२०८१ चैत २१ गते बिहिवार / Apr 03 , 2025 , Thursday
२०८१ चैत २१ गते बिहिवार
Ads

कम्युनिस्टभित्र आलोचना वा आत्मालोचना

draupadi film
२०८१ माघ २० गते ०६:०५
कम्युनिस्टभित्र आलोचना वा आत्मालोचना

–नारायण शर्मा

नेपालमा राजनीतिक पार्टी र नेताहरूको आलोचना गर्ने प्रवृत्ति सर्वाधिक बढेको पाइन्छ । यस्तो प्रवृत्ति आपसका विरोधी शक्ति र व्यक्तिहरूमा मात्र होइन, मित्र शक्ति र व्यक्तिहरूमा समेत अत्यधिक नै छ । सामान्यतः राज्य अस्थिर, पार्टी अलमल, नेता अनैतिक र कार्यकर्ता अवसरवादी हुने गरेमा यस प्रकारको आलोचना गर्ने प्रवृत्ति जहाँ पनि बढ्ने गरेको पाइन्छ । यो अवस्थामा पार्टी र आन्दोलन नै विभाजन, विघटन र विसर्जनमा पुग्ने खतरा पनि त्यत्तिकै रहन्छ । सामान्यतयाः सबै प्रकारका आन्दोलनहरू र विशेषतः राजनीतिक आन्दोलन अझ त्यसमा पनि मुख्यतः क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा करिब यही खतरनाक अवस्थामा पुगेको वा पुग्न लागेको अहिलेको हाम्रो अवस्था हो । र, यो अवस्था निकै नै संवेदनशील र गम्भीर अवस्था पनि हो । 

आज नेपाली वामपन्थी आन्दोलन पनि यही अवस्थाबाट गुज्रँदै गएकोले पार्टी र नेताहरूप्रतिको आलोचनाको यो प्रवृत्ति अराजक आलोचना हुँदै अन्धाधुन्ध विरोध र आग्रही आक्रमणको रूपमा विकसित हुँदै छ । नेपालको वर्तमान सन्दर्भमा भन्ने हो भने यस प्रकारको प्रवृत्ति आज सबैभन्दा बढी कम्युनिस्ट पार्टीमा, त्यो पनि १० वर्षे जनयुद्धबाट आएको माओवादी पार्टीमा र अझ मुख्यतः पार्टी नेताहरूमा नै सर्वाधिक देखा परेको छ । यो प्रवृत्ति यसरी देखापर्नुमा मुख्यतः पार्टीका मुख्य नेता वा नेताहरूद्वारा पार्टी र आन्दोलनका घोषित विचार–आचार, आस्था–आदर्श, लक्ष–उद्देश्य, नीति–विधि, मूल्य–मान्यता र प्रतिबद्धता–कटिबद्धताको अवलम्बन र कार्यान्वयनमा भए–गरिएका बेइमानी–बदमासी नै प्रधान कारण रहेको छ । यसै कारणले गर्दा नै आज एकातिर यसरी देश, जनता, पार्टी र आन्दोलनले धोका, विश्वासघात र पराजय भोग्नुपरेको विडम्बना छ भने अर्कातिर यो भोगाइको व्यापकताका कारण पार्टी, नेता र आन्दोलनप्रति व्यापक अविश्वासको अवस्था उत्पन्न भएको छ । यसरी आन्दोलनभित्र विभाजन, विघटन र विसर्जन हुन थालेको छ । 

कम्युनिस्ट पार्टी समर्थक जनता, कार्यकर्ता र नेताहरूमा नै आइरहेको यस प्रकारको निराशा, अकर्मण्यता, पलायन, अविश्वास, आशंका र किंकर्तव्यविमूढता आजको हाम्रो स्थितिमा अभिव्यक्त विभिन्न प्रकारका आलोचनाहरूको जानकारी र पहिचान गर्नु र ती आलोचना हुनु र गरिनुका पछाडिका कारण÷आधार र पृष्ठभूमिको बारेमा स्पष्ट हुन सक्नुपर्छ । कारण नभई कार्य हुँदैन, तसर्थ कारणकै अन्त भए कार्य स्वतः अन्त हुन्छ भन्ने मान्यताअनुसार पार्टी र आन्दोलनको यस प्रकारको अस्तव्यस्त र ध्वस्तको स्थितिलाई अन्त गर्न यो स्थितिलाई बदलेर क्रान्तिकारी, सर्वहारावादी शुद्धीकरण र पुनर्गठन गर्न सक्नुपर्छ ।

एउटा सच्चा कम्युनिस्ट पार्टीभित्र आफू सम्बन्धित रहेको माथिल्लो कमिटीमा कमिटीका सदस्यहरू र तीभन्दा माथिका सम्पूर्ण नेताहरूका कमी–कमजोरी र बेइमानी–बदमासीलाई घटाउने र हटाउने उद्देश्यले आलोचना गर्ने अनिवार्य नियम वा पद्धति नै हुन्छ । यसैगरी आफ्नो उपल्लो कमिटीमा नै आफूले वा आफूबाट जान वा अन्जान रूपमा गरे–भएका कमी–कमजोरी आदिलाई पहिचान र स्वीकार गरी सच्चाउने विधि–पद्धति हुन्छ, त्यो नै आत्मालोचना हो । छोटकरीमा भन्नुपर्दा एकले अर्कालाई सच्चाएर रूपान्तरण गर्ने उद्देश्यले तथ्यमा आधारित भएर इम(ानदारीपूर्वक अर्काका बारेमा गरिने टिप्पणी आलोचना हो भने आफूले आफैप्रति सच्चा, निर्मम र खुला भएर आफैलाई सच्चाउने र रूपान्तरण गर्ने उद्देश्यले गरिने टिप्पणी आत्मालोचना हो । यसो हुनु वा गरिनुको अर्थ वा उद्देश्य हो आलोचना वा आत्मालोचनाले कम्युनिस्ट पार्टी, नेता, कार्यकर्ता र आन्दोलनलाई शुद्धिकृत, एकीकृत, सुदृढ र सबल पार्ने । त्यसैले आलोचना तथ्यमा आधारित, पूर्वाग्रह र प्रतिशोधरहित, इम(ानदारीपूर्ण, रचनात्मक, वस्तुनिष्ठ, विधिसम्मत, सम्बन्धित व्यक्तिको अगाडि वा सम्बन्धित स्थानमा विचार र राजनीतिलाई केन्द्रमा राखेर अर्थपूर्ण सुधारको उद्देश्यले गरिनुपर्छ भन्ने मालेमावादी मान्यता रहिआएको छ ।

यस्तो गरे वा भएमा निश्चय नै कसैले जान वा अन्जानमा गरे–भएका गल्ती कमजोरीलाई सच्चाउन राम्रो मद्दत पुग्छ । तर, त्यसरी हरेक बैठकपिच्छे आलोचना र आत्मालोचना नभए वा नगरिएमा त्यो आलोचनाले निकास पाउँदैन । सँगै, आलोचना नभएपछि गल्ती गर्नेहरूमा सच्चिने प्रक्रिया नै प्रारम्भ हुँदैन । बरु गल्तीको मात्रा र गुण दुवैमा गुणात्मक रूपले वृद्धि हुँदै जान्छ । फलस्वरूप आलोचनाले विस्फोटक र अराजक रूप लिन्छ जसले पार्टी र आन्दोलनलाई नै ध्वस्त पार्ने खतरा उत्पन्न गर्दछ । तसर्थ, आलोचना र आत्मालोचनाको प्रयोगमा नियमितता हुनुपर्छ र यसको प्रयोग गर्दा सचेतता, विवेक र नियम पनि पुराउनु पर्दछ । 

आलोचना र आत्मालोचना एक यस्तो हतियार हो जसलाई ठिक समयमा, ठिक तरिकाले, ठिक ठाउँमा र ठिक विषयमा, ठिक व्यक्ति वा प्रवृत्ति लक्षित गरेर चलाएमा सम्बन्धित पक्षका कमी–कमजोरी वा खराबी–बदमासीहरूलाई ध्वस्त गरेर नेता, पार्टी र आन्दोलनलाई बचाउन, बढाउन, विजयी बनाउन र विस्तार गर्न सकिन्छ । तर, यसको विपरीत हुन गए पार्टी र आन्दोलन नै ध्वस्त हुने खतरा समेत त्यत्तिकै बढी हुन्छ । तसर्थ, आज पार्टी र समाजमा व्याप्त नेता, पार्टी र आन्दोलनका बारेमा भए–गरेका विभिन्न आलोचनाहरूको विश्लेषण गर्न, तिनका पछाडिका कारणहरू पत्ता लगाउन र तिनको समाधान गर्न खास गरी क्रान्तिकारी पृष्ठभूमि र उद्देश्य भएका पार्टी र नेताहरूले विशेष जिम्मेवारी बोध गरेर उच्च सतर्कता र आवश्यक गम्भीरताका साथ कार्यान्वयन गर्न–गराउन अत्यावश्यक देखिएको छ । 

ADV

सम्बन्धित खबर

Advertise