इटहरी : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारले उल्लेखनीय लगानी गरेपनि शैक्षिक प्रणालीमा अपेक्षित सुधार ल्याउन नसकेको बताएकी छन् । सुनसरीको इटहरीस्थित जनता माध्यमिक विद्यालयको ६८औं स्थापना दिवस तथा अभिभावक भेलाको अवसर पारेर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले शिक्षा क्षेत्रमा लगानीसँगै शैक्षिक गतिविधिलाई सुधारात्मक प्रयासतर्फ लैजान अनेकौँ प्रयासहरू भइरहेपनि अपेक्षित सुधार हुन नसकेको बताइन् । यसका लागि तीनै तहका सरकार गम्भीर बनेर सोच्नुपर्ने उनले उल्लेख गरिन् ।
पूर्वराष्ट्रपति भण्डारीले विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथादेखि नेपालको सबैभन्दा होचो स्थान झापाको केचनाकवलसम्म समेटिएको कोशी प्रदेश प्राकृतिक सुन्दरता,जैविक विविधता तथा विभिन्न जातजातिका उन्नत सांस्कृतिक सम्पदाहरूले भरिपूर्ण रहेको बताउँदै यी स्रोत, साधन र सम्पदाहरूको संरक्षण र प्रयोगबाट स्वदेशी उत्पादनमा वृद्धि, निकासी प्रवद्र्धन तथा रोजगारी सिर्जना गरी राष्ट्रिय पूँजी निर्माण गर्न सकिने धारणा राखिन् ।
उनले स्थापनाको ७ दशक नजिक आइपुग्दा जनता माविले अनेकौँ चुनौतीको सामना गर्दै शिक्षा क्षेत्रमा उल्लेखनीय फड्को मार्दै कोशी प्रदेशकै अब्बल विद्यालय बनेको बताइन् । गुणस्तरीय शिक्षामा सफल देखिएकाले यस विद्यालयलाई जिल्लाकै नमुना विद्यालय घोषणा गरिएको र कोशी सरकारले समेत यसलाई पुरस्कृत गरिसकेको समाचार सुन्दा खुशी लागेको उनले बताइन् ।
उनले उक्त विद्यालयलाई देशकै नमुना विद्यालयका रूपमा स्थापित गर्नका लागि सिंगो टिम लागिपरेको र विभिन्न योजनाहरू सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरिन् ।
पूर्वराष्ट्रपति भण्डारीले विद्यालयको नवनिर्मित १२ कोठे पक्की भवनको पनि उद्घाटन गरेकी छन् । कार्यक्रममा संघीय सरकारकी सांसद तथा पूर्वमहिला तथा बालबालिका मन्त्री भगवती चौधरीले सरकारको शिक्षा क्षेत्रमा गरिएको लगानी खेर नगएको र चाँडै शिक्षा नियमावली ल्याउने तयारी भइरहेको जानकारी दिइन् ।
त्यस्तै, कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले आफूमन्त्री हुनु अघिनै यस विद्यालयको चर्चा सुन्दै आएको र आज प्रत्यक्ष रूपमा सहभागी हुन पाउँदा गर्व लागेको बताए । उनले जनता माविले अन्य विद्यालयहरूको तुलनामा शिक्षा क्षेत्रमा गरेको लगानी र पुर्याएको योगदानबारे खुलेरै चर्चा गरे ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले आफ्नै क्षेत्रको विद्यालय भएकाले गुनगानभन्दा पनि उद्देश्यअनुरूप अघि बढ्न सुझाव दिए । उनले विपन्न वर्गलाई प्राथमिकतामा राखेर शैक्षिक गतिविधि अघि बढाउन आग्रह गरे । शिक्षा क्षेत्रमा गरेको उल्लेखनीय प्रगतिका कारण प्रदेश सरकारबाट यस विद्यालय पुरस्कृत भइसकेकोले आगामी दिनमा कोशी मात्र नभइ देशभरकै नमुना विद्यालय बन्नेमा आफू विश्वस्त रहेको बताए ।
त्यस्तै, इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले आफ्नो क्षेत्रको शिक्षालयलाई अझ सशक्त बनाउन उपमहानगरको सिंगो टिम लागि परेको बताए । अहिलेको शिक्षालाई विगतको शिक्षासँग तुलना गर्न नमिल्ने बताउँदै इटहरीका सबै विद्यालयहरू प्रविधिसँग जोडिएर अघि बढिरहेको उल्लेख गरे । मेयर पौडेलले जनताको आधारभूत आवश्यकताका विषयहरूसँग जोडिएर स्थानीय सरकार लागि परिरहेको पनि बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् कार्यक्रम सभापति काशीनाथ दंगालले विद्यालयको वर्तमान अवस्था, भावी योजना तथा समस्याहरूका बारेमा प्रतिवेदन पेश गरे । कार्यक्रममा विद्यालय स्थापनाका निम्ति विभिन्न समयमा पुर्याएको विशेष योगदानको कदर गर्दै जग्गादाता, अक्षयकोष दाता, कर्मचारी, शिक्षक लगायतलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
त्यस्तै,पत्रकारिताको क्षेत्रबाट समाजमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै गोरखापत्र दैनिकका कोशी प्रदेश प्रमुख सचिन पोख्रेल र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा पूर्वमन्त्री रामकुमार सुब्बा, संविधानसभा सदस्य अनिता परियार, राष्ट्रिय सभा सदस्य इन्दु गौतम, कोशी प्रदेशका पूर्वसभामुख प्रदीप भण्डारी, कोशी प्रदेश सांसद मिना श्रेष्ठ, सपना परियार, इटहरी उपमहानगरकी उपमेयर संगीता चौधरी, ९ नं वडाध्यक्ष जितेन्द्र थापा, ६ नं वडाध्यक्ष दिवस पोख्रेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको बीच–बीचमा अभिभावकहरूलाई मनोरञ्जन दिन विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरूले रमाइलो सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेका थिए ।