विराटनगर : मोरङ जिल्लास्तरीय वादविवाद प्रतियोगिताको पुरस्कार सेन्ट जोसेफ र सत्यनारायण माध्यमिक विद्यालयले हात पारेको छ । चुडाकवि फाउन्डेसनको आयोजनामा बुढीगंगा गाउँपालिकास्थित स्मृति बोर्डिङ स्कुलमा भएको प्रतियोगितामा पक्षको तर्फबाट सेन्ट जोसेफका रिजन मिश्र र विपक्षमा सत्यनारायण माविका युनिसा गौतम प्रथम भएका छन् । पक्षमा पोखरिया माध्यमिक विद्यालयकी रागिनी न्यौपाने द्वितीय हुँदा विपक्षमा मोरङ पब्लिकका आज्ञा ओली भए । तृतीयमा पुरस्कार पक्षमा एभरेस्ट माविका खिलराज ढकाल र विपक्षमा साजिलाल माविका आरती अधिकारीले प्राप्त गरे ।
पुरस्कृत हुने विद्यार्थीहरू प्रक्ष र विपक्षमा प्रथम द्वितीय र तृतीयले क्रमशः २० हजार, १५ हजार र ११ हजार रुपैयाँ प्राप्त गरे । वादविवाद प्रतियोगितामा उत्कृष्ट पक्ष र विपक्ष दुवै समूहलाई नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । सहभागी हुने सम्पूर्ण विद्यालयहरूलाई विशेष प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा मोरङ जिल्लाका सामुदायिक तथा संस्थागत तर्फका ३४ वटा माध्यमिक विद्यालयहरू सहभागी थिए । प्रतिस्पर्धी विद्यालयहरूबाट प्रत्येक विद्यालयका एक/एक जना छात्र र छात्रा सहभागी थिए । सिस्नु पानी नेपालका सरोज घिमिरे, साहित्यकार तथा लेखक सुविन भट्टराई, शिक्षा क्षेत्रका भेषजा काफ्लेले प्रतिस्पर्धीको निर्णायकको भूमिका निभाएका थिए ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ‘भौतिक पूर्वाधार विकास कि सामाजिक पूर्वाधार विकास’ शीर्षकमा विद्यार्थीहरूले आफ्नो पक्ष र विपक्षमा तर्कहरू प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले युवाहरूलाई देशको विकासमा लगाउन सक्नुपर्नेमा जोड दिइन् । युवाहरूलाई विदेश पलायन हुनबाट रोक्ने खालका कार्यक्रम ल्याउन सके देशले समृद्धि प्राप्त गर्ने उनले बताइन् ।
पूर्व राष्ट्रपति भण्डारीले १५ देखि ६० वर्ष उमेर समूहलाई स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइन् । यो उमेरको जनसंख्यालाई स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्न सक्ने हो भने देशले धेरै फाइदा लिन सकिने उनले बताइन् । देशको विकासका लागि राजनीतिक स्थिरता, दिगो शान्ति र सुशासन अपरिहार्य रहेको उनको भनाइ थियो ।
'मुलुकमा रहेका सम्पूर्ण राजनीतिक दल, पार्टीका नेता कार्यकर्ता र सदस्यहरूले उच्च तहको लोकतान्त्रिक संस्कार र संस्कृति आत्मसात गरी जस्तोसुकै परिस्थितिमा पनि असल अभ्यासबाट विचलित हुनु हुँदैन,' उनले भनिन्, 'यसबाट नै देश र दलहरूको लोकतान्त्रीकरणको प्रक्रियालाई थप टेवा पुग्ने तथा दलहरूको लोकतान्त्रीकरणले कहिले पनि कसैले लोकतन्त्रमाथि चुनौती खडा गर्न सक्दैन ।’
दलका नेता तथा कार्यकर्ताको सैद्धान्तिक, वैचारिक निष्ठा एवम् इमानदारिता र सक्रियतालाई आधार मानेर नै जनताले आवधिक मूल्यांकन गर्ने भएकाले जुनसुकै बहानामा पनि यस कुरामा आँच आउन नदिन उनले आग्रह गरिन् । देशमा समृद्धि हासिल गर्ने साझा विषयमा उच्च स्तरको मतैक्ययता कायम गर्दै देश र जनताको पक्षमा अबिछिन्न अविचलितरूपमा खट्नुपर्ने बताइन् ।
प्रतिष्ठानकी महासचिव रिता न्यौपानेले यसअघि स्मृति बोर्डिङ स्कुलको नेतृत्वमा हुँदै आएको यो प्रतियोगिता यस वर्षदेखि चुडाकवि प्रतिष्ठानले आफ्नो बुबा र आमाको नाममा गरेको जानकारी दिइन् । विगत चार वर्षदेखि हुँदै आएको प्रतियोगितालाई यो वर्ष सबैको अपनत्व हुने गरी प्रतिष्ठानमार्फत गरिएको बताइन् । प्रतिष्ठानले बुढीगंगा गाउँपालिकामा कार्यरत ३८ जना महिला स्वयंसेविकाहरूलाई सम्मान गरेको थियो ।