२०८१ चैत २१ गते बिहिवार / Apr 03 , 2025 , Thursday
२०८१ चैत २१ गते बिहिवार
Ads

देशले चिन्न नसकेको कृषि र कृषक

draupadi film
२०८१ माघ २१ गते ०५:१०
देशले चिन्न नसकेको कृषि र कृषक

-ध्रुव न्यौपाने 

नेपाल कृषिप्रधान मुलुक भने पनि कृषिलाई हेर्ने दृष्टिकोण साँघुरो छ । अथाह सम्भावना भएको कृषि क्षेत्रलाई अहिले लगानीको जोखिमको रूपमा हेर्दा कृषि क्षेत्र नै फस्टाउन सकिरहेको छैन । हामीले उत्पादन गर्नुभन्दा आयात गरेर रमाउने सोचका कारण हाम्रो कृषि क्षेत्र फस्टाउन सकिरहेको छैन ।

कृषि गर्ने व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन नआएकै कारण कुनै बेला दक्षिण कोरिया, भारत, बंगलादेश निर्यात गर्ने हामी अहिले आयात गर्नुपर्ने अवस्थामा छौं । देशभर कृषकहरू घट्दै छन् भने जमिन बाँझिँदै गएको तितो यथार्थ  हाम्रा अगाडि नै छ ।

खेतीयोग्य जमिन छाडेर मानिसहरू शहर भित्रिरहेका छन् । बसाइँसराइले गाउँदेखि शहर, शहरदेखि विदेश जाने लहड चलेको छ । खेतीपाती हुने स्थान बाँझो हुँदा देशभित्रको खाद्य उत्पादनमा ह्रास भइरहेको छ भने आयात निरन्तर बढ्दो छ । 

अब हामीले गाउँमा केही नगर्ने हो भने अथाह सम्भावना भएको क्षेत्र जंगलमा परिणत हुन्छ । हाम्रा पुर्खाले उत्पादन गर्ने स्थानमा नयाँ सोचका साथ काम गर्ने लक्ष्य हामीमा हुन आवश्यक छ । ग्रामीण क्षेत्रका किसानहरूले गर्दै आएको निर्वाहमुखी कृषिलाई व्यावसायीकरण गर्न अति नै आवश्यक छ ।

नेपालमा अहिलेसम्म पनि व्यावसायिक कृषि प्रणाली भन्दा पनि निर्वाहमुखी खेती प्रणाली भइरहेको छ । बिहानदेखि साँझसम्म काम गर्दासमेत कृषिबाट गुजारा चलाउनेबाहेक थप काम हुन सकेको छैन, जसका कारण आम्दानी बढ्न सकेको छैन, अझ भनौं, उत्पादन लागतको अनुपातमा आम्दानी नै हुन सकेको छैन ।

आज नेपालका सबै कृषकहरूको समस्या भनेको दिनभर माटोमा काम गर्दासमेत बचत नहुनु नै हो । अहिलेसम्मको कृषिको काम भनेको आफ्नो घरमा खानका लागि मात्र भएको छ । तर, स्वास्थ्य, शिक्षा, लत्ताकपडादेखि भैपरी आउने समस्याले कृषकलाई गाँजेको छ । 

कृषिको विकल्प नहुँदा अहिले पनि दैनिक हजारौं युवा घर छाडेर परदेश जान बाध्य भएका छन् । नेपालमा अहिले जति पनि बिदेसिनुपरेको छ वा गाउँ छाडेर शहर बजार जानुपर्ने बाध्यता छ, त्यसको प्रमुख कारण गाउँमा आम्दानीको स्रोतको पहिचान नहुनु नै हो ।

अब गाउँमा मानिस अड्याउने हो भने गाउँबाटै कृषि कर्म सुरु गर्न आवश्यक छ । कृषकका लागि आर्थिक आम्दानीको स्रोत अब कृषिजन्य उपज नै बनाउनुपर्छ । 

नेपालको पूर्वदेखि पश्चिमसम्म जुनसुकै पहाडी भेगमा कृषिका लागि सम्भाव्यता छ । पहाडमा उत्पादन हुने तत्त्व अन्य स्थानमा उत्पादन हुनेभन्दा निकै फरक छ ।

देशभर नै पहाडी भेग उस्तै सम्भावना भएको क्षेत्र हुँदाहुँदै पनि सुरुवात कसले गर्ने भन्ने नै छ । सरकारको दीर्घकालीन योजना कृषिमा छैन । आयातमा रमाएका हामीले आफ्नो स्वदेशी उत्पादनलाई माया गर्न सकिरहेका छैनौं । जबसम्म नेपालमा उत्पादन हुने वस्तुलाई आफ्नो भनेर गौरव गर्ने वातावरण बन्दैन, तबसम्म देशमा बस्नेभन्दा छाडने धेरै हुने छन् । 

देशमै सम्भावना

अहिले हामीले देशमा भएका सम्भावनालाई चिन्न सकिरहेका छैनौं । काम गर्न समस्या त छन् तर अवसर र सम्भावनासमेत उस्तै देखिन्छन् । देशको कृषि उपज वस्तुमा धेरै सम्भावना छ भनेर सरकारलाई हामीले बाटो देखाउन आवश्यक छ । त्यसका लागि सबैको सहयोग र दीर्घकालीन लक्ष्य हुन आवश्यक छ । 

ग्रामीण कृषि प्रणाली छ, त्यसलाई बजारसँग जोड्न सक्ने हो भने अहिले कृषिमा देखिएको समस्यालाई समाधान गर्न सकिन्छ । अधिकांश कृषिमा लाग्ने कृषकले खेती गरेर आफूलाई औसतमा खान त पुगेको तर आम्दानी गर्न नसकिरहेको अवस्था छ ।

शहरमा बसोबास गर्नेलाई खेती गर्ने स्थान छैन, भए पनि काम गर्ने फुर्सद छैन । त्यसैले किनेरै खानुको विकल्प छैन । त्यसलाई जोड्ने ग्रामीण कृषिलाई बजारीकरण गर्नु नै पर्छ । ग्रामीण खाद्यवस्तु शहरसम्म पु¥याउन सक्ने हो भने पहाडका किसानलाई आर्थिक रूपमा समेत सबल बनाउन सकिन्छ । पहिला गाउँसँग सडक जोडिएको थिएन तर अहिले अधिकांश गाउँमा सडक पुगेको छ । अब बाटोसँगै आर्थिक गतिविधि बढ्दो छ ।

यद्यपि, बाटो गाउँमा पुगेसँगै गाउँबाट बसाइँसराइलाई समेत थप बल पुगेको छ । यो नकारात्मक अवस्थालाई रोक्न सक्ने हो भने गाउँलाई उत्पादनमुखी बनाएर शहरमा बजारीकरण गर्न सक्ने प्रशस्त सम्भावना छ । अहिले पनि गाउँको उत्पादन शहरमा पुग्न सकिरहेको छैन । त्यसैले नेपालको पहाडी जमिनलाई आर्थिक समृद्धिको आधारको रूपमा कृषिबाटै रूपान्तरण गर्न सकिन्छ ।

गाउँमा उत्पादन भएको कृषि उपजलाई संकलन केन्द्र खोलेर काम गर्न सक्ने हो भने नेपाली उत्पादनलाई हामीले भएर विदेशसमेत निर्यात गर्न सक्छौ । 

हाम्रो पहाडमा फल्ने सिस्नो, कोदो, फापरको महत्त्व अझै हामीले बुझ्न सकेका छैनौं । पहिलापहिला गरिबको घरमा पाक्ने ढिँडो अहिले तारे होटलको भीआईपी मेनुमा राखिएको छ । त्यसैले नेपाली उत्पादनको महत्त्व बढ्दो छ ।

हाम्रा कृषि उत्पादन प्रशोधन गर्ने उद्योग मात्र खोल्न सक्ने हो भने एउटा परिवार पाल्न खाडी मुलुक जानै पर्दैन । नेपालमा कृषि उपजहरू छिमेकी मुलुक भारतबाट आउँछन् । नेपाली हाटबजार भारतीय तरकारीले कब्जा छ । त्यसलाई रोक्नका लागि हामीले के गर्ने भन्ने न सरकारलाई थाहा छ, न त नीति बनाउनेलाई ।

गाउँघरमा उत्पादन हुने अग्र्यानिक तत्त्वलाई हामीले चिन्न नसक्दा आयात गरेर कृषि उपज खान बाध्य छौं । 

अब ग्रामीण अर्थ व्यवस्था र कृषिमा नेतृत्व गर्ने साहसी र विवेकशीलको आवश्यकता छ । नेपालको कृषिलाई एउटा दिगो विकासको मोडलमा लैजान आवश्यक छ । नेपालको कृषि व्यवस्थापनमा आमूल परिर्वतको खाँचो छ । त्यसका लागि भोलि होइन, आजैदेखि सुरु गर्नुपर्छ । सम्भावना भएको कृषि क्षेत्रलाई हामीले अब चिन्न ढिला गर्नु हुँदैन ।

कृषिमा सम्भावना धेरै छ । नेपालमा परापूर्वकालदेखि नै विद्वान् ऋषिमुनिहरूले समेत यहाँ आएर तपस्या गरेका पाइन्छ किनभने नेपालको वातावरण र उत्पादन नै उनीहरूका लागि अनुकूल थियो । यहाँ उत्पादन हुने खाद्यान्न र फलफूलले बाँच्न सक्ने भएकाले नै नेपाल ऋषिमुनिहरूका लागि ध्यान, तपस्या, योग साधना गर्ने पवित्र स्थल बनेको हो ।

ADV

सम्बन्धित खबर

Advertise