-राजीव न्यौपाने
लाखौं नेपाली नागरिक नेपालबाहिर छन् । सरकारी तथ्यांकनुसार खाडी मुलुकमा मात्रै १८ देखि २० लाख र भारत, मलेसिया, जापान, दक्षिण कोरिया, युरोप, अमेरिकालगायतका देशमा समेत गरी करिब ४० देखि ४५ लाख नेपाली विदेशमा छन् । उनीहरु रहेका देशमा पनि कोभिड–१९ को जोखिम उच्च देखिएको छ ।
विदेशमा भएका नेपाली महामारीजन्य विभिन्न कारणले नेपाल फर्कन चाहन्छन् । यसै सिलसिलामा लाखौं नेपालीले विदेशस्थित नेपाली दूतावासमा फर्कने व्यवस्था मिलाउन अनुरोध गरिरहेका छन् । नेपाल सरकारले पनि नेपाल आउन चाहनेहरुलाई क्रमशः स्वदेश ल्याउन थालिएको छ । आशा गरौँ, विनाभेदभाव सरकारले नेपाल आउन चाहने सबै नेपालीलाई स्वदेश ल्याउनेछ ।
देशमा आर्थिक गतिविधि शून्य भयो भने राजनीतिक परिवर्तनले मात्रै केही हुँदैन । नेपालको हालको आर्थिक गतिविधिलाई अगाडि बढाउन विदेशी रेमिट्यान्सको भूमिका महत्त्वपूर्ण छ । गत आर्थिक वर्षमा मात्रै करिब ८ अर्ब डलर बराबर रेमिट्यान्स नेपाल भित्रिएको थियो । आव २०७६÷०७७ को बजेटको करिब २७ प्रतिशत विदेशी रेमिट्यान्सको हिस्सा थियोे । सरकारले यस्तो विषम परिस्थितिमा पनि, आगामी आव ०७७÷०७८ मा विदेशी रेमिट्यान्सले १५ देखि ३० प्रतिशत हिस्सा ओगट्ने लक्ष्य राखेको छ । यसबाहेक अन्य माध्यमबाट पनि आर्थिक गतिविधिलाई टेवा पुर्याउने काममा वैदेशिक रोजगारमा गएकाहरुको महत्वपूर्ण भूमिका रहेको छ । तिनै वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्सका कारण नेपालको व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, जनताका आधारभूत आवश्यकताको परिपूर्ति, विकास निर्माण, रोजगारीलगायतका क्षेत्रमा महत्थ्वपूर्ण हिस्सा र प्रभाव छ ।
वैदेशिक रोजगारीमा गएका नेपालीले विदेशमा सजिलै पैसा कमाउने अवस्था भने हुँदैन । अत्यन्तै कडा परिश्रम, उच्च तापक्रममा बसेर काम गर्नुपर्ने अवस्था हुन्छ । धेरैजसो देशमा सजिलो काम आफ्नै देशका नागरिकलाई दिने र नेपालीलगायत विदेशी कामदारलाई गाह्रो र जोखिमपूर्ण र फोहोर काम दिने गरिन्छ । पहिलो त विदेशी त्यसमाथि वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली दक्ष पनि हुँदैनन् । यसैले गाह्रो र जोखिमपूर्ण काम गर्नुपर्ने बाध्यता हुन्छ । फलस्वरूप, जोखिमी काम गर्दा बर्सेनी धेरै नेपालीले अकालमा ज्यान गुमाउनुपरेको छ ।
हजारौंको संख्यामा नेपालीको शव बाकसमा नेपाल ल्याइने गरेको छ । एकातिर यस्तो करुणाजनक स्थिति छ भने अहिले कोभिड–१९ का कारण सयौं जनाको शब नेपाल ल्याउन सकिएको छैन । साथै, विभिन्न आरोपमा कतिपय देशका जेलमा हजारौंको संख्यामा नेपाली जेल परेका छन् । नेपालमा त्यस्ता घटनाबाट पीडित परिवार र समाजको पीडा छुट्टै छ । विदेशी भूमिमा ज्यानलाई जोखिममा हालेर नेपालको भविष्य बनाउने वैदेशिक रोजगारमा जानेहरुको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने नीति निर्मातादेखि राजनीतिक नेता कार्यकर्ता सबैले स्वीकार गर्नुपर्छ ।
एउटा सुखद पक्ष के छ भने वैदेशिक रोजगारीमा गएका नेपालीले विदेशमा काम गर्दागर्दै आफूले गरेको काममा दक्षता हासिल गरिसकेका हुन्छन् । उनीहरु नेपाल आउँदा एउटा पूर्ण दक्ष जनशक्ति भएर आऊँदै छन् ।
यसलाई सरकारले सदुपयोग गन सक्नुपर्छ । उनीहरु कृषि, पशुपालन, निर्माण, कलकारखाना, मेकानिकल, व्यापार व्यवसाय, पर्यटनलगायत विभिन्न क्षेत्रमा प्राविधिक ज्ञान प्राप्त गरेका दक्ष नेपालीका रूपमा नेपाल आउँदै छन् भन्ने सरकारले बुझ्नुपर्छ । यही ज्ञान, सीप र दक्षता प्राप्त गर्न राज्यले अर्बौं रकम खर्चिनु पर्ने थियो भने वर्षौं लाग्ने थियो । तर, सित्तैमा त्यस्तो महत्वपूर्ण जनशक्ति प्राप्त भएको छ । उनीहरुले प्राप्त गरेको ज्ञान, सीप र दक्षता अधिकतम कृषिसँग सम्बन्धित हुनसक्छ । त्यसैले उनीहरुसँग भएको ज्ञान, सीप र दक्षतालाई सरकारले राज्यको महत्वपूर्ण सम्पत्ति मानेर ग्रहण गर्नुपर्छ ।
अहिले नेपालको लाखौं हेक्टर खेतीयोग्य जमिन बाँझै छ । तराई, पहाड, हिमालका समथर भूमि, फाँट, पाखापखेरा बाँझिएका छन् । अहिले पनि नेपालको कुल गार्हस्थ्य उत्पादनमा २५ प्रतिशतभन्दा बढी योगदान कृषि क्षेत्रको छ । अहिले पनि करिब ६० प्रतिशत जनता कृषिमै निर्भर छन् । यसैले सरकारले यस घडीमा वैदेशिक रोजगारबाट फर्केकाहरु दक्ष जनशक्तिलाई सम्मान, सुविधा र सुरक्षासहित कुन कुन विषयमा दक्षता हासिल गरेका छन् भन्ने बारेमा विवरण तयार गर्नुपर्छ ।
सरकारले विदेशबाट आउने सबै कोभिड–१९ संक्रमित हुन् भन्ने मानसिकता लिएर तिनको व्यवस्थापनको चिन्ता हैन उनीहरुलाई सहज, व्यवस्थित, सुरक्षितरुपमा र विनाभेदभाव क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउनुपर्छ ।
अवसर पाए भने वैदेशिक रोजगारीबाट फर्कने नेपालीले बाँझिएर बसेका लाखौं हेक्टर खेतीयोग्य जमिनमा वैज्ञानिक र आधुनिक खेती प्रणालीका माध्यमबाट सुन फलाउन सक्छन् । विकासको गतिमा अगाडि लम्कन नसकेको नेपाललाई अगाडि लानेछन् । राज्यको नीति अनुकूल भएमा अब देशमा कृषि क्षेत्रसँग सम्बन्धित उद्योग कलकारखाना खोलिनेछ । लाखौं नेपालीलाई स्वदेशमै रोजगारीको व्यवस्था हुनेछ । नेपाल अब संसारमा श्रम बेच्ने हैन सदुपयोग गर्ने देशका रूपमा चिनिनेछ र आत्मनिर्भर बन्नेछ । त्यसैले उनीहरुको सम्मान गरौँ, इज्जत गरौँ, बचाऔँ । सरकारले पनि तत्कालै उनीहरुको ज्ञान, सीप र दक्षताका आधारमा दीर्घकालीन विकासको योजना निर्माण तथा तर्जुमा गर्नुपर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies