काठमाडौंः नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले आफ्नो प्रतिद्वन्द्वी बंगलादेश बलियो टोली रहेको र यो खेलका लागि उत्साही रहेको बताएका छन् ।
नेपालले बंगलादेशसँगको दुई वटा मैत्रीपूर्ण खेल शनिबार र आगामी सेप्टेम्बर ९ तारिखमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्दै छ । शुक्रवार भएको पत्रकार सम्मेलन नेपालका कप्तान तथा गोलकिपर चेम्जोङले जहिल्यै पनि बंगलादेशसँग खेल्दा प्रतिष्पर्धात्मक खेल हुने गरेको बताएका छन् । तर आफूहरू पनि शनिबार हुने खेलका लागि आफूहरू तयार रहेको उनको भनाइ छ । विपक्षी यस्तो छ भनेर आफू रेट गर्न नचाहने र तर बंगलादेशसँग खेल्दा राम्रो प्रतिष्पर्धा हुने उनको विश्वास छ । उनले बंगलादेश बलियो टोली रहेको र प्रतिस्पर्धात्मक खेल हुने आशा व्यक्त गरेका छन् ।
पछिल्लो दुई वर्ष घरेलु मैदानमा फुटबल खेल्न नपाउनु दुःखद् पक्ष रहेको उनको भनाइ छ । तर लामो समयपछि यो मैदानमा फर्किदा समर्थकका लागि सुखद् पक्ष रहेको र सोहीअनुरूप नतिजा ल्याउने उनले आशा व्यक्त गरेका छन् । शनिबार हुने खेलमा दर्शकको पनि राम्रो साथ पाउने उनले आशा व्यक्त गरेका छन् । हाम्जा चौधरी जस्ता खेलाडी नभए पनि बंगलादेश बलियो टोली रहेको उनको भनाइ छ । आफू र नेपालका समर्थक पनि हाम्जालाई हेर्न प्रतीक्षामा रहे पनि त्यो सम्भव हुन नसकेको उनले बताएका छन् । इङ्लिस प्रिमियर लिग (इपिएल) को पूर्वक्लब लेस्टर सिटीका स्टार हाम्जा चोटका कारण टोलीमा आबद्ध हुन नसकेका हुन् ।
बंगलादेश राम्रो टोली रहेको र तयारी पनि प्रभावकारी रूपमा गरेको कप्तान किरणले उल्लेख गरे । त्यसैले पनि बंगलादेशसँग सजक भएर खेल्ने उनको भनाइ छ । उनले टोलीसँग पर्याप्त प्रशिक्षण गर्न नपाएको उल्लेख गरे । तर, टोलीको तयारी राम्रो रहेको र घरेलु मैदानमा खेल्न पाउँदा एकदमै खुसी रहेको उनी बताउँछन् । फिफा इन्टरनेशनल विन्डोमा नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो खेल मंगलबार हुनेछ । यी खेललाई दुवै टोलीले एएफसी एसियन कप छनोटका बाँकी खेलको तयारीका रुपमा लिएको छ ।
एएफसी एसियन कप छनोटको तेस्रो चरणको प्रतिस्पर्धामा नेपालले अक्टोबर महिनामा भियतनामसँग ‘होम एन्ड अवे’ र मलेसियासँग ‘अवे’ लेग खेल्ने तालिका छ । नेपालका मुख्य प्रशिक्षक म्याट रसका लागि यो पाँचौं खेल हो । उनै रसले बंगलादेशविरुद्ध सकारात्मक नतिजा ल्याउने लक्ष्यसहित खेल्ने विश्वास व्यक्त गरेका छन् । उनले भोलि आफू र आफ्नो टोलीको लक्ष्य जसरी पनि जित निकाल्ने लक्ष्यमा हुने बताए । प्रशिक्षक रसले आफ्नो फिलोसफी नेपाली फुटबल समर्थकले पहिलो चार खेलमै थाहा पाइसकेको उल्लेख गरे । राष्ट्रिय टोलीका उदीयमान स्टार कृतिशरत्न छुन्जु, आयुष घलान र सुमित श्रेष्ठ यो टोलीमा छैन ।
यी तीनै खेलाडी एएफसी यु–२३ एशियन कप छनोटका लागि ताजकिस्तानमा छन् । नेपालले तीन वर्षअघि पनि बंगलादेशसँग खेल्न लागेको हो । दशरथ रंगशालामा नै भएको पछिल्लो भेटमा नेपालले बंगलादेशमाथि ३–१ को जित हासिल गरेको थियो । तर, पछिल्लो समय बंगलादेश धेरै बलियो हुँदै आएको छ । त्यसैले शनिबार नेपालका लागि सहज हुने छैन । बंगलादेशी कप्तान जमल भुयाँले नेपालको घरेलु मैदान र समर्थकसामू खेल्न त्यति सहज नहुने बताए । उनले नेपाली टोली विगतका दिनभन्दा झन् निखारिँदै गएको र सिंगापुरविरुद्धको खेलले त्यसको पुष्टि गर्ने बताए ।
उनले त्यतिबेला नेपालले वास्तवमै राम्रो फुटबल पस्किएको उल्लेख गरे । त्यसैले पनि नेपालसँग खेल्न बंगलादेशलाई जहिल्यै चुनौतीको विषय हुने र यसपल्ट पनि त्यति सहज नहुने उनको भनाइ छ । बंगलादेशका मुख्य प्रशिक्षक हाबियर क्याब्रेराले यो मैत्रीपूर्ण खेललाई आफ्नो कमिकमजोरी सुधार गर्ने अवसरका रूपमा लिएको बताए । एएफसीका तीन खेलअघि तयारीस्वरुप नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने अवसर पाएको र यो कमीकमजोरी सुधार्ने राम्रो मौका हुने उनको भनाइ छ । उनले नेपाल आउनुअघि पुलिस र फोर्टिस टोलीसँग अभ्यास खेलेको पनि उल्लेख गरे ।