२०८१ चैत २१ गते बिहिवार / Apr 03 , 2025 , Thursday
२०८१ चैत २१ गते बिहिवार
Ads

खास पर्यटकीय स्थल बन्न नसकेको सौराहा

draupadi film
२०८१ माघ २१ गते ०५:२०
खास पर्यटकीय स्थल बन्न नसकेको सौराहा

-डा. उद्धव पुरी

चितवन क्षेत्र नेपालको पर्यटनको मुख्य गन्तव्य स्थान हो । यहाँको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक विविधता र महत्त्व आध्यात्मिक रूपमा विभिन्न युग एवं कालखण्डको विषयसँग जोडिएर आइरहन्छ, जुन अहिले पनि उत्तिकै महत्त्व, आकर्षण र मनोरञ्जनपूर्ण मानिन्छ ।

वैदिक कालखण्डलाई छाडेर नेपालको राणाकालमा राणा र विदेशी पाहुनासमेतलाई शिकार खेल्न, तीर्थ व्रत र प्राकृतिक आनन्द लिन उपयोग भएको क्षेत्र हो चितवन । जतिखेर अहिलेको जस्तो आधुनिक पर्यटनको स्वरूपमा नभए पनि नेपालको हिमालपछि विश्वमा परिचित भएको नेपालका सुन्दर एवं पर्यटकीय स्थान भनी चितवन नै बाहिरी संसारमा परिचित भएको मानिन्छ ।

नेपालमा व्यावसायिक पर्यटनको सुरुवात हुनुभन्दा पहिले नै चितवनका बिभिन्न क्षेत्रमा युरोपका राजा माहाराजा, उच्च पदस्थहरूले भ्रमण गरेका र त्यहाँको बयान गरेको तथ्य इतिहासमा धेरै पाइन्छ । पछिल्लो समय अर्थात् व्यावसायिक पर्यटनको सुरुसँगै चितवनको सौराहा विश्व पर्यटनको परिचित नाम बन्न पुग्यो । यहाँका थारू संस्कृतिका साथै वन्यजन्तु, प्राकृतिक सुन्दरता र विविधता आदिले पर्यटकलाई लठ्ठै बनाएको देखिन्छ । चितवन राष्ट्रिय निकुञ्जको स्थापनापछि अझ यसले व्यवस्थित र परिचित पर्यटकीय गनतव्य बन्न पाएको हो ।

झण्डै आधा दशकभन्दा बढी समय बिताइसकेको सौराहाले सैद्धान्तिक रूपमा आफूलाई विश्व पर्यटनको पर्यटकीय स्थल बन्न र बनाउन भने अझै सकेको देखिँदैन । यो नेपालकै दिगो पर्यटनको समस्या पनि हो । 

सौराहा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । ठूला नदी राप्ती र ढुंग्रेलगायतका अन्य स–साना नदीहरू रहेको क्षेत्र पनि हो, जहाँ सुरी नामको माछा ज्यादै प्रचलित छ र थियो अनि साथमा थारू परिकारले मानिसहरूलाई सौराहसम्म तान्ने गरेको भनाइ पनि छ ।

आजको दिनसम्म आइपुग्दा सौराहा पर्यटकीय शहरका रूपमा बनिसकेको छ । साँस्कृतिक र प्राकृतिक दुबै आनन्द एकै साथ एकै थलोमा लिन सकिने विश्वको नाम चलेका गन्तव्यहरूमा आफ्नो नाम पनि सौराहाले परिचित गराएको छ । पर्यटकीय मौसमबाहेका समयहरूमा पनि बाह्य र आन्तरिक पर्यटकहरू देख्न र भेट्न पाइने स्थान सौराह पथ्र्यो । सौराहा, थारू, वन्यजन्तुलगायतका विषयमा धेरै अध्ययन र अनुसन्धान पनि भएका छन् र तिनलाई कसरी पर्यटकीय बजारसम्म दिगो रूपमा लैजाने भन्ने सम्बन्धमा पनि धेरै काम भएको देखिन्छ । 

यस अर्थमा चितवन र सौराहाको पर्यटकीय विकासका लागि स्वदेश र विदेशको धेरै ठूलो लगानी भइरहेको छ, जुन नेपालको अन्य स्थानमा कमै भएको छ । तर, आजको दिनलाई विश्व पर्यटनको सैद्धान्तिक अवधारणामा कसी लगाएर हेर्दा सौराह धेरै कमजोर देखिन्छ । प्रतिवेदनहरू थन्किएर नै होला यहाँको पर्यटकीय प्रगति स्थान विशेषको संलग्नतामा नकारात्मक हिसाबमा अगाडि बढ्दै गएको भन्न सकिन्छ । 

सौराहामा पर्यटन विकास २०३० सालदेखि तीव्र रूपमा बढ्दै गयो । पर्यटन र पर्यटकका लागि पहिलो प्राथमिकता शान्ति हो, जुन त्यसबेला थियो । तर, त्यस समय  पर्यटनको सैद्धान्तिक ज्ञान नभएका टाठाबाठा व्यापारीहरूले नाफाको हिसाबले यस व्यवसायलाई छोपे ।
राज्य र सरकारका निकाय तिनै व्यवसायीलाई पर्यटनविज्ञ मानी ढुक्क भयो, जुन परिपाटी र विकास दिगो पर्यटनको नजिकै रहने खालको देखिँदैन । लुम्बिनी, पोखरा, नगरकोटलगायतलाई यसको उदाहरणमा लिन सकिन्छ । सौराहामा झण्डै ६–७ दशकको समयमा पनि त्यसले स्थानीय रूपमा कुनै पकड जमाउन सकेन बरु कतिपय स्थानीय विस्थापित भए, स्थानीय संस्कृति, स्थानीय उत्पादन, कला आदिका विषयमा पनि स्थानीयको दह्रो उपस्थिति रहेन । 

प्राकृतिक पर्यटन उनीहरूको बसमा हुने कुरा पनि रहेन । बाहिरी हस्तक्षेप र लगानीले सौराहालाई छोप्यो  । २०४६ सालपछिको समयमा माओवादी आन्दोलनले २०६२ सालसम्म नेपालको पर्यटन विकास र विस्तारलाई निस्तेज बनायो । यता, २०४६ सालपछि नै नेपालको पर्यटन क्षेत्रमा बढ्न सुरु भएको निजी क्षेत्रको लगानी अस्वस्थ प्रतिस्पर्धामा देखियो र उनीहरूको व्यापार आवसरवादितामा बढी हुन थाल्यो ।

कोरोना महामारीले विश्व पर्यटनलाई पूर्ण रूपमा असर ग¥यो । सौराहको पर्यटन र त्यहाँको पर्यटकीय विकास थला पर्‍यो । अहिले सबैतिर पर्यटनको गति बढ्न थालेको छ । लगभग ३–४ वर्षको दौरानपछि सौराहाको पर्यटनमा धेरै नयाँ कुरा, नयाँ व्यवसायी, नयाँ थालनीका स्वरूपहरू देखापरे । अहिले पर्यटकको मध्य समयमा पनि त्यहाँ लगानीअनुरूपको पर्यटन गतिविधि छैन ।

धेरै स्थानीय र थारू समुदाय गरिक भएर व्यवसायीबाट कारिन्दा वा कामदार भएका भेट्न सकिन्छ । अध्ययन र अनुसन्धानको संकेत  एकातिर भए पनि नयाँ लगानी भइरहेको छ । पुरानाहरू घाटाका व्यनपारमा पनि बाँच्ने प्रयत्न गरिरहँदा नयाँका गतिविधिले तिनलाई झन् मर्नु र बाँच्नु बनाएको छ । राष्ट्रिय अर्थतन्त्रमा पनि पूर्ववत् योगदान राम्रो रूपमा देखिँदैन । स्थानीय  र केन्द्रीय सरकारको पर्यटकीय संयन्त्र कमजोर छ ।   स्थानीय पर्यटकीय बजारको सहकार्य, समन्वय र पर्यटकीय वा सैद्धान्तिक ज्ञानको कमीले पर्यटकहरू ठगिने र झुक्किने क्रम बढेको छ भने बजारीकरण तथा अतिथि सत्कारको अवस्थामा धेरै दोषहरू छन् । यो विश्व पर्यटन बजारका लागि सबैभन्दा कमजोर अवस्था मानिन्छ ।

त्यसैले सौराहालाई पर्यटकीय अर्थमा बचाउन नयाँ अध्ययन र हस्तक्षेप नीतिको अविलम्ब थालनी हुनु राम्रो हुन सक्छ । यदि समयमै विषयलाई गम्भीरताका साथ लिइएन भने कालान्तरमा सौराहा विस्थापित भएर पर्यटनको हिसाबमा खण्डहरको नजिक पुग्न सक्छ । विश्व पर्यटनमा यस्ता धेरै उदाहरणहरू छन्, जसमा सौराह पनि समावेश हुन सक्छ ।

ADV

सम्बन्धित खबर

Advertise