२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

रुकुमपूर्वमा मकै भण्डारण गर्ने पुरानै शैली, परम्परा जोगाउने प्रयास

shivam cement
बालाराम शेर्पाली
२०८२ कार्तिक १७ गते २०:३०
Shares
रुकुमपूर्वमा मकै भण्डारण गर्ने पुरानै शैली, परम्परा जोगाउने प्रयास

रुकुमपूर्व : रुकुमपूर्वका ग्रामीण बासिन्दाले अपनाउने मकै भण्डारणको तरिका केवल परम्परागत मात्रै नभइ अत्यन्त प्रभावकारी पनि देखिएको छ ।

भौगोलिक विकटताका कारण आधुनिक प्रविधिको पहुँच नपुगेका किसानले आफ्ना अन्नबालीलाई सुरक्षित राख्न आफ्नै सीप र ज्ञानमा आधारित मौलिक विधि प्रयोग गर्दै आएका छन् ।

पहेंलो माटो र सतो कमिरोले टालिएका घर, खरको छानो र छतमा झुण्डिएका मकैका धोक्राले सजिएका गाउँहरू कात्तिक महिनाको सुरुवातसँगै झन् आकर्षक देखिन्छन् । भूमे गाउँपालिकाका महत, लुगुम, धर्मशाला, लाबाङ, गुनाम, सिमा लगायतका वडासँगै पुथा उत्तरगंगा र सव गाउँपालिकाका विभिन्न गाउँहरूमा हिउँद लागेपछि हरेक घरमा मकैको थुप्रो झुण्डिएको दृश्य पाइन्छ । किसानहरूले बारीबाट भाँचेर ल्याइएका मकैलाई बाँसको निङ्गलाबाट बनाइएको ‘धोक्रा’मा राखेर घाममा सुकाउने गर्छन् । 

यसरी सुकाउँदा मकै रोग र कीराबाट बच्ने मात्र होइन, ढिडो बनाउनका लागि पनि स्वादिलो हुने उनीहरूको अनुभव छ । रुकुमपूर्वका गाउँहरू दुर्गम भएपनि आफ्नै मौलिकता र सौन्दर्यले भरिएका छन् । घर–घरमा झुण्डिएको मकैको दृश्यले गाउँलाई सुनौलो र कलात्मक बनाइदिन्छ ।

स्थानीय बासिन्दाका अनुसार, यस्ता दृश्यहरूले पहिला दर्जनौं चलचित्रहरूका दृश्यलाई पनि सिंगारिसकेका छन् । तर पछिल्लो समय आधुनिकता र प्रविधिको आकर्षणसँगै युवा पुस्ता परम्परागत सीपप्रति कम उत्साहित देखिन थालेका छन् । 

यस मौलिक परम्परालाई जोगाउन र प्रवद्र्धन गर्न स्थानीय र नीति निर्माण तह दुवैले ध्यान दिनु जरुरी छ । मकै भण्डारणको यस्तो प्राकृतिक र सीपमा आधारित उपाय आधुनिक प्रविधिसँग पनि प्रतिस्पर्धा गर्न सक्ने उत्कृष्ट उदाहरण हो । परम्परागत ज्ञानको संरक्षण र वैज्ञानिक परिमार्जनमार्फत यसलाई दीर्घकालीन बनाउनु अहिलेको आवश्यकता हो । 

ADV

सम्बन्धित खबर