काठमाडौं : तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को मिनी अक्सन सम्पन्न भएको छ । काठमाडौंमा शनिबार भएको मिनी अक्सनबाट लिगमा सहभागी हुने ७ टिम तयार भएको छ ।
एनएसएल प्रतियोगितामा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, धनगढी एफसी, झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल–लुम्बिनी सहभागी हुने छन् ।
शनिबार क्याटेगोरी ए र क्याटोगोरी बी का गरी कूल ६० खेलाडीको लागि अक्सन भएको थियो । अक्सनमा क्याटगरी ‘ए’ मा १५ जना र क्याटगरी ‘बी’ मा ४५ गरी कुल ६० खेलाडी मात्र राखिएका थिए । अक्सनमा ३९ खेलाडी सोल्ड भए भने ५ खेलाडी विसलिस्टबाट टिमले लिए । १६ खेलाडी भने अनसोल्ड रहे ।
क्याटगरी ‘ए’ का खेलाडीको बेस प्राइस २ लाख र म्याक्सिमम प्राइस ४ लाख रुपैयाँ तोकिएको थियो भने त्यस्तै क्याटगरी ‘बी’ को बेस प्राइस १ लाख ५० हजार र म्याक्सिमम प्राइस २ लाख रुपैयाँ तोकिएको थियो ।
मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक ४ लाख रुपैयाँमा बिक्री भएका छन् । जसमा मणिकुमार लामा, अभिषेक लिम्बू, सुमित श्रेष्ठ, पासाङ लामा, आशिष गुरुङ, दिनेश हेम्जन, जेलेस्पीजंग कार्की र सन्तोष कार्की छन् । भरत अवास, विकेश कुथु, विशाल सुनार र नवयुग श्रेष्ठ जस्ता खेलाडी अनसोल्ड भए ।
मिनी अक्सनसँगै अब विदेशी खेलाडी र स्थानीय खेलाडी छनोट हुन बाँकी छ । अब क्याटेगोरी ‘सी’ का लागि खेलाडीहरुको ड्राप्ट अर्को साता हुनेछ ।