–जनक बराल
कोरोना महामारीपछि देशमा अर्को महामारी फैलिएको छ, त्यो हो– चरम बेरोजगारीसँगै युवा पलायनको महामारी । धेरैलाई लागेको थियो, कोरोना अनि कोरोनाले निम्त्याएको आर्थिक संकट केही समयपछि नै सामान्य अवस्थामा फर्किन्छ । देशको अर्थतन्त्र क्रमशः सुधार हुँदै जाने छ ।
पुनः आर्थिक गतिविधि पुरानै लयमा फर्किने छन् । जीवनयापन फेरि सामान्य तरिकाले अगाडि बढ्ने छ । तर, देशमा विकास भएको आर्थिक समस्याको मूल जड कोरोना मात्र नभईकन राजनीतिक अस्तव्यस्तताको महामारी रहेछ भन्ने बुझ्न अब कसैलाई पनि गाह्रो छैन ।
देशमा राजनीतिक परिवर्तनका नाममा गरिएका विभिन्न युद्ध र आन्दोलनमा सहभागी भएका र मुलुकलाई लोकतान्त्रिक गणतन्त्रमा पुर्याउन योगदान गर्नेहरू त सबैजसो पलायन भइसकेका छन्, सँगै युग बदल्न गरिएको भनिने २०६२/०६३ सालको जनआन्दोलन र त्यसको महान उपलब्धि मानिएको गणतन्त्र प्राप्ति पछाडि जन्मिएका नयाँ पुस्ता पनि उच्च अध्ययनकै नाममा सही, विदेश पलायन हुन सुरु गरिसकेका छन् ।
देशमा पहिला राजनीतिक क्रान्ति हुन्छ र त्यो राजनीतिक क्रान्तिको सफलतापश्चात् आर्थिक क्रान्ति हुन्छ अनि देशले आर्थिक फड्को मारेसँगै आमजनताको जीवन परिवर्तन हुन पुग्छ । यो विकास र परिवर्तनको नियम पनि हो र आज सबै विकसित मानिएका समृद्ध मुलुकहरू पनि त्यही चरण पार गर्दै आजको अवस्थामा आइपुगेका हुन् ।
तर, हाम्रोमा दुःखद् कुरा के छ भने, नेपाली आमजनमानसले आन्दोलन गर्न जाने, सामान्य जनताका छोरा–छोरीलाई सत्ताको बागडोर सम्हाल्ने ठाउँमा पु¥याउन त जाने तर आफ्नो जीवनक(ालमा कहिल्यै सुख, शान्ति अनि समृद्धि देख्न पाएनन् ।
हरेक परिवर्तनका आन्दोलनमा सहभागी बनेको एउटा पुस्ता त परिवर्तनको अनुभूतिबिना नै यो संसारबाट बिदा भएर गइसकेका छन् ।
समय परिवर्तनशील छ, प्रविधिले पूरै प्रभावित बनाएको छ । संसारको एउटा कुनामा घटेको कुनै घटना वा आविष्कारको प्रभाव अर्को कुनामा केही पलमै पर्ने गर्छ, जसको सिको वा अनुसरण तुरुन्तै सबैतिर हुने गर्छ । युवा शक्तिमा केही गरौं भन्ने जोस त हुन्छ नै, तर सोचेजस्तो नभएमा तुरुन्त निराश भइहाल्ने प्रवृत्ति पनि हुने गर्छ ।
संसार कत्रो छ, संसारको कुन कुनामा के हुँदै छ, कहाँ सुख छ, कहाँ धेरै आम्दानी छ र कहाँ गयो भने जीवन सोचेजस्तो सुखद हुन सक्छ भनेर आमयुवा पिँढी सबै जानकार छन् । देश प्रेम र खोक्रो राष्ट्रियताले मात्र जीवन चल्दो रहेनछ, गुजारा हुँदो रहेनछ भन्ने बुझेपछि आफ्नो देश र माटोले मात्र व्यक्तिलाई रोकिराख्न सक्दो रहेनछ भन्ने कुरा पछिल्ला २ वर्षमा भएको युवा पलायनले प्रस्ट देखाइसकेको छ ।
एकातर्फ आफूसँगै पढेका र आफ्नोभन्दा राम्रो गरिरहेका साथीभाइले विदेश जाने विकल्प रोजिसकेपछि त्यसको मानसिक असर त हरेक युवामा पर्ने नै भयो । त्यससँगै देशमा बस्दा आफ्नो सन्तानले केही गर्न नसक्ने पो हुने हो कि ! आर्थिक रूपमा कमजोर पो हुने हो कि वा यथावस्थामा आफ्नो सन्तान स्वदेश बस्नुभन्दा विदेश जानु नै उत्तम विकल्प हो भनेर अभिभावकले आफ्ना सन्तानलाई विदेश जान प्रोत्साहन गर्न थाल्नु नै अहिले देशमा युवा पलायनको मुख्य कारण बनेको छ ।
स्वदेशमा अध्ययन गरौं, शिक्षा व्यावसायिक र जीविकोपार्जन उपयोगी छैन । त्यसमाथि पनि परीक्षा कहिले हुने र त्यसको नतिजा कहिले प्रकाशन हुने ? कुनै टुंगो छैन । अझै गरिब र विपन्न वर्गका विद्यार्थीको त उच्च शिक्षा अध्ययनसम्म पहुँच नै पुग्न सकेको देखिँदैन ।
यदि कसैले दुःख सुख गरेर पढिहाल्यो भने पनि रोजगारीको ग्यारेन्टी छैन । रोजगारी पाइहाले पनि त्यहाँबाट हुने आम्दानीले अहिलेको अवस्थामा आफ्ना र परिवारका आधारभूत आवश्यकता पनि परिपूर्ति हुने निश्चित छैन भने यो अवस्थामा स्वदेशमा रहन र संघर्ष गर्न को चाहन्छ ?
बेरोजगारी बढ्दो छ, महँगी नियन्त्रणबाहिर छ । शिक्षा, स्वास्थ्य, आवास जस्ता न्यूनतम विषयमा पनि सरकारले कुनै सुनिश्चितता गर्न सकेको छैन । सरकारले दिने केही सेवा, सुविधा र राहत तथा अनुदान पनि लक्षित वर्गमा पुग्नु त कहाँ हो, अलिकति पहुँचवाला र दलका कार्यकर्ताभन्दा तल पुग्न सम्भवै देखिँदैन ।
न सरकार जनताप्रति उत्तरदायी छ, न त देशको प्रचलित कानुन र व्यवस्था युवामैत्री छ । देशमा छ त केवल दलाली, घुसखोरी र भ्रष्टहरूको लुटतन्त्र । यस्तो प्रतिकूल परिस्थितिमा युवाहरू सोच्दै छन्, देशको व्यवस्था परिवर्तन भए पनि हाम्रो अवस्था परिवर्तन हुन सकेन ।
आखिर र्२ छाक हात–मुख जोड्नकै लागि विदेशीको गुलामी गर्नुपर्ने कहिलेसम्म ? देशका कर्णधार भर्भराउँदा युवा शक्तिलाई देशमै बस्ने र आफ्नो बुद्धि र पसिना आफ्नै माटोमा खर्च गर्ने व्यवस्था ल्याउन असम्भव बनेकै हो त ? सरकार ! यसको जबाफ कसले दिने ?