माडी, चितवन : स्टार स्पोर्ट युवा क्लब बरूवाको आयोजनामा जारी राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा बसन्तपुर युनाइटेड क्लब माडी क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलमा रड्स क्लब रामपुरलाई ४–० गोल अन्तरले पराजित गर्दे बसन्तपुर क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
बसन्तपुरका लागि समीर श्रेष्ठले दुई, विज्ञान खड्का र निशान हरिजनले समान एक–एक गोल गरेको आयोजक स्टार स्पोर्ट युवा क्लब बरूवाका पूर्वसचिव टिकाराम सुवेदीले जानकारी दिए ।
प्रतियोगिताअन्तर्गत शुक्रबार अभिषेक चर्च रजहर नवलपुर र चैनपुर फुटबल क्लबबीच प्रतिस्पर्धा हुने सुवेदीले बताए । स्टार स्पोर्ट युवा क्लब बरूवाले नेपाली महिलाहरूको महान पर्व हरितालिका तिज र जितियाको अवसर पारेर माडीको बरुवामा प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिताको विजेता टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद पुरस्कार २ लाख ५१ हजार १ सय ११ रुपैयाँ पाउनेछ । त्यस्तै उपविजेता टिमले मेडल र प्रमाणपत्रसहित नगद १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछ भने विधागत उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष सन्देश बरालले जानकारी दिए । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।