२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

पास–फेलमै फर्कियो एसईई, ५२ प्रतिशत विद्यार्थीले कक्षा ११ पढ्न नपाउने

ADV
दिवाकर अधिकारी
२०८१ असार १४ गते ०६:४०
पास–फेलमै फर्कियो एसईई, ५२ प्रतिशत विद्यार्थीले कक्षा ११ पढ्न नपाउने

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५२ प्रतिशत विद्यार्थी नन ग्रेडेड (फेल) भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले बिहीबार सार्वजनिक गरेको एसईईको नतिजाअनुसार २ लाख २२ हजार ४७२ जना (४७.८६ प्रतिशत) विद्यार्थी भने पास भएका छन् ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार १८६ जनाले चार जीपए ल्याएका छन् ।  २२१ जनाको परीक्षा रद्द गरिएको छ । गत चैत १५ गतेदेखि शुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थी सहभागी भएका थिए ।

एसइईको २०७१ सालपछि पहिलो पटक पास र फेलसहितको नतिजा निकालिएको हो । जसमा ५२ प्रतिशत विद्यार्थी अनुतिर्ण भएका छन् । जसले कक्षा ११ पढ्न पाउने छैनन् । 

लेटर ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्न थालिएपछि पास र फेल अंकित नगरी ग्रेडमात्र सार्वजनिक गरिन्थ्यो । कम अंक ल्याउने विद्यार्थीहरूको हकमा समेत माथिल्लो कक्षा पढ्न पाउने अवस्था थियो ।

तर, यसपटक भने ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागु भएसँगै नतिजामा पास र फेलको विवरण दिइएको हो । यो सँगै एसईईको नतिजा २०७१ साल अघिकै अवस्थामा अर्थात, पास र फेलमै फर्किएको छ । 

२०७२ सालदेखिको नतिजा लेटर ग्रेडिङ अनुसार हुँदै आएको थियो । विद्यार्थीहरूलाई ग्रेडअनुसार नै कक्षा ११ मा पढ्न पाउने व्यवस्था गरिएको थियो ।

यो वर्षदेखि भने सैद्धान्तिक र प्रयोगात्मकमा कम्तीमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थीको प्रमाणपत्रमा ‘एनजी’ (नन ग्रेडेड) आउनेछ । उनीहरूले कक्षा ११ मा पढ्न पाउने छैनन् । 

बढीमा दुई विषयमा एनजी आएका विद्यार्थीहरूले एक महिनाभित्र हुने ग्रेड बृद्धि परीक्षामा सहभागी भएर ग्रेड बृद्धि गर्न पाउनेछन् । दुईभन्दा बढी विषयमा एनजी आएका विद्यार्थीले अर्को वर्ष हुने एसईई परीक्षामा सबै विषयको परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।

बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक लाख १५ हजार ८३४ विद्यार्थीले ग्रेड बृद्धि परीक्षा दिन पाउनेछन् । 

शिक्षाविद् प्रा.डा. टंकनाथ शर्मा कमजोर शिक्षा प्रणालीको प्रतिफल एसइई नतिजा भएको बताउँछन् । उनी भन्छन्, ‘परीक्षा लिएर कन्ट्रोल गर्न मात्रै खोज्दा प्रतिफल राम्रो आएन । प्रतिफल सुधार्न पढाई, सिकाइ, बुझाइबारे विश्लेषण र समीक्षा आवश्यक छ ।’ 

तुलनात्मक रुपमा सुदुरपश्चिम प्रदेशका विद्यार्थी सबैभन्दा धेरै फेल भएका छन् । प्रतिशतका दृष्टिमा बागमती प्रदेशका विद्यार्थी सबैभन्दा धेरै पास भएका छन् । 

सुदुरपश्चिम प्रदेशमा ५३ हजार ४ सय ४६ जनाले परीक्षा दिएका थिए । त्यसमध्ये  ३६ हजार ४ सय १० जनाको नतिजा एनजी छ । यो ६८ दशमलब १२ प्रतिशत हो । सुदुरपश्चिम प्रदेशमा ३१.८७ प्रतिशत विद्यार्थी मात्रे पास भए ।

बागमतीमा ६६ प्रतिशत विद्यार्थी पास भए । कोशी प्रदेशका ४७ प्रतिशत विद्यार्थी पास भए । मधेश प्रदेका ४६, गण्डकीका ५०, लुम्बिनीका ३९ र कर्णालीका ४२ प्रतिशत विद्यार्थी पास भए । 

ADVADV

सम्बन्धित खबर

Advertise