क्वालालम्पुर, मलेसिया : मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डा. नेत्रप्रसाद तिमल्सिनालाई मलेसियामा रहेका सक्रिय संघ संस्थाहरुले संयुक्तरूपामा स्वागत गरेका छन् । स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत तिमल्सिनाले नेपाली दूतावास सबैको अभिभावक भएकाले साथी जस्तो बनेर मलेसियामा रहेका नेपालीलाई सेवा दिने प्रतिबद्धता जनाए ।
मलेसियामा नवनियुक्त राजदूतलाई यहाँका संघसंस्थाहरुले स्वागत तथा कार्यकाल सफलताको शुभकामना दिन कार्यक्रम गर्दै आएका छन् । त्यसैलाई निरन्तरता दिँदै आफूहरुले स्वागत कार्यक्रम राखेको कार्यक्रम संयोजक गैरआवासीय नेपाली संघ मलेसियाका पूर्वअध्यक्ष विनोद थापाले बताए ।
नेपाली दूतावाससँगै रहेको भवनको सभाहलमा थापाको संयोजकत्वमा भएको कार्यक्रममा यहाँ क्रियाशील विभिन्न सामाजिक संस्थाका अतिरिक्त नेपाली राजनीतिक दल निकट संघसंस्था, समाजसेवीलागयतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सबै राजनीतिक दलका भ्रातृ संगठनका प्रतिनिधि र केही व्यावसायीहरुले स्वागत मन्तव्य राखेका थिए । संचारकर्मीहरुको प्रतिनिधित्व गर्दै मलाया खबरका संचारकर्मी घनश्याम चौधरीले दूतावासबाट दिइँदै आएका सेवाहरूलाई थप व्यवस्थित र मर्यादित बनाउनुपर्ने, सूचनाको हकलाई थप प्रभावकारी बन(ाउनुपर्ने र दलगत निकटता देखाउन नहुने सुझाव राखेका थिए ।
व्यवसायी खगेन्द्र न्यौपानेले नेपाली कामदारको चौबिस घन्टे बीमा हुनुपर्ने, श्रम स्वीकृति नवीकरणको प्रावधान सरलीकरण गरी मलेसियासँगको श्रम सम्झौतामा पुनरावलोकन जरुरी रहेको बताए ।
कार्यक्रममा नेपाली दूतावासका नियोग उपप्रमुख अर्थात् डिसिएम मुद्दिता बज्राचार्य, प्रथम सचिव बलिराम धामीसहित दूतावासका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।