-तुलबहादुर मगर
नेपालको स्वास्थ्य क्षेत्रले विगत केही दशकमा उल्लेखनीय प्रगति गरेको छ । विभिन्न सरकारी नीतिहरू, गैरसरकारी संस्थाहरूको सक्रियता र अन्तर्राष्ट्रिय सहयोगले स्वास्थ्य सेवाको पहुँचमा सुधार ल्याएको छ । यद्यपि, अझै पनि स्वास्थ्य सेवामा धेरै चुनौतीहरू छन्, जसलाई समाधान गर्न आवश्यक छ ।
स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था
नेपालको संविधान, २०७२ अनुसार हरेक नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गरिएको छ । यसका लागि सरकारले विभिन्न स्वास्थ्य सेवा कार्यक्रमहरू संचालनमा ल्याएको छ । मातृ शिशु स्वास्थ्य सुधारका लागि सुरक्षित मातृत्व कार्यक्रम, खोप अभियान र पोषण सुधार कार्यक्रम प्रभावकारी मानिन्छन् । ग्रामीण क्षेत्रका लागि ‘गाउँगाउँमा स्वास्थ्यकर्मी, प्रत्येक घरमा स्वास्थ्य सेवा’ नाराका साथ स्वास्थ्य चौकीहरू स्थापना गरिएको छ ।
कोरोना महामारीपछि, स्वास्थ्य सेवामा सरकारले ठोस कदम चाल्न थालेको छ । भेन्टिलेटर, अक्सिजन प्लान्ट र आपत्कालीन स्वास्थ्य पूर्वाधारको विस्तार गरिएको छ । तर, यी सुविधाहरू अझै पनि शहर केन्द्रित छन्, जसले ग्रामीण जनताको पहुँचलाई प्रभावित बनाएको छ ।
स्वास्थ्य सेवामा सुधारका प्रयासहरू
नेपालमा प्रजनन स्वास्थ्य, बाल स्वास्थ्य र सरुवा रोग नियन्त्रणमा महत्त्वपूर्ण प्रगति भएको छ । उदाहरणका लागि, पोलियो उन्मूलन, कालाजार नियन्त्रण र खोप अभियानले सरुवा रोगहरूलाई कम गर्न सहयोग पु¥याएको छ । मातृ मृत्यु दर र शिशु मृत्यु दरमा पनि केही हदसम्म सुधार भएको छ ।
सरकारले स्वास्थ्य बीमालाई प्राथमिकता दिँदै नागरिकहरूलाई न्यूनतम शुल्कमा सेवा दिने व्यवस्था गरेको छ । ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य चौकीहरूले सामान्य रोगहरूको उपचारका साथै गर्भवती महिलालाई निःशुल्क सल्लाह र औषधि प्रदान गरिरहेका छन् ।
स्वास्थ्य क्षेत्रमा देखिएका चुनौतीहरू
स्वास्थ्य क्षेत्रको सुधारका लागि भएका प्रयासहरूका बावजुद धेरै समस्या छन् । सबैभन्दा ठूलो चुनौती भनेकै स्वास्थ्य सेवाको असमान वितरण हो । ग्रामीण क्षेत्रका मानिसहरू अझै पनि आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित छन् । विशेषज्ञ डाक्टर र अत्याधुनिक उपकरणहरू प्रायः शहरहरूमा मात्र उपलब्ध छन् ।
अर्को समस्या भनेको वित्तीय सीमितता हो । सरकारको बजेटको थोरै मात्र हिस्सा स्वास्थ्य क्षेत्रमा छुट्याइएको छ । यसले गर्दा पर्याप्त पूर्वाधार निर्माण, जनशक्ति विकास र आधुनिक उपकरणको खरिदमा बाधा परेको छ ।
स्वास्थ्यकर्मीहरूको कमी, उनीहरूको असन्तोषजनक तलब र विदेश पलायनले पनि यो क्षेत्रलाई कमजोर बनाएको छ । धेरै दक्ष स्वास्थ्यकर्मी रोजगारीको खोजीमा विदेश जान्छन्, जसले गर्दा ग्रामीण क्षेत्रमा दक्ष जनशक्तिको अभाव देखिन्छ ।
सरुवा र नसर्ने रोगहरूको बढ्दो समस्या अर्को चुनौती हो । शहरमा बढ्दै गएको प्रदूषण, अस्वस्थ जीवनशैली र उचित खानेकुराको अभावले नसर्ने रोगहरू, जस्तै : मधुमेह, उच्च रक्तचाप र मुटुरोग बढ्दै गएका छन् ।
समाधानका उपायहरू
१. स्वास्थ्य सेवाको पहुँच विस्तार : सबै क्षेत्रका नागरिकलाई समान स्वास्थ्य सेवा प्रदान गर्न ग्रामीण क्षेत्रमा अस्पताल, स्वास्थ्य चौकी र मोबाइल स्वास्थ्य सेवाको विस्तार गर्नुपर्छ ।
२. स्वास्थ्य बजेट वृद्धि : सरकारले स्वास्थ्य क्षेत्रको बजेट वृद्धि गर्दै अनुसन्धान, उपकरण खरिद र पूर्वाधार निर्माणमा लगानी गर्नुपर्छ ।
३. जनशक्ति व्यवस्थापन : स्वास्थ्यकर्मीहरूको उचित तलब, तालिम र प्रोत्साहनको व्यवस्था गर्नुपर्छ । विदेश पलायन रोक्न दीर्घकालीन योजना आवश्यक छ ।
४. प्राविधिक सुधार : डिजिटल स्वास्थ्य प्रणाली लागू गरेर जनतालाई टेलिमेडिसिन र अनलाइन स्वास्थ्य सेवाको सुविधा दिन सकिन्छ ।
५. सचेतना कार्यक्रम : रोगहरूको रोकथामका लागि व्यापक जनचेतना कार्यक्रम संचालन गर्नु जरुरी छ । स्वस्थ जीवनशैली अपनाउन र सरसफाइमा ध्यान दिन प्रेरित गर्नुपर्छ ।
नेपालको स्वास्थ्य क्षेत्रले चुनौतीहरूका बीचमा अवसरहरू पनि प्रस्तुत गरेको छ । ग्रामीण क्षेत्रको पहुँचमा सुधार, स्वास्थ्य बीमा कार्यक्रमको कार्यान्वयन र आधुनिक स्वास्थ्य सेवा प्रणालीको विकासले नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउन सक्छ ।
नागरिक र सरकारको सहकार्यले मात्र सुसंगत र दिगो स्वास्थ्य क्षेत्रको विकास सम्भव छ । सरकार, स्वास्थ्यकर्मी र नागरिकहरू सबैले आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने समय आएको छ ।