२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

विर्तामोड नगरपालिकाले तोक्यो तरकारीको न्यूनतम समर्थन मूल्य

Nada
२०८१ माघ १५ गते १४:१८
Shares
विर्तामोड नगरपालिकाले तोक्यो तरकारीको न्यूनतम समर्थन मूल्य

झापाः विर्तामोड नगरपालिकाले स्थानीय क्षेत्रमा उत्पादित १६ प्रकारका तरकारीको न्यूनतम समर्थन मूल्य कायम गरेको छ । नगरपालिका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाका अनुसार यसलाई कार्यान्वयन गराउन तीन दिनअघि कार्यपालिकाको बैठकले न्यूनतम समर्थन मूल्य अनुदान भुक्तानी कार्यविधि २०८१ समेत पारित गरेको छ । 

ncell

नगर क्षेत्रका किसानले उत्पादन गरेको तरकारी बिक्रीलाई सहज बनाउने उद्देश्यले समर्थन मूल्य कायम गरिएको उनले बताए । पालिकाले काउलीको न्यूनतम समर्थन मूल्य प्रतिकिलो रु २६, बन्दागोवी रु २४, ब्रोकाउली रु ३५, खुर्सानी रु ५४, घिरौँला रु २६, करेला रु ३२, भन्टा रु २६, सिमी रु ४६, काँक्रा रु २५, भिन्डी रु ३६, फर्सी रु ३१, स्क्वास फर्सी रु २५, भेँडे खुर्सानी रु ५१, बोडी रु ३०, लौका रु २७ र टमाटरको रु ३० कामय गरेको उनले जानकारी दिए ।  

उनले बजारमूल्य भन्दा थोरै सस्तो मूल्यमा यहाँ उत्पादित तरकारी बिक्री गरिने बताए । कहिलेकाहीँ बजारमा तरकारीको मूल्यमा उतारचढाव हुँदा किसानलाई मर्का नपरोस् भन्ने उद्देश्यले अनुदान भुक्तानी कार्यविधि नै पारित गरेको उनले बताए । ‘किसानलाई मर्का नपरोस् भन्ने हाम्रो उद्देश्य हो’, उनले भने, ‘तोकिएको मूल्यभन्दा कम मूल्यमा यी तरकारी बिक्री भएमा सो मूल्य बराबर किसानले पाउनेगरी अनुदानबाट उपलब्ध गराउँछौँ, यसो हुँदा किसानलाई घाटा हुँदैन ।’ यसै वर्षबाट तरकारी बिक्रीमा अनुदान दिनका लागि पालिकाले रु १० लाख बजेट छुट्याएको छ । 

नगरपालिकाले किसानलाई तरकारीखेतीमा प्रोत्साहन गर्नका लागि एक सय १७ किसान समूह नै बनाएको छ । त्यसमध्ये एउटा मूल कृषक समूह छ । समूहमा उत्पादन गरेको तरकारीलाई बिक्री केन्द्रमार्फत बिक्री गरिँदै आएको उपप्रमुख सङ्ग्रौलाले बताए । हाल विर्तामोडका छ वडामा तरकारी बिक्री केन्द्र राखिएको छ ।

उनले विर्तामोडमा उत्पादित तरकारीलगायत भण्डार गर्नका लागि विर्तामोड–७ को वडा कार्यालय नजिकै रु ९० लाखभन्दा बढीको लागतमा ७० टन क्षमताको चिस्यान केन्द्र निर्माण गरिएको बताए। चिस्यान केन्द्र सञ्चालनमा आएपछि यहाँका किसानलाई ठूलो राहत पुग्ने उनको भनाइ छ । 

ताजा खबर

सम्बन्धित खबर