२०८१ माघ १७ गते बिहिवार / Jan 30 , 2025 , Thursday
२०८१ माघ १७ गते बिहिवार
Ads

चेम्बर र इजरायलले सूचना प्रविधि क्षेत्रमा सहकार्य गर्ने

hardik ivf
मध्यान्ह
२०८१ माघ १५ गते २१:५९
चेम्बर र इजरायलले सूचना प्रविधि क्षेत्रमा सहकार्य गर्ने

काठमाडौं : नेपाल चेम्बर अफ कमर्स र इजरायलबीच सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीका लागि सहकार्य गर्ने सहमति भएको छ । इजरायलमा शान्ति स्थापना भएसँगै सूचना प्रविधि, कृषि, पर्यटन एवं हस्पिटालिटी लगायतका क्षेत्रमा रोजगारीका लागि सहकार्य गर्ने सहमति भएको हो ।

चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासबीच यसअघि भएका सहकार्यलाई निरन्तरता दिएर नेपालमा थप लगानी विस्तार गर्ने सहमति भएको हो । 

इजरायलको कृषि, सूचना प्रविधि नेपालमा भित्र्याउने बारेमा अध्यक्ष अग्रवालले राजदूत बाससँग आग्रह गरे । सरकारको पढ्दै कमाउँदै कृषि कार्यक्रम, घरेलु कामदारमा इजरायलमा जाने नेपालीलाई निरन्तरता दिन एवं हस्पिटालिटी निर्माण क्षेत्रमा समेत नेपाली कामदारहरूलाई रोजगारी दिन अध्यक्ष अग्रवालले राजदूत बाससँग आग्रह गरे । 

नेपालको जलविद्युत, पर्यटन, होटल लगायतका क्षेत्रमा इजरायलेको लगानीका लागि समेत अध्यक्ष अग्रवालले आग्रह गरे । नेपालमा हालै संशोधन गर्न लागिएका कानूनहरूले लगानीको वातावरण सहज भएकाले नेपाल चेम्बर र इजरायलका व्यवसायीहरूबीच बी टु बी माध्यामबाट लगानीका अवसरहरू खोज्नुपर्ने अध्यक्ष अग्रवालको भनाइ छ । 

चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले इजरायल र नेपालबीच आईटी क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्ने बताए । उनले अन्य देशको तुलनामा नेपालको सूचना प्रविधिजन्य व्यवसायमा जनशक्ति सस्तो र भौगोलिक दृष्टिकोणले उपयुक्त भएको बताए । चेम्बर पदाधिकारीसँगको भेटका क्रममा राजदूत बासले नेपाल जस्तो देशमा सहकार्य गर्न पाउँदा आफू निकै खुसी भएको प्रतिकृया दिए । 

इजरायल सरकार नेपालसँग घरेलु कामदार, कृषिसँगै अन्य क्षेत्रको श्रमिक लैजानका लागि पनि सम्झौता गर्न तयार रहेको बताए । इजरायलको न्यूनतम ज्याला नै १६ सय अमेरिकी डलर रहेकाले त्यसको लाभ नेपालले लिनुपर्ने उनको भनाइ छ । दुवै देशका लगानीकर्ताबीच भेटघाट र छलफलका लागि सहजिकरण गर्ने राजदूत बासले बताए ।

ADVenergy

सम्बन्धित खबर

Advertise