काठमाडौं : नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघले संशोधित कार्यविधि लागू गराउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्करको ध्यानाकर्षण गराएको छ ।
सोमबार मन्त्रालयमा सचिव पुष्करसँग भेट गरी अभिमुखीकरण तालिमलाई व्यवस्थित गर्ने विषयमा छलफल गरेको महासंघका अध्यक्ष राजाराम गौतमले बताए । उनले कार्यविधिमा समयसापेक्षरूपमा संशोधन भएको भएपनि केही गलत व्यक्तिको दुष्प्रचारका कारण कार्यान्वयन गराउन मन्त्रालय पछि हटेपनि हाल सर्वोच्च अदालतले संशोधित कार्यविधि रोक्न नमिल्ने आदेश गरिसकेको अवस्थामा पनि मन्त्रालय चुप लागेर बस्नु कामदारको पक्षमा नभइ अरु कसैको पक्षमा रहेको हो कि भन्ने आशंका उत्पन्न भएको उल्लेख गरेका थिए ।
जवाफमा सचिव पुष्करले अभीमुखीकरण तालीम राज्यको नीति भएको हुँदा यसलाई गम्भीर रूपमा लिएको भन्दै भएका समस्या तत्काल सम्बोधन गर्ने आश्वासन दिएका छन् ।
तालिमलाई व्यवस्थित र आधुनिकीकरण गर्ने सम्बन्धमा यसको गुणस्तर कायम गर्न शुल्कमा समायोजन आवश्यक रहेकाले यसका लागि सरोकारवाला पक्षसँग छलफल चलाउने आश्वासन पनि सचिव पुष्करले दिएको भन्दै अध्यक्ष गौतमले वैदेशिक रोजगार ऐन संशोधन गर्दा पूर्वप्रस्थन तालिमको विकल्प नखोज्ने धारणा राखेको बताए ।
पूर्वप्रस्थान तालिम व्यवस्थित गर्न कडाइका साथ लाग्न महाशाखा र सरोकारवाला निकायलाई निर्देशन दिने प्रतिबद्धता पनि सचिवबाट पाएको अध्यक्ष गौतमले बताए ।
वैदेशिक रोजगारमा जाने कामदारका लागि सरकारले उल्लेखनीय काम गर्न नसकिरहेको अवस्थामा तालिम व्यवसायीले कामदारको पक्षमा सकेको सकारात्मक काम गरेको टिप्पणी गर्दै सचिव पुष्करले मन्त्रालय सधैंभरि सामूहिक लाभको नीतिअनुसार कार्यगर्ने भएकाले संशोधित कार्यविधिमा उल्लेख सकारात्मक पक्षहरूलाई पालना गर्न मन्त्रालय अग्रसर हुने बताएको अध्यक्ष गौतमले मध्यान्ह दैनिकलाई जानकारी दिए ।