–ईश्वर बुढाथोकी
सपना देख्न नसक्ने र इतिहासलाई मात्र हेर्नेले क्रान्ति गर्न सक्दैन । संसार जित्नका लागि हो । इतिहास जहिले पनि वीरहरूले नै निर्माण गर्छन्, कायरहरूले होइन । अन्तर्राष्ट्रियरूपमा पुँजीवादको विकल्पमा कम्युनिस्ट समाजवाद उत्कृष्ट छ भनी पुष्टि गर्नु ठूलो उपलब्धि र सकारात्मक पाटो हो । नेपालको सन्दर्भमा कम्युनिस्ट जनमत विस्तार गर्नु उपलब्धि हो । अबको कम्युनिस्ट स्कुलिङको व्यावहारिक पक्ष भनेको लक्ष्य प्राप्त गर्न नसक्नुको सीमा र अपूर्णतालाई सम्बोधन गर्नु हो । अबको सबैभन्दा केन्द्रीय कार्यभार भनेको राष्ट्रिय पुँजीको विकास र न्यायोचित वितरण हुन सक्नुपर्छ । अबको क्रान्ति उत्पादन बृद्धि, न्यायपूर्ण ज्याला र उत्पादनका साधनहरूमा स्वामित्व ग्रहण गर्ने विषयमा केन्द्रित हुनुपर्छ ।
समाजवादको निर्माणको बाटो लामो, कष्टकर र दुरूह प्रक्रिया हो । समाजवादले उत्पादनको साधन र उत्पादनको सम्बन्ध मात्र बदल्ने होइन, यसले त मानव स्वभाव नै बदल्ने हो । आजको समाजमा व्याप्त लोभी, ढोंगी, आत्मकेन्द्रित व्यक्तिवादी, महत्वाकांक्षी तथा असहयोगी आदि जस्ता स्वभावहरूलाई बदल्ने हो । कम्युनिस्टहरू कोरा आदर्श र सुधारवादी बाटोबाट समाजवादमा पुग्ने विश्वास गर्दैनन् । सर्वहारा वर्गको नेतृत्वमा क्रान्तिकारी आन्दोलनको माध्यमबाट नै समाज बदल्न सकिन्छ । जबसम्म पँुजीवादी व्यवस्था कायम रहन्छ तबसम्म युद्धका सम्भावनाहरू विद्यमान रहन्छन् ।
समाजवाद कम्युनिस्ट संरचनाको पहिलो अवधि हो, जहाँ उत्पादनका साधनहरूमाथि सार्वजनिक स्वामित्व हुन्छ । समाजवाद समाजका समानधिकार वैज्ञानिक समाजवाद प्राप्त सदस्यहरूको शोषणमुक्त श्रममा आधारित हुन्छ । समाजवादले शोषण, उत्पीडन, आर्थिक र सामाजिक अन्याय विरूद्धको संघर्षमा सबैको एकता अपेक्षा गर्दछ । वास्तवमा देशको सारा सम्पत्ति र उत्पादनका साधनहरूमा कसैको निजी पेवा हुन नदिई सबैको साझा बनाउने र सबैले मिलेर मिहिनेत गर्ने व्यवस्थाको सिद्धान्त नै समाजवाद हो । समाजवादमा बाँडीचुँडी खाने र सबैले सबैको दुःखसुख हेर्ने हुन्छ ।
समाजवादबारे जनमानसमा रहेको भ्रमलाई चिर्न आवश्यक छ । समाजवादबारे राजनीतिक पार्टीहरूका आ–आफ्नै परिभाषा र व्याख्या छन् । नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवाद, एमालेले जनताको बहुदलीय जनवाद, माओवादीले एक्काइसौं शताब्दीको जनवाद, क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले वैज्ञानिक समाजवादको विचारधारा बोकेका छन् । ठूला–ठूला पुँजीपतिहरूका हातमा देशका सारा उद्योग, व्यापार, खेतीपातीको एकलौटी अधिकार हुन नदिने र पुँजीको एउटा निश्चित हदबन्दी गरी उद्योग, व्यापार र खेतीपातीमा होड गर्न दिने विचारधारालाई प्रजातान्त्रिक समाजवाद भनिन्छ । यो विचारधारा कम्युनिस्ट सिद्धान्तका विरूद्ध उठेको हो । यस विचारधाराले पुँजीवादलाई खत्तम गर्ने नभई त्यसको एउटा हदबन्दी मात्र गर्ने भएकोले यसलाई निम्न पुँजीवादी समाजवाद पनि भनिन्छ । नेपाली कांग्रेस समाजमा वर्गभेद मेटाउन चाहन्न र माक्र्सवादले भने जस्तो समाज बन्न सक्दैन भन्ने कुरामा विश्वास गर्दछ । कम्युनिस्टहरूले स्थापना गर्ने समाजवादमा सबै वर्गले पार्टी खोल्न नपाइने समाजवाद मात्र हुन्छ, त्यहाँ प्रजातन्त्र हुँदैन भन्दछन् कांग्रेसहरूले । वास्तवमा उनीहरू समाजलाई अलि खुकुलो पारी पुँजीवादी व्यवस्थालाई संसारमा कायम राख्न चाहन्छन् ।
जनताको बहुदलीय जनवाद, साम्राज्यवाद विरोधी विभिन्न राजनीतिक शक्तिहरूले आ–आफ्नो राजनीतिक आस्था संगठित गर्न पाउने हक अधिकारको प्रत्याभूति बहुदलीय जनवादमा हुन्छ । बहुदलीय जनवादको कार्यक्रमले मध्यम वर्गीय तप्का र सुधारवादी राजनीतिक धारको प्रतिनिधित्व गर्दछ । यसले समग्र आन्दोलनलाई दिग्भ्रमित पार्ने र आन्दोलनलाई संशोधनवादी दिशातर्पm उन्मुख गर्ने आधार प्रदान गर्दछ । बहुदलीय जनवादको सोच र विचार मूल सर्वहारावादी विचारधारात्मक प्रश्नलाई परित्याग गरेर आएकोले उल्टो दिशामा चल्ने गाडी जस्तो हुन पुगेको छ, जसबाट नवधनाढ्य नोकरशाह वर्गको लागि राजनीतिक ‘स्पेस’ बनाउने काम भएको छ । समग्र हित त्याग गरेर अंशलाई स्याहार्ने, वर्गीय पक्षधरता र वैज्ञानिक सर्वहारावादी विचारलाई त्यागेर स्वयंलाई पुँजीपति वर्गमा बदल्ने आधार बहुदलीय जनवादको विचारले दिएको छ । यसले सार्वभौम सर्वहारावादी सिद्धान्त र संघर्षको बाटो परित्याग गरेकोले यो अपूर्ण बनेको छ । यसमा वर्गीय अधिनायकत्वको प्रश्न छैन, निवर्गीय जनवादको कुरा छ ।
यसमा राजकीय सम्पदाहरूमा समाजवादी स्वामित्वको प्रभुत्व कायम गर्ने र पुँजीवादीहरू तथा ठूल्ठूला वित्तीय निकायहरूको हस्तक्षेपलाई नियन्त्रण गर्ने कुरा रहेको छ । जनताका वर्गीय शत्रुहरूप्रति घृणाभाव र वर्गीय मित्रहरूप्रति विचारसहितको भावनात्मक एकता, एक्काइसौं शताब्दीको जनवादमा रहेको छ । क्रान्तिकारी पार्टीको निर्माण र त्यसको सक्रिय पहलकदमी, ठूला–ठूला प्रतिक्रान्तिहरूलाई पनि रोक्न सक्ने र देशको सार्वभौमिकता र जनताको सुरक्षामा जस्तोसुकै व्यावधानहरू आए पनि प्रतिरोध गर्न सक्ने क्रान्तिकारी जनसेनाको निर्माण गर्ने प्रावधान छ ।
आम जनतालाई समेत सशक्त रूपमा मिलिशियाकरण गर्ने, राजकीय सत्तामा जनताका वास्तविक जनप्रतिनिधिहरू निर्वाचित हुने निकाय निर्माण गर्ने र जनताद्वारा प्रत्यक्ष राजकीय सत्ताको उपभोग गर्न पाउने प्रणालीलाई संस्थागत गर्ने, राजकीय सत्तामा पुगेका जनप्रतिनिधिहरूले जनादेश अनुरूप काम गर्न नसकेमा वा कुनै पनि गल्ती कमजोरी गरेमा उनीहरूलाई तुरून्त फिर्ता बोलाउने वा नियन्त्रण गर्न सक्ने संरचनालाई राज्यमा संस्थागत गर्ने कुरा एक्काइसौं शताब्दीको जनवादमा रहेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले वैज्ञानिक समाजवादको अवधारणालाई बहस तथा छलफलको विषय बनाएका छन् । माक्र्सले समाजवादमा ‘हरेकलाई उसको आवश्यकता र हरेकबाट उसको योग्यताअनुसार’ भनेका थिए । उनले श्रमअनुसारको मूल्य पुरस्कृत गर्ने भनेका हुन् । माक्र्सले सामाजिक गुणात्मक रूपान्तरण भनेका हुन् । आर्थिक समृद्धि बाँड्ने समाजवाद हो, गरिबी बाँड्ने होइन । वैज्ञानिक समाजवाद राजनीतिक जनतन्त्रको उच्चतम रूप हो । यो जनताको समाजवादी स्वशासन र सच्चा राजनीतिक अधिकार र मुक्ति हो । यसले अधिकार र दायित्वको एकतालाई सुनिश्चित गर्दछ ।
वैज्ञानिक समाजवादका आधारभूत विशेषताहरूमा, (क) समानरूपले राष्ट्रिय सम्पत्तिको वितरण, (ख) सामाजिक न्यायको आधारमा सबैलाई जीवन निर्वाह गर्न पाउने अधिकार प्रदान गरी उत्पादनका साधनहरूमा निजी स्वामित्वको अन्त्य, त्यसको स्थानमा प्रमुख उद्योग, सेवाहरूमा सार्वजनिक नियन्त्रणको प्रक्रिया स्थापना, (ग) उत्पादन कार्यमा व्यक्तिगत लाभका दृष्टिले नभई सामाजिक आवश्यकता र कल्याणका दृष्टिले सञ्चालन, (घ) उन्नति, प्रगतिका लागि सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई समान अवसर प्रदान, (ङ) सबैलाई योग्यताअनुसार काम दिने र आवश्यकताअनुसार खर्च गर्ने परिपाटी र अन्त्यमा, समाजवादको सपना देख्नु राम्रो संकेत हो ।