सर्लाही : नेकपा माओवादी केन्द्र सर्लाहीले आज पूर्वपश्चिम राजमार्ग अन्तर्गत बागमती नगरपालिकाको पुतलीचोकमा दुई घण्टाका लागि चक्काजाम गरेको छ ।
बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तानलगायतलाई झुटा वन मुद्दा दायर गरेर फसाउने षड्यन्त्र भएको आरोप लगाउँदै माओवादी केन्द्र सर्लाही अहिले आन्दोलित छ । चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत सो पार्टीले आज दुई घण्टा चक्काजाम गरेको हो । बन्द कार्यक्रममा पार्टीका जिल्ला नेता, कार्यकर्तालगायत ठूलो संख्यामा समर्थकको उपस्थिति रहेको छ ।
यसअघि आइतबार डिभिजन वन कार्यालय लालबन्दीमा धर्ना कार्यक्रम र सोमबार जिल्लाको मुख्य ठाउँहरुमा मशाल जुलुस प्रदर्शन गरेको थियो । आफ्ना पार्टीबाट निर्वाचित बागमतीका नगरप्रमुख, उपप्रमुखलगायतमाथि वन मुद्दा दायर गर्न लागिएपछि आन्दोलित माओवादीले आन्दोलनको कार्यक्रमअन्तर्गत बुधबार अनिश्चितकालीन चक्काजाम गर्ने कार्यक्रम तय गरेको सर्लाही माओवादीले जनाएको छ ।
संघीय तथा प्रदेशको वन मन्त्रालयले बागमतीमा निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) र आसपासको क्षेत्रमा बसेको बस्ती सागरमाथ वन विकास परियोजनाको वन क्षेत्रभित्र पर्ने/नपर्ने भनी अनुसन्धान गर्न डिभिजन वन कार्यालयलाई पत्र पठाएको छ । मन्त्रालयबाट पत्र प्राप्त भएपछि वन कार्यालयले अनुसन्धान अधिकृत तोकेर पोखरी निर्माण भएको स्थल तथा आसपासको बस्ती वन क्षेत्रभित्र पर्ने/नपर्ने वा संरचना निर्माणका क्रममा स्वीकृत लिए/नलिएको अनुसन्धान सुरु गरेको छ ।