अवसर पाएको बताए । धनरुपा स्मृति प्रतिष्ठानले आयोजना गरेको पार्क उद्घाटन कार्यक्रममा तत्कालीन समयमा माओवादीले गरेको सशस्त्र विद्रोहको क्रममा ज्यान गुमाएका तेह्रथुम र धनकुटाका २४ सहिद परिवारलाई अभिनन्दन गरिएको थियो । पार्कमा  लालिगुराँस नगरपालिकाका छ जनाको अर्धकदको शालिक निर्माण गरिएको प्रष्ठिानका अध्यक्ष टेकबहादुर केप्छाकी मगरले बताए ।

पार्कमा धनरुपा कार्की, हर्कबहादुर तिवारी, छत्रमाया थाम्देन, दिलु थाम्देन, तिलबहादुर सोदेम्बा र विजय गुरुङको शालिक निर्माण गरिएका छन् । सङ्घीय सरकारको सहरी विकास मन्त्रालयको रु तीन करोड लागतमा पार्क निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष केप्छाकीले बताए ।

नेपाली सेनाको हेलिकप्टरमार्फत आज बिहान नेता बर्षमान पुनका साथ अध्यक्ष दाहाल यहाँ आएका थिए  । तेह्रथुमबाट निर्वाचित प्रदेशसभा सदस्य तथा माओवादी केन्द्रका नेता दुर्गाप्रसाद चापागाईका अनुसार अध्यक्ष दाहालले आजै आठराई गाउँपालिका–३ ह्वाकुस्थित सहिद स्मृति पार्कको उद्घाटन र शान्ति सङ्ग्रहालयको शिलान्यास गर्नेछन् ।

उनी यही माघ १५ गते आठराई गाउँपालिका–६ चुहानडाँडास्थित स्वर्गीय भक्तराज कन्दङवाको शालिक अनावरणपछि पार्टीको जिल्ला स्तरीय राजनीतिक प्रशिक्षणमा सहभागी हुनेछन् ।

सम्बन्धित खबर