रौतहट : रौतहट फतुवा विजयपुर नगरपालिकामा एच.पी.भी खोप अभियान २०८१ सम्बन्धी पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य शाखा संयोजक रमेश यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पूर्व प्रशासकीय अधिकृत प्रमोद गुप्ताले राष्ट्रिय खोप कार्यक्रमको उद्देश्य, महत्व र प्रभावकारिताको बारेमा जानकारी गराएका थिए ।
उक्त खोप फतुवा विजयपुरमा माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने प्रशिक्षक अनिल यादवले बताए । विद्यार्थीहरुको हकमा कक्षा ६ देखि १० सम्मका सबै छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समुहका छात्राहरुलाई खोप लगाउने लगाइने उनले बताए ।
एच.पी.भी.खोप सेवा विद्यालयमा केन्द्रहरु स्थापना हुने छ । विद्यालयको पहुँच भन्दा बाहिर रहेका छात्राहरूले विद्यालय र स्वास्थ्य संस्थामार्फत सेवा पाउनेछन् ।
खोप अभिमुखीकरण कार्यक्रममा बोल्दै कार्यवाहक मेयर अम्बेया खातुनले खोपको पहुँचमा सबैलाई ल्याउनुपर्ने बताइन् । सरकारले लिएको लक्ष्य पुरा गर्न सबैले आ–आफ्नो तह र तप्काबाट प्रचार–प्रसार गर्न समेत आग्रह गरिन् । अभिमुखीकरण कार्यक्रममा निमित्त प्रशासकीय अधिकृत उपेन्द्र साह, जिल्ला स्वास्थ्य कार्यालयका राजेश कुमार सिंह, चन्द्ररुप चौधरी, अनिल यादव, वडा नं १ देखि ११ नम्बरका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।
नेपालमा वार्षिक दुई हजार नेपाली महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ । एचपीभी खोप लगाउँदा एचपिभीको संक्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।