
तेस्रो संस्करणको फाइनलमा मुन्सीले ५४ बलमा अविजित १२५ रन बनाएर सुदूरपश्चिमलाई पहिलोपटक उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेले । लगातार तेस्रोपटक फाइनल पुगेको सुदूरपश्चिमले गत वर्षको हारको बदला लिँदै लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्यो । यसअघि दुई संस्करणमा उपविजेतामै सीमित हुनुपरेको टोलीका लागि यो ऐतिहासिक सफलता बन्यो ।
मुन्सीले फाइनलमा १२ छक्का र आठ चौका प्रहार गरे । यसअघि लुम्बिनीविरुद्धको पहिलो खेलमा शून्य र चितवनसँगको खेलमा आठ रनमा आउट भएका उनी अघिल्लो संस्करणमा विराटनगर किंग्सबाट खेल्दा पनि खासै प्रभावशाली देखिएका थिएनन् । तर, फाइनलमा उनको प्रदर्शन अविस्मरणीय रह्यो ।
लुम्बिनी भने अपराजित रहँदै फाइनल पुग्ने पहिलो टोली बनेको थियो । पहिलो संस्करणमा पुछारमा रहेको लुम्बिनीले दोस्रो संस्करणमा उपाधि जितेको थियो । यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगे पनि उपाधि जोगाउन सकेन ।
व्यक्तिगत प्रदर्शनतर्फ चितवन राइनोजका नेपाली बलर रिजन ढकालले सर्वाधिक १७ विकेट लिए । पोखरा एभेन्जर्सका युवराज सामराले सर्वाधिक २९४ रन बनाए भने विराटनगरका लोकेश बमले २४२ रन बनाए । प्रतियोगितामा सर्वाधिक १८ छक्का प्रहार गर्ने खेलाडी पनि लोकेश नै बने । सामराले सर्वाधिक २९ चौका प्रहार गरे । नेपालका सन्दीप लामिछानेले एउटै खेलमा ६ विकेट लिएर अर्को कीर्तिमान बनाए ।
नेपालमा आयोजना भएका खेलकुद प्रतियोगितामध्ये एनपिएलमा सर्वाधिक पुरस्कार राशि प्रदान गरिएको छ । निजी क्षेत्रको लगानीमा सञ्चालित आठ फ्रेन्चाइज टोलीको प्रतियोगितामा व्यावसायिक प्रतिष्ठानको सहभागिता र प्रायोजनले पुरस्कार राशि बढाउन सहयोग गरेको छ । उपाधि विजेता सुदूरपश्चिम, उपविजेता लुम्बिनी, तेस्रो भएको चितवन र चौथो भएको काठमाडौं गोर्खाजले करोडौं रुपैयाँ पुरस्कार पाए । विभिन्न टोलीका नेपाली तथा विदेशी खेलाडीले पनि लाखौं रुपैयाँ पुरस्कार प्राप्त गरे ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । उनले २१८ रन र ६ विकेट लिएका थिए । यसबापत उनले पाँच लाख रुपैयाँ नगद पुरस्कार पाए । फाइनलका उत्कृष्ट खेलाडी मुन्सीले चारवटा छुट्टाछुट्टै पुरस्कार हात पारे ।
सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित चितवनका २७ वर्षीय रिजन ढकालले करिब ६५ लाख रुपैयाँ मूल्यको ओमोडा कार जिते । आठ खेलमा १७ विकेट लिएका उनले गोल्डेन क्यापसँगै मोटरसाइकल र दुई लाख रुपैयाँ नगद पुरस्कार पनि पाए । जनकपुर बोल्ट्सबाट खेलेका १६ वर्षीय राहुल यादव इमर्जिङ प्लेयर घोषित भए । प्रतिभा छनोट शिविरबाट टोलीमा स्थान बनाएका उनले १२ विकेट लिएका थिए । कक्षा ९ मा अध्ययनरत राहुलले मोटरसाइकल पुरस्कार पाए ।
नेपाली दर्शकमाझ ‘तक्लु दाइ’का नामले परिचित स्कटल्यान्डका टेलिभिजन कमेन्टेटर एन्ड्रयु लियोनार्डसहित बिदेसी कमेन्टेटरहरूले प्रतियोगिताका क्रममा नेपालको कला, संस्कृति, प्राकृतिक सौन्दर्य र मौलिकताबारे जानकारी दिएका थिए । फाइनलमा सबै कमेन्टेटर नेपाली ढाका टोपी र मौलिक पोसाकमा देखिए । उनीहरूको प्रस्तुतिले नेपालको पर्यटन प्रवर्धनमा समेत योगदान पुर्याउने अपेक्षा गर्न सकिन्छ ।
एनपिएल खेल्न आएका विभिन्न देशका चर्चित खेलाडीले सगरमाथालगायत पर्यटकीय क्षेत्रमा गरेको भ्रमण र नेपालबारे दिएका अभिव्यक्तिले पनि अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान विस्तार गर्न सहयोग पुग्नेछ ।
दर्शकको अपार समर्थन
जाडो बढ्दै गएको अवस्थामा रातिसम्म पनि मैदानमा दर्शकको उल्लेख्य उपस्थिति रहनु एनपिएलको अर्को सफलता हो । उद्घाटन र फाइनललगायत खेलको टिकट छोटो समयमै बिक्री हुनु क्रिकेटप्रतिको बढ्दो आकर्षणको प्रमाण हो । फाइनलको टिकट नपाएका दर्शकले विरोधसमेत गरेका थिए । त्यसपछि नेपाल क्रिकेट संघ (क्यान)ले आधिकारिक डिजिटल प्लेटफर्ममार्फत खेल हेरेर समर्थन गर्न आग्रह गर्नुपरेको थियो ।
तेस्रो संस्करणसम्म आइपुग्दा एनपिएलले क्रिकेटलाई सीमित खेलप्रेमीको रुचिबाट बाहिर ल्याएर आमनेपालीको चासोको विषय बनाउन सफल भएको छ । यसले नेपाललाई विश्वभरका क्रिकेटप्रेमीको ध्यान तान्ने माध्यम पनि बनाएको छ ।
आठ फ्रेन्चाइज टोलीबीचको प्रतिस्पर्धाले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना विस्तार गरेको छ । निजी लगानी, प्रायोजन, विज्ञापन र खेल व्यवस्थापनमा नयाँ अवसर सिर्जना भएका छन् । तीन वर्षको अवधिमा एनपिएलले नेपाली क्रिकेटलाई व्यावसायिक उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ । नेपाली क्रिकेटले पछिल्लो समय प्राप्त गरेको लोकप्रियता र अन्तर्राष्ट्रिय पहिचानलाई थप विस्तार गर्न यो प्रतियोगिता उपयोगी बनेको छ ।
बिदेसी खेलाडीको सहभागिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडीसँग प्रतिस्पर्धा गर्ने, सिक्ने र आफ्नो क्षमता परीक्षण गर्ने अवसर दिएको छ । नयाँ तथा प्रतिभाशाली खेलाडीले आफ्नो खेल देखाउने मञ्च पाएका छन् । उत्कृष्ट प्रदर्शन गरेका केही खेलाडीले राष्ट्रिय टोलीमा समेत स्थान बनाउने अवसर प्राप्त गरेका छन् ।
अन्तर्राष्ट्रिय मान्यता
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले एनपिएलको तेस्रो संस्करणलाई आधिकारिक मान्यता दिनु यसपटकको महत्त्वपूर्ण उपलब्धि हो । प्रतियोगितामा खेलाडीले बनाएका रन र लिएका विकेट आधिकारिक टी–२० तथ्यांकमा समावेश हुने भएपछि उनीहरूको प्रदर्शनको दीर्घकालीन महत्त्व बढेको छ ।
यसै संस्करणमा लागू गरिएको डिसिजन रिभ्यु सिस्टम (डिआरएस)ले अम्पायरका निर्णयलाई थप विश्वसनीय बनाउन सहयोग गर्यो । यसले प्रतियोगिताको निष्पक्षता र व्यावसायिक स्तर बढाएको छ । एनपिएल सञ्चालन भइरहेकै समयमा नेपालमा आइसिसीको क्षेत्रीय सम्मेलन आयोजना हुनु पनि अर्को उपलब्धि हो । विभिन्न देशका क्रिकेट पदाधिकारीले दोस्रो क्वालिफायर र फाइनल खेल अवलोकन गरेका थिए ।
एनपिएलको एउटा कमजोर पक्ष नेपाली भाषामा टेलिभिजन कमेन्ट्री नहुनु हो । नेपाली क्रिकेटको व्यावसायिक विकास र अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको घरेलु प्रतियोगिता हेर्न नेपाली दर्शक अंग्र्रेजी कमेन्ट्री सुन्न बाध्य भए ।
विश्वभरका दर्शकलाई लक्षित गरेर प्रत्यक्ष प्रसारण गरिए पनि नेपाली दर्शकका लागि नेपाली भाषाको प्रसारणलाई प्राथमिकता दिनुपथ्र्यो । नेपाली कमेन्ट्रीले खेलको प्राविधिक पक्ष, रणनीति र खेलाडीको प्रदर्शन बुझ्न सहज बनाउनुका साथै दर्शकको अपनत्व र उत्साह बढाउँछ । आगामी संस्करणमा आयोजक र प्रसारण अधिकार प्राप्त संस्थाले यस विषयलाई गम्भीरतापूर्वक लिन आवश्यक छ ।
एनपिएलका तीनवटै संस्करण काठमाडौंमा आयोजना भएका छन् । अब प्रतियोगितालाई राजधानीबाहिरका सहरमा पनि विस्तार गर्नुपर्छ । यसो गर्दा उपत्यकाबाहिर खेलकुद पूर्वाधार विकास हुने र स्थानीय दर्शक तथा खेलाडीले बढी अवसर पाउनेछन् । क्रिकेटको लोकप्रियता देशभर विस्तार गर्न पनि मोफसलमा प्रतियोगिता आयोजना गर्नु आवश्यक छ ।
आगामी संस्करणका चुनौती
एनपिएललाई अझ व्यवस्थित बनाउन प्रतियोगिता अवधिभर सहभागी खेलाडीले अर्को प्रतियोगिता खेल्न नपाउने नियम कडाइका साथ लागू गर्नुपर्छ । तर, प्रतियोगिताको क्यालेन्डर बनाउँदा राष्ट्रिय टोलीले खेल्नुपर्ने अन्य महत्त्वपूर्ण प्रतियोगितालाई पनि ध्यान दिनुपर्छ ।
यसपटक एनपिएल नसकिँदै नेपालले कतारको दोहामा मंसिर ३ देखि सुरु भएको एसिसी मेन्स एसिया कप राइजिङ स्टार्समा टोली पठाएको थियो । एनपिएलका कारण १५ सदस्यीय टोलीमा घोषित पाँच खेलाडी कतार जान नपाउँदा भारत ‘ए’सँग नेपालको प्रदर्शन कमजोर रह्यो । राष्ट्रिय टोलीको प्रतिनिधित्व हुने प्रतियोगितालाई क्यानले प्राथमिकता दिनुपर्ने थियो । दोहामा नेपालका खेल बाँकी रहेकाले यसतर्फ थप सचेतता आवश्यक छ ।
सन् २०२७ मा पनि नेपालको क्रिकेट क्यालेन्डर व्यस्त रहनेछ । विभिन्न देशमा प्रतियोगिता खेल्ने क्रममा नेपालले क्रिकेटको ऐतिहासिक मैदान लड्र्समा पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर पाउनेछ । बंगलादेश, स्कटल्यान्ड र आयरल्यान्डसँग हुने खेलले नेपाली क्रिकेटलाई थप परिष्कृत बनाउने अपेक्षा गर्न सकिन्छ ।
एनपिएलको फाइनलमा सुदूरपश्चिमलाई बधाई दिँदै प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेटको पूर्वाधार विकाससम्बन्धी महत्त्वपूर्ण घोषणा गरेका छन् । उनका अनुसार एनपिएलको छैटौं संस्करणदेखि प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने तयारी छ । त्यसका लागि आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गरिनेछन् । सरकारले ती रंगशाला निर्माण गर्ने जिम्मेवारी लिने घोषणा गरेको छ ।
सुदूरपश्चिमको फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको र आगामी तीन महिनाभित्र अन्य रंगशालाको प्रक्रिया पनि अघि बढाइने बताइएको छ । योजनाअनुसार विराटनगरका लागि बैजनाथपुर, लुम्बिनीका लागि सिद्धार्थ, कर्णालीका लागि सुर्खेत, सुदूरपश्चिमका लागि फाप्ला, काठमाडौंका लागि कीर्तिपुर, पोखराका लागि पोखरा, जनकपुरका लागि रामजानकी र चितवनका लागि गौतमबुद्ध क्रिकेट रंगशालाको व्यवस्था गरिनेछ ।
यो योजना कार्यान्वयन हुन सके एनपिएल काठमाडौंमा सीमित रहने छैन । देशका विभिन्न क्षेत्रमा क्रिकेटको पूर्वाधार विकास हुनेछ र स्थानीय खेलाडीले आफ्नै ठाउँमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । व्यावसायिक क्रिकेटको विकास र विस्तारका लागि पूर्वाधार निर्माणमा सरकारको अग्रसरता सकारात्मक छ । यसले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट नक्सामा बलियो पहिचान बनाउन सहयोग पुर्याउने अपेक्षा गर्न सकिन्छ ।
(वरिष्ठ खेल पत्रकार सिलवालको यो लेख राससबाट लिइएको हो ।)