२०८३ मंसिर ७ गते सोमवार / Nov 23 , 2026 , Monday
२०८३ मंसिर ७ गते सोमवार

क्रिकेटको नयाँ अध्याय

Nada
२०८३ मंसिर ७ गते ०६:१०
Shares
क्रिकेटको नयाँ अध्याय

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणले नेपाली क्रिकेटको सम्भावना र लोकप्रियता दुवैलाई थप उचाइ दिएको छ । तीन शतक, रोमाञ्चक खेल, दर्शकको उत्साह र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को आधिकारिक मान्यताले प्रतियोगितालाई नयाँ स्तरमा पुर्‍याएका छन् । सुदूरपश्चिम रोयल्सले फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पहिलोपटक उपाधि जित्नु यस संस्करणको अर्को ऐतिहासिक उपलब्धि बन्यो । तर, एनपिएलको सफलता मैदानमा बनेका कीर्तिमान र बाँडिएका पुरस्कारमा मात्र सीमित हुनु हुँदैन । अब यसको वास्तविक परिणाम नेपाली क्रिकेटको दीर्घकालीन विकासमा देखिनुपर्छ । 

तीन वर्षमै एनपिएलले क्रिकेटलाई सीमित खेलप्रेमीको रुचिबाट आमदर्शकको चासोमा पुर्‍याएको छ । निजी क्षेत्रको लगानी, फ्रेन्चाइज टोलीको प्रतिस्पर्धा, विदेशी खेलाडीको सहभागिता र दर्शकको उल्लेख्य उपस्थितिले व्यावसायिक क्रिकेटको सम्भावना देखाएका छन् । डिआरएसको प्रयोग र आइसिसीको मान्यताले प्रतियोगिताको विश्वसनीयता पनि बढाएको छ । बिदेसी कमेन्टेटरले नेपालको कला, संस्कृति र पर्यटनबारे चर्चा गर्नु तथा अन्तर्राष्ट्रिय खेलाडीले नेपालबारे सकारात्मक धारणा राख्नु देशको पहिचान विस्तारका अवसर हुन् । तर, यति ठुलो प्रतियोगितामा नेपाली भाषाको कमेन्ट्री नहुनु कमजोरी हो । नेपाली दर्शकले आफ्नै देशको घरेलु प्रतियोगिता बुझ्न बिदेसी भाषामा निर्भर हुनुपर्ने अवस्था अन्त्य गरिनुपर्छ । त्यस्तै, तीनै संस्करण काठमाडौंमा सीमित हुनु पनि उचित होइन । क्रिकेटको लोकप्रियता देशव्यापी बनाउने हो भने मोफसलका सहरमा प्रतियोगिता विस्तार गर्नुपर्छ ।

यसपटक राष्ट्रिय टोलीका पाँच खेलाडी एनपिएलका कारण एसिसी मेन्स एसिया कप राइजिङ स्टार्समा सहभागी हुन नपाएको विषयले प्रतियोगिता तालिका निर्माणमा गम्भीर समन्वय आवश्यक रहेको देखाएको छ । फ्रेन्चाइज प्रतियोगिता महत्त्वपूर्ण भए पनि राष्ट्रिय टोलीको प्रतिनिधित्व हुने अन्तर्राष्ट्रिय प्रतियोगिता प्राथमिकतामा पर्नुपर्छ । खेलाडीको व्यस्तता, विश्राम र राष्ट्रिय दायित्वलाई ध्यानमा राखेर क्यानले क्रिकेट क्यालेन्डर बनाउनुपर्छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले एनपिएलको छैटौं संस्करणदेखि होम एन्ड अवे प्रणाली लागू गर्ने र आठवटै क्लबका लागि फ्लडलाइटसहितका रंगशाला निर्माण गर्ने घोषणा गर्नु सकारात्मक छ । तर, घोषणा आफैंमा उपलब्धि होइन । त्यसका लागि स्पष्ट योजना, बजेट, समयसीमा र पारदर्शी कार्यान्वयन आवश्यक छ । रंगशाला निर्माणसँगै स्थानीय खेलाडी उत्पादन, प्रशिक्षण, प्रतियोगिता र खेल व्यवस्थापनमा पनि लगानी हुनुपर्छ । एनपिएलले नेपाली क्रिकेटको सम्भावना देखाएको छ । अब त्यसलाई दिगो उपलब्धिमा बदल्ने जिम्मेवारी सरकार, क्यान र निजी क्षेत्रको हो । दर्शकको उत्साहलाई पूर्वाधार, प्रतिभा र व्यावसायिकतामा रूपान्तरण गर्न सके मात्र एनपिएलसँगै नेपाली क्रिकेटको नयाँ अध्याय सुरु भएको मानिनेछ ।

laxmi recruitement

सम्बन्धित खबर