२०८२ कार्तिक १७ गते सोमवार / Nov 03 , 2025 , Monday
२०८२ कार्तिक १७ गते सोमवार
Ads

सत्सङ्गको तेस्रो दिनसम्म १९ हजार बढीले गरे १ सय ८ शिवलिंग दर्शन

shivam cement
तेज बन
२०८२ कार्तिक १६ गते २०:५५
सत्सङ्गको तेस्रो दिनसम्म १९ हजार बढीले गरे १ सय ८ शिवलिंग दर्शन

सुनसरी : सुनसरीको इटहरी–२ आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशले आयोजना गरेको श्रीमद्भागवत धन्याञ्चल सत्सङ्ग कार्यक्रम आइतबार तेस्रो दिनमा प्रवेश गरेको छ ।

तेस्रो दिनसम्म भक्तजनहरूको ठूलो घुइँचो लागेको थियो भने केन्द्रकै संकल्पमा स्थापित १ सय ८ शिवलिंग दर्शन गर्न भक्तजनहरूको भीड बढ्दो छ ।

त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशकी अध्यक्ष सुभद्रा प्याकुरेलका अनुसार श्रीमद्भागवत सत्सङ्गको तेस्रो दिनसम्म नेपालका विभिन्न जिल्ला र भारतका विभिन्न स्थानबाट आएका १९ हजार बढी भक्तजनहरूले १ सय ८ शिवलिंगको दर्शन गरेका छन् । कात्तिक १४ गते शुक्रबारदेखि सुरु भएको सत्सङ्ग कात्तिक २१ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रमको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले गरेका थिए भने दोस्रो दिन प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले सम्बोधन गरेका थिए । मुख्यमन्त्री कार्कीले इटहरी–२ मा स्थापना गरिएको १ सय ८ शिवलिंग क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको बताए ।

केन्द्रका कोशी प्रदेश उपाध्यक्ष हिरा आचार्यका अनुसार इटहरीलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित १ सय ८ शिवलिंगको स्थापना गरिएको हो । उनले भने, ‘पहिले मान्छे हिँड्न डराउने ठाउँ अहिले धार्मिक आस्थाको केन्द्र बनेको छ, र भविष्यमा यो स्थान पर्यटकीय गन्तव्य बन्ने सम्भावना छ ।’

स्थापित १ सय ८ शिवलिंगको प्राणप्रतिष्ठा विशेष अनुष्ठान भने कार्तिक १७ गते सोमबारदेखि १९ गते बुधबारसम्म हुने जनाइएको छ ।

सो अवसरमा देश–विदेशका धार्मिक एवं सामाजिक व्यक्तित्वहरूको सहभागिता रहनेछ । केन्द्रकी सचिव प्रतिक्षा प्राप्ती अधिकारीका अनुसार भारतका दिल्ली, सिलगुडी, सिक्किम, विहारलगायत क्षेत्र र नेपालको काठमाडौं, पोखरा, नवलपरासी, धरान, बराहक्षेत्र आदि स्थानबाट प्रतिनिधिहरू सहभागी हुनेछन् ।

प्राणप्रतिष्ठा समितिका संयोजक बाबुराम सुवेदीका अनुसार भक्तपुरमा बनेको कलात्मक नेपाली इँटाबाट निर्मित आसन र नेपालकै शिलाबाट शिवलिंग स्थापना गरिएको हो ।

उनले करिब ३६ लाख रुपैयाँ लागतमा जमिनसहित १ सय ८ शिवलिंग र हनुमानको मूर्ति निर्माण गरिएको बताए ।

कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको समन्वयमा प्रदेश सरकारले सूचीकृत ८२ पर्यटन गन्तव्यहरूलाई यस अवसरमा प्रचार–प्रसार गर्ने तयारी गरेको छ । 

इटहरीको सुकल्प सामुदायिक भवन, श्री विष्णु पाञ्चायन मन्दिर, धनकुटा–इटहरी सम्पर्क समाज, नेपाल शेर्पा संघलगायत संस्थाहरूको नजिक रहेको यो स्थललाई ८८‘नमुना धार्मिक–पर्यटकीय गन्तव्य’८८ का रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।

ADV

सम्बन्धित खबर