२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

उद्यमी बन्दै बैतडीका महिला

draupadi film
ललित बोहरा
२०८१ फागुन ३ गते २१:१३
उद्यमी बन्दै बैतडीका महिला

बैतडी : परम्परागत व्यवसाय र घरायसी काममा सिमित महिलाहरु विभिन्न सीप सिकेर व्यवसाय गर्न थालेका छन् । परम्परागत खाद्यन्न बालीले जिवीका धान्न समस्या भएपछि यहाँका ग्रामीण महिला सीप सिकेर आत्मनिर्भर बन्न थालेका हुन् । 

जसको उदाहरण बैतडीको दुर्गम स्थानीय तह सिगास र सुर्नया गाउँपालिकाका २० जना महिलाहरुले विभिन्न सीप सिकेर उद्यमी बनेका छन् । उनीहरु अहिले आर्थिक रुपमा आत्मनिर्भरतर्फ उन्मुख हुँदैछन् । सुर्नया गाउँपालिका वडा नम्बर ६ मुसे बजारमा ब्यूटीपार्लर तालिम सिकेपछि उनले पसल पनि सञ्चालन गरिरहेकी छन् ।

यसअघि उनी सामान्य सिलाइ कटाइ गर्दै आएकी थिइन् । उनलाई एक संस्थाले पार्लरको तालिम दिएपछि व्यवसाय सुरु गरिकी हुन् । मुसेबजारमा उनले कपडा सिलाउने पसल र अनुहार सुन्दर बनाउने ब्यूटीपार्लरको पसल सञ्चालन गरिरहेकी छन् । दलित समुदायकी महिलाको दुई पसल सञ्चालन गरेको आँटले ग्रामीण महिलालाई व्यवसायिक बन्न उर्जा थपेको छ ।

गोमतीको आम्दानी दैनिक दुईदेखि तीन हजार हुने गरेको छ भने महिनाकै ६० देखि ८० हजारसम्म बचत गर्न सक्ने भएकी छन् । उनले भनिन्,‘तालिम पाएपछि पार्लर सुरु गरे । विवाहको महिनामा राम्रो आम्दानी छ । व्यवसायलाई थप बढाउने सोचमा छु ।’ सानो ठाउँमा व्यवसाय सुरु गरेकी गोमतीलाई अब ठूलो पसल सञ्चालन गर्ने हुटहुटी जागेको छ । 

गोमती जस्तै सिगास गाउँपालिका २ गाजरीकी निर्मला धामीले पनि दुई महिना सिलाइ सिकेर स्थानीय बजार गाजरीमा पसल सञ्चालन गरेकी छिन् । तरकारी खेतीमा समय दिने उनले तरकारी सिजन बाहेकको समय सिलाइ कटाइमा दिन थालेकी छन् । ‘तालिम विभिन्न समयमा लिएकी छु । तरकारी उत्पादन ठिकै छ । त्यो भन्दा नगद व्यवसाय सिलाइ कटाइ छ’ उनले भनिन्, ‘घरबाट रकम माग्नुपर्ने अवस्था छैन् । कमाएर अहिले बरु घरमै दिन्छौं ।’

गाउँमा दलित समुदायले गर्दै आएको सिलाइ कटाइ पेशा भनेर हेपिने दिन नगद आम्दानीले कमी भएको धामीको भनाइ छ । 

यता सुनर्या गाउँपालिका ६ की शान्ति चन्दले पनि मुसे बजारमा सिलाइ पसल सञ्चालन गरेकी छिन् । साडा नेपालले दुई महिना तालिम दिएपछि उनले व्यवसायिक रुपमा सिलाइ कटाइ पसल सञ्चालन गरेर मनग्य आम्दानी गरिरहेकी छिन् । 

यसैगरी दुबै पालिकाबाट चार जना महिलाले सवारी चालक तालिम लिएर तीन जनाले लाइसेन्स समेत लिइसकेका छन् । उनीहरुलाई डडेल्धुरामा तीन महिना सवारी चालक तालिम दिइएको थियो । उनीहरुले अनुमती पत्र समेत लिएर पहाडका मुम्तीमा गाडी हाक्न तम्सीएका छन् । स्थानीय मानमती भट्टले भनिन्,‘तीन महिनामै चालक अनुमती पत्र लिएका छौं, यहाँका सवारी धनीले गाडी दिए भने चलाउन तयार छौँ, सक्षम पनि छौं ।’ 

ADV

सम्बन्धित खबर

Advertise