नेपालकै पहिलो र्याफ्टिङ स्कुल सिन्धुपाल्चोकको बलेफी संचालनमा आउँदै छ । नेपालमा साहसिक पर्यटनको प्रवर्द्धन, व्यावसायिक गाइड उत्पादन तथा जल खेलकुद प्रशिक्षण दिने उद्देश्यले निमार्ण गरिएको हो । र्याफ्टिङ स्कुल एसियाकै पहिलो पूर्ण रूपमा र्याफ्टिङ तथा जल खेलकुद प्रशिक्षण केन्द्रको रूपमा स्थापना भएको हो । र्याफ्टिङ स्कुलको आवश्यकता र नेपालमा साहसिक जल यात्राको बिस्तारमा के गर्न सकिन्छ भनेर पर्यटन व्यवसायी तथा र्याफ्टिङ स्कुल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठसँग मध्यान्हका छबि सापकोटाले गरेको कुराकानी ।
नेपालकै पहिलो र्याफ्टिङ स्कुल निर्माणको उद्देश्य के हो ?
र्याफ्टिङ स्कुलमा नेपालको जल पर्यटन उद्योगलाई प्रवर्द्धन गर्ने उद्देश्यका लागि संचालन हुँदै छ । र्याफ्टिङ स्कुलमा व्यावसायिक प्रशिक्षण दिने उद्देश्यका साथ खोलिएको हो । स्कुलमा जल उद्धार तथा प्राथमिक उपचार प्रशिक्षण, कायाकिङ, क्यानोइङ, तथा अन्य जल खेलकुदको प्रशिक्षणलगायत तालिमको व्यवस्था हुने छ ।
र्याफ्टिङ स्कुल स्थापनाले स्वदेशमै रोजगारीका अवसर सृजना गर्न सहयोग पुग्ने छ । र्याफ्टिङ स्कुलको मुख्य उद्देश्य नेपालको र्याफ्टिङ उद्योगलाई प्रवर्द्धन गर्नु र आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न र्याफ्टिङ स्कुलको परिकल्पना गरिएको हो ।
नेपालमा र्याफ्टिङ व्यवसायको संभावना कस्तो छ ?
नेपालको र्याफ्टिङ व्यवसाय विश्वकै उत्कृष्टमा पर्छ । सिन्धुपाल्चोकको भोटेकोशीको र्याफ्टिङ विश्वकै ७ औं स्थानमा पर्छ । यस्तै, कर्णाली, सुनकोशी, कालीगण्डकीलगायतका ठूला नदी अत्यधिक मात्रामा उच्च र्याङ्किङ भएको नदी नेपालमै पर्छ । १२ महिनै र्याफ्टिङ गर्न सकिने नदी नेपालमै छन् । जल पर्यटनका लागि नेपाललाई उत्कृष्ट गन्तव्य बनाउन सकिन्छ । नेपाल अत्यधिक संभावना भएको क्षेत्र समेत हो ।
तर, राज्यले अझै बुझ्न नसकेको देखिन्छ । राज्यले यसलाई अलि अवहेलना गरेको जस्तो व्यवसायीले अनुभव गरेका छन् । र्याफ्टिङ गर्ने अनुमति दिएको खेलामा नदी उत्खनन गर्नसमेत दिइन्छ र हाइड्रोेका आयोजना बनाउनसमेत एउटै खोलामा दिँदा र्याफ्टिङ व्यवसाय नै धराशायी बन्ने अवस्था छ ।
नेपालमा अहिलेसम्म १६ वटा नदीले मात्र र्याफ्टिङका लागि अनुमति पाएका छन् । ६ हजारभन्दा नदी भएको नेपालमा १६ वटा नदीमा मात्र अनुमति दिइएको छ । १६ वटा र्याफ्टिङ अनुमति भएको स्थानलाई समेत अझै संरक्षणको अभाव छ । तर, र्याफ्टिङलाई संरक्षण गर्नका पहल छैन । व्यवसायीको भरमा र्याफ्टिङ व्यवसाय चलिरहेको छ । नेपालमा उच्च संभावना भएको जल पर्यटन भए पनि त्यसबाट देशले लाभ लिन सकिरहेको छैन । अब र्याफ्टिङको र पर्यटकको संभावना भनेर छुट्याउन आवश्यक छ ।
नेपाल उत्कृष्ट गन्तव्य भएकाले १६ होइन १६ सय वटा स्थान तोक्नुपर्छ । जल पर्यटनलाई प्रवर्द्धन गर्ने हो भने पर्यटक नेपाल भित्र्याउन धेरै मिहिनेत गर्नै पर्दैन । सानो लगानीबाट धेरै आम्दानी र पर्यटकलाई समेत रमाइलो बनाउने क्षेत्र नै र्याफ्टिङ हो ।
त्यसले र्याफ्टिङ क्षेत्रको विकासका लागि राज्यले समयमै ध्यान दिन आवश्यक छ । र्याफ्टिङ क्षेत्रलाई संरक्षण गर्न सकियो भने देशकै कायापलट हुन सक्छ ।
नेपालमा र्याफ्टिङको अवस्था कस्तो छ ?
नेपालमा र्याफ्टिङको व्यावसायिक यात्रा ५० वर्ष पुगेको छ । माउन्टेनिङ र र्याफ्टिङ एकै पटक नेपालमा भित्रिएको हो तर माउन्टेनिङभन्दा र्याफ्टिङ निकै पछाडि पारिएको छ ।
र्याफ्टिङका लागि भर्जिन रिभर भएका कारण नेपाल र्याफ्टिङका लागि प्रमुख गन्तव्य नै हो । र्याफ्टिङका लागि दक्ष जनशक्ति पलायन भइरहेका छन् । नेपालमा जति उत्पादन भए पनि अभाव नै छ । त्यसैले अब स्कुलको रूपमै विकास गर्नुपर्ने आवशयकता देखिएको हो ।
पछिल्लो समय विश्वभर नै र्याफ्टिङका लागि जनशक्तिको मागसमेत बढ्दै गएको छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)सँग सहकार्य गरेर रिभर गाइड लाइसेन्स दिने गरेका छौं । नेपालमा र्याफ्टिङका लागि पूर्वाधार नभएका कारण नाथमसँग सहकार्य गरेका हौं । अब र्याफ्टिङ स्कुलबाट काम गर्न सक्छौ । स्कुलको ९८ प्रतिशत काम सकिएको छ । मुख्य लक्ष्य नै रिभर गाइड उत्पादन गर्ने हो । अहिले पनि विश्वभर हिमालय रिभर गाइड भने पनि प्रख्यात नै छ । अहिले रिभर गाइडको रूपमा जापान, अमेरिका, युरोपदेखि खाडी मुलुकसम्म नेपाली रिभर गाइड पुगेका छन् । विश्वमै यो व्यवसायको माग छ । नेपालमै पनि रिभर गाइडको माग बढ्दो छ । नेपालमा र्याफ्टिङ १२ औं महिना नै चल्ने भएकाले जनशक्तिको आवश्यकता बढ्दो छ ।
अन्त्यमा, र्याफ्टिङ व्यवसायी अहिले कसरी संचालन भइरहेको छ ?
कोभिडको कारण सबैभन्दा धेरै क्षति भएको क्षेत्र नै पर्यटन क्षेत्र हो । र्याफ्टिङ व्यवसायहरू पलायन भइसकेका छन् । तर, गत वर्षदेखि फेरि लयमा आउन थालेको छ । अब राज्यले भएको व्यवसायलाई कसरी प्रवर्द्धन गर्ने, कसरी स्थायित्व दिने, कस्ता नीति निमार्ण गर्ने भन्नेतर्फ लाग्नुपर्छ ।
जल पर्यटन नेपालको पर्यटन क्षेत्रमा मेरुदण्ड बन्न सक्छ । नेपालको रोजगारी सृजना, दक्ष जनशक्ति र अर्थतन्त्रमै ठूलो सहयोग र्याफ्टिङले गर्ने देखिन्छ । अहिले र्याफ्टिङ व्यवसायी आशावादी बन्दै गएका छन् किनभने सन् २०१९ अघिकै अवस्थामा नेपालमा पर्यटक आएका छन् ।
यस्तै, जलवायु परिवर्तनले विश्वभर तापक्रम बढ्दा र्याफ्टिङ व्यवसाय फस्टाउने देखिन्छ । त्यसैले नेपालले र्याफ्टिङलाई व्यवस्थित गर्न सक्ने हो भने पर्यटनबाट समृद्धिमा फड्को मार्न सकिन्छ । र्याफ्टिङ व्यवसायी लगानी गर्न तयार छन् तर सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्छ ।