माडी, चितवन : आयोजक स्टार स्पोर्ट क्लब बरुवा ३०औं स्टार कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा बरुवाले सूर्यपुर युवा क्लब चितवनलाई १–० ले पराजित गर्दै उपाधिनजिक पुगेको हो ।
बरुवाका सुरज थारुले निर्णायक गोल गरेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आयोजक टोलीका दिपेश गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए ।
अब उपाधि भिडन्त आगामी शनिबार बरुवा र प्याराडाइज युवा क्लब सौराहाबीच हुनेछ ।
प्रतियोगिताको विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद २ लाख ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, उपविजेताले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ । विधागत उत्कृष्ट खेलाडीहरुलाई समेत सम्मान गरिने आयोजक क्लबका अध्यक्ष सन्देश बरालले जानकारी दिए । यस संस्करणमा देशभरका १० टोली सहभागी भएका थिए ।