-उत्तम कार्की
‘नेपालले बल अगाडि बढायो, हरि खड्कासँग बल, हरि खड्का..., र यो गोल........., नेपालले १–० गोलको अग्रता लियो ।’
यसरी रेडियोमा फुटबलको कमेन्ट्री सुन्नुपर्ने अवस्थाबाट अहिले हातहातमै मोबाइलमा हरेक खेलको भिडियो तथा ‘लाइभ स्ट्रिमिङ’ हेर्न सकिने युग आइसकेको छ । विश्वभर हुने विभिन्न खेल अहिले एउटा कुनामा बसेर मोबाइलबाटै प्रत्यक्ष हेर्न मिल्छ ।
युट्युब, फेसबुक, वेबसाइटलगायतका प्लेटफर्ममार्फत अहिले फुटबल, क्रिकेट, भलिबल, टेनिसलगायतका खेल हातैमा मोबाइलबाट हेर्न सकिन्छ । अहिले युट्युबमा खेलकुदका जुनसुकै लाइभ भिडियो हेर्नेहरूको संख्या उल्लेख्य मात्रामा पाइन्छ ।
नेपालकै खेलकुदका कुरा गर्ने हो भने पनि फुटबल, क्रिकेट, भलिबललगायतका खेलको युट्युबमा हुने प्रत्यक्ष प्रसारणमा दर्शकको संख्या उच्च हुन्छ । साथै, खेलका अन्य भिडियोमा पनि दर्शकको संख्या लाखौं हुन्छ ।
१ मे २०२३ मा ओएसआर युट्युबमा प्रसारित नेपाल र यूएईबीचको एसीसी मेन्स प्रिमियर कपको फाइनल खेल १९ लाखले हेरेका छन् । सन् २०२३ मा हिमालय टी. भी.बाट प्रत्यक्ष प्रसार गरिएको नेपाल सुपर लिगको धनगढी एफसी र ललितपुर सिटी एफसीबीचको फाइनल खेल ५ लाख ५० हजार जनाले हेरेका छन् ।
यसरी नै २१ अगस्ट २०२३ मा हाम्रो खेलकुदले युट्युबमा प्रत्यक्ष प्रसारण गरेको नेपाल र भारतबीचको काभा भलिबलको फाइनल खेल ९८ हजार जनाले हेरेका छन् ।
भर्खरै मात्र सम्पन्न फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) पनि नेपाली खेलकुदका लागि महत्त्वपूर्ण सावित भयो । एनपीएलका हरेक खेल भारतीय टेलिभिजन स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गरेको थियो । यसका कारण विश्वका धेरै देशका नागरिकले नेपालमा खेलिएको खेल हेर्न पाए भने नेपाली खेलाडीहरूलाई चिन्न पाए ।
रेडियोमा कमेन्ट्री सुन्नुपर्ने नेपालका खेल अहिले विश्वका कुनाकुनाबाट हेर्न मिल्ने अवस्थामा आइपुग्दा लाग्छ– प्रविधिको सहयोगमा नेपाली खेलकुद क्षेत्रले आफ्नो गन्तव्य आफैं तय गर्दै लामा पाइला चालिरहेको छ ।
यसरी डिजिटल प्रविधिको सहयोगमा खेलप्रेमीहरूले आ–आफ्ना मनपर्ने खेल कम्प्युटर, मोबाइलबाट हेर्न पाइरहेका छन् । यसकै माध्यमबाट हरेक खेलका दर्शकको संख्या छुट्याउन पनि सहज भएको छ । कुन खेल कतिले हेरे, कतिले कस्ता प्रतिक्रिया जनाए, यस्ता सबै सूचकहरू युट्युब, फेसबुक आफैंले देखाइदिन्छन् ।
डिजिटल प्रविधि आउनुअघि खेलप्रेमीलाई खेल हेर्न कि स्टेडियममा जानुपर्ने नभए टेलिभिजनमा हेर्नुपर्ने बाध्यता थियो । तर, अहिले युट्युब, फेसबुकमा खेल हेर्दै आफ्नो प्रतिक्रिया पनि जनाउन सकिन्छ ।
पहिले पहिले स्टेडियममै गएर खेल हेर्दा प्रविधिको कमीका कारण ‘रि–प्ले’ नहुँदा छुटेका खेलका भाग हेर्न पाइँदैन थियो । तर अहिले प्रविधिको विकासले ‘रि–प्ले’ सँगै एक पटक प्रसारित खेल जतिबेला पनि हर्न मिल्छ ।
अहिले ‘स्पोर्ट्स स्ट्रिमिङ’ व्यापार नै बन्दै गएको छ । हरेक खेलको डिजिटल राइट्स विक्री हुन्छ । डिजिटल राइट्स किन्ने संस्थाले मनग्य रकम खर्चिनुपर्ने हुन्छ । डिजिटल राइट्स खरिद गरेपछि उक्त खेल उक्त क्षेत्र वा देशमा उक्त संस्थाबाहेक अन्य कसैले प्रसारण गर्न पाउँदैन । कुनै प्रतियोगिता आयोजना गर्नुपर्दा डिजिटल राइट्स प्राथमिकतामा पर्छ ।
सबै दर्शक खेलको लाइभ प्रसारण कुरेर बस्ने भएकाले पनि डिजिटल राइट्स किन्न ठूलै प्रतिस्पर्धा गर्नुपर्ने स्थिति छ ।
काठमाडौंमा केही समयअघि आयोजित भलिबलको फ्रेन्चाइजी लिग एभरेष्ट महिला भलिबल लिगको टेलिभिजनतर्फको राइट्स कान्तिपुर टी. भी.ले लिएको थियो भने युट्युबका लागि ओएसआर स्पोर्ट्सले लिएको थियो । कान्तिपुर र ओएसआरले हरेक खेल लाइभ गरे भने युट्युबमा लिग हेर्ने दर्शकको संख्या पनि उच्च रह्यो ।
लिगका प्रत्येक खेलमा २ लाख हाराहारीमा भ्युज आएको देखिन्छ भने लाइभ हेर्दै कमेन्ट सेक्सनमा प्रतिक्रिया दिनेहरूको संख्या पनि उल्लेख्य मात्रामा रहेको पाइन्छ । यसरी लाइभ हेर्दै प्रतिक्रिया आदनप्रदान गर्न पाउँदा दर्शकलाई स्टेडियममै बसेर अरू दर्शकसँग कुरा गर्दै खेल हेरेको अनुभूति हुन्छ । यसले पछिल्लो प्रविधिको फाइदा भनेर बुझिने ‘इन्टर्याक्सन’लाई पनि संकेत गर्छ ।
दर्शक, खेलाडी र अन्यबीचमा हुने प्रत्यक्ष अन्तरक्रिया यही प्रविधिका कारण संभव भएको छ । यसले खेल खेल्ने र टाढा रहेर सँगै हेर्नेहरूबीच संवादको अवस्था सिर्जना गरी झनै रोचक र ‘लाइभ’ वा जीवन्त बनाएको महसुस हुन्छ ।
डिजिटल प्रविधिको विकाससँगै खेल प्रत्यक्ष प्रसारण मात्र नभई खेल नै डिजिटल भइसकेको छ । अहिले इ–स्पोर्ट्सले पनि विश्वभर चर्चा कमाइरहेको छ । इ–स्पोर्ट्सका पनि ठूलाठूला प्रतियोगिता भइरहेका छन् ।
इ–स्पोर्ट्स भर्चुअल माध्यमबाट खेलिने खेल हो । कम्प्युटर, मोबाइलबाट खेलिने यस खेलको पनि विश्वकप हुने गरेको छ । पब्जी, काउन्टर स्ट्राइक, क्ल्यास अफ क्यान्सलगायत दर्जनौं प्रतियोगिता अहिले भर्चुअल माध्यमबाट खेलाइन्छ भने विजेताले ठूलो राशिको पुरस्कार पनि पाउने गरेका छन् ।
नेपालबाट पनि पब्जी खेलाडीहरू विभिन्न देशमा आयोजना गरिएका पब्जी प्रतियोगितमा भाग लिँदै आएका छन् । पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपमा नेपाली टोली द रिअल सोल्जर्स (डीआरएस) उपविजेता बन्दै झन्डै साढे ३ करोड रुपैयाँ पुरस्कार स्वरूप जितेको थियो । डीआरएससहित नेपालको अर्को टोली ट्रेन्ड टु किल (टीटूके) उक्त प्रतिस्पर्धाको अन्तिम चरणमा पुगेको थियो ।
यसरी डिजिटल प्रविधिको विकास भएसँगै खेल क्षेत्र पनि थप विस्तार हुँदै गएको छ । अझै आउँदा दिनमा के–कस्ता प्रविधिले खेल क्षेत्रलाई कसरी अगाडि बढाउलान् भन्ने थप चासोको विषय बन्दै गएको छ ।