रौतहट : रौतहटको गरूडा ईलाका प्रहरी कार्यालयमा नागरिक सहायता कक्ष सुरु गरिएको छ ।
आम नागरिकको गुनासो सुन्न ईप्रकाभित्र रहेको गोलघरमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरिएको हो । जहाँ असहाय, गरिब नागरिकहरुको लागि प्रहरीद्वारा निःशुल्क निवेदन लेखन कार्य सुरुवात गरिएको प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी गराए ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरु भएको सहायता कक्षबाट बुधबारदेखि नै सेवा प्रवाह गरिएको उनले बताए ।
सहायता कक्षबाट आम नागरिकहरूलाई सहज हुने अपेक्षा राखिएको छ । सहायता कक्षबाट नागरिकका गुनासाहरूको सुनुवाइ गरिने प्रहरीको भनाइ छ ।
गरिबको लागि निःशुल्क निवेदन लेख्न प्रहरी उपरीक्षक दिलिप घिमिरेले निर्देशन दिएका थिए । घिमिरेको निर्देशनपछि प्रहरीले विना शुल्क निवेदन लेख्न सुरु गरेको हो ।
निवेदनको खाका जिल्लाको प्रत्येक ईलाका कार्यालयमा पुगेपछि नागरिकलाई अब सहज भएको छ । रौतहटमा घरायसी तथा सामान्य वादविवाद हुँदा पनि प्रहरी कार्यालयमा जाँदा बाहिरबाट सानो ठाडो उजुरी लेखाएर ल्याउन ५ सय रुपैयाँ दिनुपर्ने बाध्यता रहेको थियो । प्रहरीले नै निवेदन लेखिदिएपछि आम नागरिकलाई सहज भएको छ ।