२०८३ मंसिर ७ गते सोमवार / Nov 23 , 2026 , Monday
२०८३ मंसिर ७ गते सोमवार

दिल्लीमा बालेन : नेपाल–भारत सम्बन्धमा नयाँ आयामको खोजी

Nada
जीवन शर्मा
२०८३ मंसिर ७ गते ०६:३५
Shares
दिल्लीमा बालेन : नेपाल–भारत सम्बन्धमा नयाँ आयामको खोजी

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उच्चस्तरीय भ्रमणमा दिल्ली पुगेका छन् । राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिल्ली गएका हुन् । उनको बिदाइमा कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेल अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । 

प्रधानमन्त्री शाहलाई भारतको इन्दिरा गान्धी विमानस्थलमा भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे । प्रधानमन्त्री शाहलाई भारतीय पक्षले नयाँ दिल्लीस्थित होटल ताजमहलमा बस्ने व्यवस्था गरेको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले केही परम्परा तोडेका छन् । 

उनले विमानस्थलमा दिइने गार्ड अर्फ दि अनर लिएनन् । त्यस्तै पत्नी सविना काफ्लेलाई सहभागी गराएका छैनन् । प्रधानमन्त्रीले विदेश भ्रमणपूर्व राष्ट्रपतिलाई जानकारी गराउने परम्परासमेत तोडेका छन् । पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री र विपक्षी दलका नेताहरूसँग समेत कुनै छलफल नगरी नेपालको तर्फबाट एजेन्डा बनाएका छन् । यसलाई सरकारले विगतको परम्परा तोडेको रूपमा व्याख्या गरिएको छ । प्रधानमन्त्री शाहलाई भारतले गार्ड अफ अनरसहित भव्य स्वागत गरेको छ ।  सोमबार मुख्य भेटवार्ताको कार्यतालिका छ । 

यसअघि, अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमण गरेका थिए । केही हप्ताअघि नयाँदिल्लीमा पुगेर एक सार्वजनिक कार्यक्रममा उनले भनेका थिए, ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो !’ विगतमा भारतविरोधी नारा लगाएर केही राजनीतिक नेताहरूले राष्ट्रियताप्रतिको प्रतिबद्धता देखाउन खोजेको संकेत गरेका थिए । 

त्यसअघि परराष्ट्रमन्त्री शिशिर खनालले पनि रास्वपा नेतृत्वको सरकारले भारतसँग सम्बन्ध राख्दा विगतको ‘ब्यागेज’ नबोक्ने बताएका थिए । गत जेठमै भारतीय सत्तापक्ष भाजपाको निमन्त्रणमा भारत गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय अखबार ‘हिन्दुस्तान टाइम्स’मा लेख लेखेर ‘नयाँ पुस्ताको नेतृत्व विगतका कटुता र राजनीतिक बोझबाट मुक्त रहेको’ सन्देश दिएका थिए । 

यी घटनाले वर्तमान सत्तापक्षले भारतसँग नयाँ सम्बन्ध स्थापित गर्न खोजेको देखिन्छ । भारतीय पक्षले पनि नेपालको सत्तारूढसँगको सम्बन्ध विस्तारमा जोड दिएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गत जेठ १७ गते प्रतिनिधिसभाको रोष्ट्रमबाटै ‘भारतले नेपालको मात्रै होइन नेपालले पनि धेरै ठाउँमा भारतको जमिन मिचेको रहेछ’ भनेर अभिव्यक्तिले दिएका थिए । अहिले उनको दुईदिने राजकीय भारत भ्रमणका क्रममा सीमासम्बन्धी विषय छलफलको सूचीमा परेको छैन । नेपालको राजनीतिक तथा कूटनीतिक वृत्तमा प्रधानमन्त्रीसहित रास्वपाका नेता तथा सरकारका मन्त्रीहरूको अभिव्यक्ति र भारत भ्रमणमा हुने छलफलका विषयमा विभिन्न कोणबाट बहस भएका छन् ।   

कतिपले नेपाल र भारतबीचको बर्सौं पुरानो सम्बन्ध र विकास साझेदारीको पुरानो यात्रामा ब्रेक लगाउन हो त ? भन्ने प्रश्न उठाएका छन् भने केहीले सीमा समस्यामा नेपालपक्ष चुप लागेको अवस्थामा भारतीय पक्षले मिचेको सीमा फिर्ता नहुने र थप मिचिँदै जाने टिप्पणीसमेत गरेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकारसमेत रहेका परराष्ट्रविद् राजन भट्टराईले इपिजीको प्रतिवेदन तयार भएको आठ वर्ष बितिसक्दा पनि भारतीय प्रधानमन्त्रीसमक्ष प्रस्तुत हुन नसकेकोप्रति चासो राखेका छन् । प्रतिवेदनमा सीमा व्यवस्थापन, विवादित क्षेत्र र खुला सीमासम्बन्धी विषय समेटिएको उनको भनाइ छ । एकै भ्रमणमा सबै समस्या समाधान नहुने भए पनि आगामी दिनमा यी विषय सम्बोधन गर्न प्रधानमन्त्री शाहको भ्रमणबाट सहजीकरण गरिनुपर्ने भट्टराईले बताए ।

‘सीमा समस्या समाधानका लागि उच्चस्तरीय कूटनीतिक संवाद हुन सकेको छैन,’ उनले मध्यान्हसँग भने, ‘दुवै देशका विज्ञसमूहले बनाएको इपिजीको प्रतिवेदन तयार भएको आठ वर्ष बितिसक्दा पनि भारतीय पक्षले किन स्वीकार गरेको छैन ? प्रधानमन्त्रीको भ्रमणमा नेपालका तर्फबाट यो एजेन्डा बन्नुपर्छ ।’ 

प्रधानमन्त्रीको भ्रमणमा सीमाको विषय एजेन्डामा नपर्दा भविष्यमा सिमानाको नेपालमाथि थप अतिक्रमण हुनसक्ने उनले बताए । खुला सीमा समस्याकै कारण बर्सेनि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमिमा प्रवेश गरेर दुःख दिने गरेका छन् । लिपुलेकस्थित नेपाली भूमि प्रयोग गरेर भारतीय पक्षले चीनसँग जोड्ने सडक बनाएर थप विवाद निकालेको थियो । 

नेपाल अब भारतसँग पुरानो राजनीतिक बोझलाई छाडेर नयाँ सम्बन्ध स्थापित गर्ने बालेन सरकारको योजनाअनुसार भारत भ्रमणको तय भएको सरकारी पक्षको दाबी छ । तर थुप्रै पुराना ‘ब्यागेज’लाई पनि सरकारले नवीकरण गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् । 

उसो त प्रधानमन्त्री शाहले भारत भ्रमणपूर्ण, पूर्वप्रधानमन्त्री, भूराजनीतिका जानकार, पूर्वपरराष्ट्रमन्त्री, पूर्वराजदूत, सहयात्री राजनीतिक दलहरू कसैसँग सल्लाह लिन आवश्यक ठानेनन् । मौजुदा सरकारी संयन्त्रमार्फत भारतीय पक्षसँग गर्नुपर्ने संवादका विषयको सूची बनाएर दुईदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री शाह आइतबार नयाँदिल्ली पुगेका छन् । 

प्रधानमन्त्री बालेनको भारत भ्रमण केवल राजनीतिक भेटघाट मात्रै नभई दुई देशबीच लामो समयदेखिका विकास साझेदारी र आर्थिक सहायतासमेतको विषयलाई उठाउनुपर्ने कूटनीतिज्ञहरूले बताएका छन् । पूर्वराजदूत शंकर शर्माले नेपाल र भारतबीच ऊर्जा क्षेत्रको विकास र व्यापारमार्फत बलियो आर्थिक साझेदारीको दिशामा ठोस प्रगति भइरहेको बताए ।  ‘प्रधानमन्त्री शाहको यो भ्रमणले तीनै विषयहरूलाई ठोस रूप दिनेगरी संवाद हुनुपर्छ,’ उनले भने, ‘नेपालले जलविद्युत् सहकार्य, सीमापार सम्पर्क सञ्जाल र प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदनमा प्रगति खोज्नुपर्छ ।’ सडक तथा हवाई सम्पर्क विस्तार, पेट्रोलियम र ग्यास पाइपलाइन, जलवायु परिवर्तन तथा कृत्रिम बौद्धिकता (एआई)जस्ता विषयमा पनि दुई देशबीच सहकार्यको सम्भावनालाई मूर्त रूप दिने विषयमा संवाद अघि बढाउनुपर्ने शर्माले बताए ।  

जनकपुर–अयोध्याबीच हुने रेल सेवा धार्मिक पर्यटनमा मात्र सीमित नभई दुई देशबीचको जनस्तरको सम्बन्ध सुदृढ गर्ने महत्त्वपूर्ण माध्यम बन्ने उनले भनाइ छ । पछिल्लो समय नेपाली नागरिकमा अयोध्या, बनारसलगायत धार्मिक तथा सांस्कृतिक स्थलहरूको भ्रमण गर्ने आकर्षण बढ्दै गएकाले रेल सेवाललाई अघि बढाउनुपर्ने उनले सुझाव दिएका छन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकारसहित ३४ सदस्य छन् । भ्रमणको उपलब्धि समझदारीपत्रमा हस्ताक्षर वा परियोजना उद्घाटनमा मात्र सीमित हुनु नहुने भन्दै लामो समयदेखि रोकिएका आयोजना अघि बढाउने, विद्युत् व्यापारमा देखिएका अवरोध हटाउने, हवाई सम्पर्क विस्तार गर्ने र इपिजी प्रतिवेदनजस्ता विषयमा संवाद अघि बढाउने प्रतिबद्धता आउनुपर्ने विज्ञहरूले बताएका छन् ।   

प्रधानमन्त्रीस्तरीय ११औं भ्रमण 

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएपछि नेपालको तर्फबाट भारतीय प्रधानमन्त्रीको निमन्त्रणमा भ्रमण गर्ने बालेन ११औं प्रधानमन्त्री हुन् । यसअघि २०६३ सालको अन्तरिम सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि २०७९ मा प्रधानमन्त्री बनेका नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसमेत गरी १० प्रधानमन्त्रीले भारत भ्रमण गरिसकेका थिए । 

यसबीचका शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड पटक–पटक प्रधानमन्त्री भएर भारतको राजकीय भ्रमण गरे । माधवकुमार नेपाल, बाबुराम भट्टराईले पनि प्रधानमन्त्रीस्तरीय भ्रमण गरेका थिए । यसबीचमा नेपाल र भारतीय पक्षबीच धेरै सहमति र सहकार्य भएका छन् । कतिपय सम्झौता कार्यान्वयन भएका छैनन् । भ्रमणका क्रममा कनेक्टिभिटी, ऊर्जा विकास तथा विस्तार, सडकदेखि कृषि, पर्यटन र रेलसेवा विस्तारको सम्झौता भएका छन् । राजनीतिक अस्थिरता भइरहने नेपालमा कतिपय प्रधानमन्त्री सम्झौता गरेर आएका योजना अर्को सरकारका पालासम्म कार्यान्वयन हुन नसक्ने र नयाँ सरकारले पुनः सम्झौता गरेका परम्परा छन् । 

वर्तमान सरकारले विगतका भन्दा नयाँ योजनालाई प्राथमिकता दिन खोजेको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाह र  भारतीय विदेशमन्त्री  डा. एस. जयशंकरबीच आइतबार साँझ शिष्टाचार भेट भएको छ ।  नयाँदिल्लीस्थित होटल ताजमहलमा भएको उक्त शिष्टाचार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायत क्षेत्रमा सहकार्यबारे छलफल भएको प्रधानमन्त्री बालेनको सचिवालयले जनाएको छ । भेटमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने कुराकानी भएको बताइएको छ । सोमबार प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ । सो क्रममा केही सम्पन्न विकास योजनाको उद्घाटन र नयाँ शिल्यान्यास हुनेछ भने १० योजनाको दृष्टिपत्रमा द्विपक्षीय हस्ताक्षर हुने भ्रमणदलमा रहेकी प्रधानमन्त्री शाहकी प्रेस संयोजक दीपा दाहालले बताइन् । यस अवसरमा नेपालले झन्डै डेढ दशकदेखि उठाइरहेको नयाँ हवाई प्रवेश विन्दु ‘एयर रुट’मा ‘ब्रेक थ्रु’ हुनसक्ने सम्बद्ध पक्षले दाबी गरेको छ । डेढ दशकदेखि कूटनीतिक तथा प्राविधिक तहमा छलफल हुँदै आएको र निष्कर्षमा पुग्न नसकेको नयाँ हवाईमार्गको विषयमा पछिल्लो समय भारतीय पक्ष सकारात्मक देखिएको छ । 

स्वागतको कूटनीतिक अर्थ 

दुईदिने राजकीय भ्रमणका भारत गएका प्रधानमन्त्री बालेन शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे । एक देशका प्रधानमन्त्री अर्को देशकोे औपचारिक भ्रमणमा जाँदा विमानस्थलमा स्वागत गर्न को पुग्छ भन्ने विषयले कूटनीतिक अर्थ राख्ने गरेको छ । 

विमानस्थलमा स्वागत गर्न आउने पदाधिकारीको तहले दुई देशबीचको सम्बन्ध तथा राजनीतिक महत्त्व झल्काउने विज्ञहरू बताउँछन् । विगतमा नेपाली प्रधानमन्त्रीलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री आफैं विमानस्थल पुगेका उदाहरण कमै छन् । नेपालका अधिकांश प्रधानमन्त्रीको भ्रमणमा राज्यमन्त्रीले नै स्वागत गर्ने गरेका छन् । 

२०६२/६३ को जनआन्दोलनपछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालालाई स्वागत गर्न भारतीय प्रधानमन्त्री मनमोहन सिंह आफैं विमानस्थल पुगेका थिए । २०७२ र २०७४ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा मन्त्रीले स्वागत गरेका थिए । त्यस्तै, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई विभिन्न भ्रमणमा भिन्नभिन्न ढंगले स्वागत भएको छ । उनलाई कहिले मन्त्री त कहिले राज्यमन्त्रीले स्वागत गरेका थिए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई राज्यमन्त्रीस्तरबाटै स्वागत गरिएको थियो । प्रधानमन्त्री बाबुराम भट्टराईलाई त विदेश मन्त्रालयका उच्च अधिकारीले मात्रै स्वागत गरेको उदाहरण पनि छ । अहिले भ्रमणमा रहेका बालेनलाई पनि राज्यमन्त्रीले स्वागत गर्नुलाई भारतले अघिल्ला प्रधानमन्त्रीभन्दा अतिरिक्त व्यवहार नदेखाएको विश्लेषण गरिएको छ ।

laxmi recruitement

सम्बन्धित खबर