काठमाडौँ : हर्नियाको शल्यक्रिया गराएका क्रिकेटर सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् ।
सन्दीपले गत ९ गते सिल्भर लाइन अस्पतालमा हर्नियाको शल्यक्रिया गराएर स्वास्थ्यलाभ गरिरहेका थिए । हाल उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालका प्रबन्धक डा. अभिषेकराज सिंहले बताए । यही गतिमा रिकभर भएमा सन्दीप दुई–तीन हप्ता पछि नै मैदान फर्किन सक्ने उनको भनाइ छ ।
सिल्भरलाइन अस्पतालमा शल्यचिकित्सक डा. दिपक शर्मा नेतृत्वको टोलीले सन्दीपको शल्यक्रिया गरेको थियो । सन्दीप करिब ४ वर्षदेखि हर्नियाको समस्याबाट पीडित भइरहेका थिए । बीचमा मुद्दा मामिला र खेलको व्यस्तताले उनले शल्यक्रिया गराउन भ्याएका थिएनन् । अहिले खाली समय पारेर उनले शल्यक्रिया गरेका हुन् ।
अस्पतालले विज्ञप्ति जारी गर्दै सन्दीपलाई शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । आज डिस्चार्ज हुने क्रममा नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंह अस्पतालमा पुगेका थिए ।