अर्घाखाँची : अर्घाखाँची सन्धिखर्क क्याम्पस रोडकी रमा केसी अहिले सफल व्यवसायी बनेकी छन् । चाउचाउ उद्योगबाट उनले मनग्य आम्दानी गर्दै आएकी छन् । २०६१ असोज २९ गते श्रीमानको निधनपछि सहारा विहीन बनेकी४५ वर्षीया रमाले अहिले अन्य व्यक्तिहरुलाई समेत रोजगारी दिएकी छन् ।
उनी भन्छिन्,‘माया दिने श्रीमानको निधनपछि ३ छोरीलाई लालनपालन र शिक्षा दिने जिम्मेवारीसहित १० लाख ऋण र चाउचाउ उद्योग सञ्चालन गर्ने जिम्मेवारीसहित मैले आँट बढाए ।’
केसीका श्रीमानको पेट सम्बन्धी रोगका कारण मृत्यु भएको थियो । भारतको नोकरीबाट परिवार पाल्न नसकेपछि २०५९ सालमा नेपाल फर्किएर कृषि विकास बैंकबाट केसीका श्रीमानले १ लाख रुपैयाँ ऋण लिएका व्यवसायको थालनी गरेका थिए । उनले हाते मेसिनबाट हिमाली नामक चाउचाउ बनाएर परिवार पाल्ने सोच बनाएका थिए ।
श्रीमानको मृत्युपछि रमा उद्योग चलाउने वा बन्द गर्ने दोधारमा थिइन् । घरपरिवार, आफन्त र छिमेकीले किरिया खर्चका लागि उद्योगका सामानहरू लिलाममा बिक्री गर्न सल्लाह दिएपनि उनले त्यो सल्लाह मानिनन् ।
यही चाउचाउ खाएर श्रीमान मरेको भन्ने हल्ला चलेपछि बजारबाट समेत चाउचाउ फिर्ता हुन थालेको उनी बताउँछिन् । तर पनि उनले चाउचाउ बनाउन छाडिनन् । बिस्तारै बजार पाउँदै गएपछि अहिले ६० किलो मैदाको १२ सय पीस हिमाली चाउचाउ उत्पादन हुन थालेको छ । रमाले उत्पादन गरेको चाउचाउ अर्घाखाँचीका सबै गाउँसहित गुल्मी, प्यूठान, पाल्पा लगायतका जिल्लामा बिक्री गर्ने गरिएको छ । उनले यस अवधिमा घरको सबै ऋण तिरेर ३ तले पक्की घर सन्धिखर्क पाणिनी चोकमा बनाइ सकेकी छिन् । ३ छोरीलाई त्यहि कमाइबाट उनले पढाइन् ।
सो उद्योगमा ८ जनाले रोजगारी पाएका छन् । माग बढी भएपछि कृषि विकास बैंकबाट ६ लाख रुपैयाँ ऋण लिएर आधुनिक मेसिन ल्याएर व्यवसाय फस्टाउन सफल भएको रमा बताउँछिन् ।
केही वर्ष अघि कृषि तथा सहकारी मन्त्रालयको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हिमाली चाउचाउको गुणस्तर मापन गर्दा नेपालमा गुणस्तरीय चाउचाउमा दोस्रो छनोट भएपछि तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले पुरस्कार र प्रशंसा पत्र दिएको र अहिले भने सरकारका धेरै निकायबाट सहयोग प्रशंसा पत्र पुरस्कार प्राप्त गरेको उनले बताइन् ।
बैंकको ब्याज, ८ जनालाई तलब, घरखर्च लगायत सबै कटाएर मासिक ५० हजार रुपैयाँ बैंक बचत भएको र १० हजारबाट सुरु भएको उद्योग अहिले ३० लाख लगानी पुगेको उनको भनाइ छ । महिला उद्यमीहरुको अध्यक्ष समेत रहेकी रमालाई घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँची र सन्धिखर्क नगरपालिका अर्घाखाँची उद्योग वाणिज्य संघ अर्घाखाँचीले धेरै सहयोग गरेका छन् । रमाले गरेको यो उदाहरणीय कामबाट सबैले पाठ सिक्नुपर्ने उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप मिश्रले बताउँछन् ।