काठमाडौंः उत्तरी भारतमा मङ्गलबार धार्मिक जमघटका क्रममा काठको प्लेटफर्म भत्किँदा कम्तीमा पाँच भक्तजनको मृत्यु भएको र ४० जना घाइते भएको एक अधिकारीले बताएका छन् ।
यो घटना राजधानी नयाँदिल्लीको उत्तरमा रहेको बागपत जिल्लामा भएको हो । त्यहाँ जहाँ जैन धर्मका सयौँ भक्तजन मिठाई चढाउन एक मन्दिरमा भेला भएका थिए । ‘एउटा काठको संरचना भत्किँदा पाँच जनाको मृत्यु भएको छ’, जिल्ला प्रशासक अस्मिता लालले भने, ‘अन्य ४० जना घाइते भएका छन्, तीमध्ये २० जनालाई प्राथमिक उपचारपछि घर पठाइएको छ ।’
जैन देवता आदिनाथको मोक्षको स्मरणमा हरेक वर्ष यस पर्वको अवसरमा यो प्लेटफर्म निर्माण गरिने एनडिटिभी समाचार नेटवर्कले जनाएको छ । ‘पुजारीहरू लड्डु (मिठाई) चढाउन गएका थिए र प्लेटफर्म त्यसमाथि रहेका सयौँ भक्तजनसहित भत्कियो’, भक्तजनमध्ये एक राकेश जैनले प्रसारणकर्तालाई भने ।
भीड व्यवस्थापन र सुरक्षा कमजोरीका कारण प्रमुख धार्मिक पर्वहरूको समयमा भारतका पूजास्थलहरूमा घातक दुर्घटनाहरू सामान्य छन् । गत वर्ष उत्तर प्रदेश राज्यमा एक धार्मिक प्रवचनको अन्त्यमा भएको भागदौडमा १२१ जनाको मृत्यु भएको थियो । अर्को घटनामा सन् २०१६ मा दक्षिणी केरल राज्यको एक मन्दिरमा हिन्दू नयाँ वर्षको अवसरमा प्रतिबन्धित आतसबाजी प्रदर्शनका कारण भएको विशाल विस्फोटमा ११२ जनाको मृत्यु भएको थियो ।
मङ्गलबारको दुर्घटना नजिकैको सहर प्रयागराजमा आयोजित प्रार्थना र अनुष्ठान स्नानको हिन्दू पर्व कुम्भ मेलामा लाखौँ भक्तजन सहभागी भइरहेका बेला भएको हो । जैन धर्म भारतको एक प्राचीन धर्म हो । यो धर्मलाई भारतको एक अर्ब २५ करोड जनसङ्ख्याको एक प्रतिशतभन्दा कम मानिसले मान्छन् । यस धर्मले अहिंसा, कडा शाकाहारिता र सबै जीवजन्तुप्रति प्रेमको शिक्षा दिन्छ ।